माओवादी लडाकु समायोजन प्रक्रिया सुरु

काठमाडौं, २२ भदौ । एकीकृत नेकपा (माओवादी) का पूर्वलडाकुको समायोजन प्रक्रिया बिहीबारबाट सुरु भएको छ । मुलुकका सात स्थानमा रहेका माओवादी शिविरमा रहेका तीन हजार एक सय २२ लडाकुको अन्तिम समायोजन छनोट प्रक्रिया सुरु भएको हो ।
इलामको चुलाचुलीस्थित शिविरमा समायोजनको छनोट टोली पुगेको छ । टोलीले शिविरमा रहेका लडाकुलाई समायोजनको प्रक्रियाका लागि छलफल सुरु गरेको छ ।
यस्तै, सिन्धुलीको दुधौलीस्थित शिविरमा पनि सेना समायोजन छनोट टोली र सेनाको टोली पुगेर काम सुरु गरेका छन् ।
चितवनको शक्तिखोरस्थित  माओवादी पूर्वलडाकुको तेस्रो डिभिजनमा सेना समायोजन, लडाकु रेखदेख तथा पुन:स्थापना विशेष समिति सचिवालयका संयोजक बालानन्द शर्मासहितको टोलीले भर्ना छनोट प्रक्रिया अघि बढाएको छ । यस्तै, नवलपरासीको झ्याल्टुङडाँडा, रोल्पाको दहवन, सुर्खेतको दशरथपुर र कैलालीको तालबन्दमा पनि छनोटका लागि टोली पुगेको छ ।
टोलीमा विशेष समिति सचिवालय, नेपाली सेना र लोक सेवा आयोगका प्रतिनिधिको सहभागिता छ । शिविरमा लडाकु पुग्ने क्रम चलिरहेकाले  शुक्रबारदेखि समायोजन प्रक्रिया सुरु हुने विशेष समिति सचिवालयका संयोजक शर्माले जानकारी दिए । सेना समायोजन विशेष समितिको ११ भदौमा बसेको बैठकले अवरुद्ध लडाकु छनोट प्रक्रियालाई २१ भदौदेखि अघि बढाउने निर्णय गरेको थियो । लडाकुको उमेर र शिक्षाबारे विवाद भएपछि २१ असारमा समायोजन प्रक्रिया रोकिएको थियो ।
पछिल्लोपटक भएको छनोट प्रक्रियामा योग्य ठहरिएका तीन हजार एक सय २२ लडाकुले समायोजन प्रक्रियामा भाग लिँदै छन् । लडाकुको जन्ममितिको विवादलाई नागरिकतामा उल्लेख भएको जन्ममितिलाई आधार मानिने र १२ जेठ ०६३ अघि १८ वर्ष पुगेकालाई भर्ना प्रक्रियामा सामेल गरिएको छ । १८ वर्ष पुगेको मितिदेखि नै सेवा अवधि गणना हुने शर्माले जानकारी दिए ।
विहीबारबाट सुवेदार तहसम्मको पदका लागि भर्ना सुरु भएको र २७ भदौदेखि अधिकृत तहको भर्ना प्रक्रिया सुरु हुने शर्माले जानकारी दिए ।
तेस्रो डिभिजनअन्तर्गत रहेका लडाकुलाई पूर्वी चितवनको चैनपुरमा रहेको नेपाली सेनाको मध्यक्षेत्रीय महाविद्यालयमा भर्ना प्रक्रिया अघि बढाइने उनले जानकारी दिए । नेपाली सेनाले बनाएको योजनाअनुसार एक महिनाभित्र समायोजन प्रक्रिया सम्पन्न हुनेछ ।
संयोजक शर्माका अनुसार दुई महिनादेखि रोकिएको समायोजन प्रक्रिया विशेष समिति सचिवालय, माओवादी सेना, रक्षा मन्त्रालय, नेपाली सेना र लोक सेवा आयोगका प्रतिनिधिसहितको समन्वयात्मक बैठकपछि अघि बढाइएको हो ।
६ दिन नपुग्दा फालिए
अनमिनले प्रमाणित गरेको कागजातका आधारमा समायोजन प्रक्रियामा बसेका केही लडाकु नागरिकताको तिथिमितिलाई आधार बनाएर भर्ना प्रक्रिया सुरु गरिएपछि उमेर नपुगेर अवकाश लिन बाध्य भएका छन् । अनमिनको प्रमाणीकरणका बेला उमेर ढाँटेर १८ वर्ष पुगेको देखाएका लडाकुले नागरिकता बनाउँदा कम उमेर उल्लेख गरेपछि समायोजन प्रक्रियाबाट बाहिरिनुपरेको हो । छनोट प्रक्रियामा सहभागी हुन ११ जेठ ०६३ सम्म १८ वर्ष पुगेको हुनुपर्ने व्यवस्था छ ।
मकवानपुरका दीपक ढकालले भने, ‘१७ जेठ ०४५ मा जन्मिएको हुँ, नागरिकतालाई आधार बनाएर भर्ना लिँदा ६ दिनले उमेर नपुगेकोले भर्ना हुन पाइन ।’
अवकाश लिएकाको नाराबाजी
शक्तिखोरमा स्वेच्छिक अवकाश लिएका असन्तुष्ट लडाकुले नाराबाजीसहित सचिवालयको टोलीलाई ज्ञापनपत्र बुझाएका छन् । भदौ मसान्तभित्र दोस्रो किस्ता पाउनुपर्ने, तत्काल रोजगारीको व्यवस्था हुनुपर्ने, घाइते अपाङ्ग लडाकुलाई उपचार र आजीवन भत्ताको व्यवस्था हुनुपर्नेलगायतका माग राखेर  आन्दोलनमा उत्रिएका उनीहरूले माग सम्बोधन नभए भर्ना छनोट प्रक्रिया अवरुद्ध पार्ने चेतावनी दिएका छन् ।
यस्तै, सुर्खेतको दशरथपुरमा पनि स्वेच्छिक अवकाश रोजेका लडाकुले आफूहरूले पाउनुपर्ने सुविधासहितको अन्य माग राख्दै टोलीलाई ज्ञापनपत्र बुझाएका छन् ।
फाराम भर्न मानेनन्
लडाकु फारम भर्न नआएपछि सुर्खेतको दशरथपुरस्थित माओवादी लडाकुको छैटौँ डिभिजनमा बिहीबार लडाकु समायोजनको प्रक्रिया सुरु हुन सकेन । नेपाली सेनाको टोली बिहानैदेखि फाराम वितरणका लागि तयार भए तापनि कुनै पनि लडाकु फाराम भर्न आएनन् ।
समायोजन प्रक्रियामा देखिएका सबै विवाद अन्त्य भइसकेको जनाइए पनि आफूहरूलाई त्यसबारे कुनै जानकारी नभएको र शिविरको हिसाबकिताब अझै पारदर्शी नगरिएको भन्दै लडाकुहरूले फाराम भर्न नमानेका हुन् । नेपाली सेनाका कर्णेल भरत कार्कीले भर्ना छनोटको फाराम वितरणका लागि बिहानैदेखि तयारी गरिए पनि पहिले लडाकुहरूले सेना समायोजनको विशेष समिति नआएसम्म फाराम नभर्ने बताएको जानकारी दिए । विशेष समितिका सदस्य डा. दीपकप्रकाश भट्टले लडाकुहरूसँग समायोजन प्रक्रियामा पहिले देखिएका विवाद समाधान भएकोबारे अन्तरक्रिया गरिएको जानकारी दिए ।

प्रतिक्रिया