चलचित्र नपाएपछि स्टेजतिर

मुम्बई : बलिउड अभिनेत्री परिणति चोपडाले हिजोआज स्टेज कार्यक्रममा चित्त बुझाउनुपरेको छ । चलचित्र इसकजादेमा मुख्य भूमिका तथा लेडिज बर्सेस रिकी बहलमा सहअभिनेत्रीको भूमिका निर्वाह गरेपछि उनी केही चर्चामा त आएकै हुन् । तर, यसका बाबजुद अहिले हातमा कुनै चलचित्र नभएपछि उनी स्टेजमा सीमित हुनुपरेको हो । त्यसो त यस्तो अवस्था नआओस् भनेर उनले हलिउडमा हल्ला पनि पिटाएकी थिइन्– ‘धेरै चलचित्रको अफर आएकाले समय मिलाउनै धौ–धौ पर्‍यो ।’ धेरैले यसलाई उनले चलचित्र हत्याउन गरेको बहानाबाजीका रूपमा व्याख्या पनि गरे ।
त्यसो त उनका साथमा एउटै चलचित्र नभएको भने होइन । यशराज ब्यानरमा निर्माण हुने तीन चलचित्रमा एकैसाथ अनुबन्धित भएकी थिइन् । तर, तीमध्ये एउटा चलचित्र मात्र छ उनीसँग । केही समयअघि उनले गर्ने भनिएकोऔरन्गजेब चलचित्रमा अब सलमा आगाकी छोरी सागाको अभिनय रहने पक्का भइसकेको छ । अभिनव कश्यपको चलचित्रमा पनि रणवीर कपुरको साथ उनलाई देखिने हल्ला चल्यो, त्यसको काम पनि अहिले स्थगित छ । यिनै कारणले होला, निर्माता–निर्देशकको ध्यान आफूतिर तान्न उनले अनेक हल्ला फैलाउने क्रमलाई अझै निरन्तरता दिइरहेको एजेन्सीले जनाएको छ । (एजेन्सी)

प्रतिक्रिया