निजामती सेवा दिवस आज

काठमाडौं : ‘जनमुखी प्रशासन–सुशासन र अनुशासन’ भन्ने मूल नाराका साथ निजामती कर्मचारीले आज देश भर निजामती सेवा दिवस–०६९ विभिन्न मनाउँदै छन् । आज बिहान सात बजे रत्नपार्कस्थित शान्ति बाटिकामा मुख्यसचिव लीलामणि पौडेलले नेपालको झन्डा र निजामती दिवस लेखिएको लोगो सार्वजनिक गरी कर्मचारी दिवस मनाउने कार्यक्रम छ ।
सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वेगेन्द्रराज शर्माका अनुसार मुख्यसचिव पौडेलले शान्ति बाटिकामा उपस्थित कर्मचारीलाई सामान्य सम्बोधनसहित नयाँ र विशेष प्रकारको लोगो सार्वजनिक गर्नेछन् । लोगो सार्वजनिक पछि उपस्थित कर्मचारीहरू निजामती र्‍यालीमा सहभागी हुने कार्यक्रम रहेको छ । कर्मचारीहरू विभिन्न नारा लेखिएको प्लेकार्ड बोकी मैनबत्ती र्‍यालीमा सहभागी हुने प्रवक्ता शर्माले बताए ।
सरकारले गत वर्ष उत्कृष्ट कर्मचारी घोषणा गर्ने निजामती दिवसकै दिने प्रक्रिया बसाले पनि यस वर्ष त्यस्तो कुनै कार्यक्रम नरहेको प्रवक्ता शर्माले जानकारी दिए । उनले भने, ‘उत्कृष्ट कर्मचारी सार्वजनिक गरी पुरस्कार दिने कार्यक्रम राखिएको छैन ।’ सामान्यले निजामती दिवसको अवसरमा गरिने कार्यक्रममा सबैलाई उपस्थित हुन अपिल पनि गरेको छ । त्यसैअनुसार नेकपा–माओवादीनिकट कर्मचारीबाहेकका दलनिकट कर्मचारीले सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष सुवोध देवकोटाले मूल समारोह समितिले गरेका कार्यक्रममा भाग लिने बताउँदै दिवस भव्य रूपमा मनाइने बताए । ‘नयाँ नियुक्ति, सुरुवा, बढुवा, समय सापेक्ष तलब वृद्धिको माग पूरा हुने तयारीमा छ,’ उनले, ‘सो विषयमा अध्यादेश राष्ट्रपतिकोमा छ, माग पूरा हुन्छ ।’ नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष भोलाप्रसाद पोखरेलले दिवस मात्रै मनाउनु भन्दा पनि कर्मचारीले सर्वसाधारणलाई दिएको सेवाबारे समीक्षा गर्नुपर्ने बताए । (सौस)

प्रतिक्रिया