झडपमा पाँच कैदी घाइते

राजविराज, २१ भदौ । राजविराज कारागारमा रहेका कैदीबन्दीबीच झडप हुँदा पाँचजना गम्भीर घाइते भएका छन् ।
कारागारभित्र गएराति भएको विवादपछिको झडपका क्रममा सकरपुरा–८ का उमेश यादव, कल्याणपुर–२ का अन्सारुल मियाँ, लोहजरा–४ का सत्यनारायण मण्डल, प्रिपा पूर्व–६ का प्रशान्त खंग र बकधुवा–१ का डम्बर शर्मा घाइते भएका हुन् ।
यादव र मण्डल कर्तव्य ज्यान मुद्दामा, अन्सारुल जबर्जस्ती करणी मुद्दामा, खंग ज्यान मार्ने उद्योगमा र शर्मा हातहतियार खरखजाना मुद्दामा राजविराज कारागारमा बन्दी जीवन बिताइरहेका छन् ।
दाउराको चिर्पट र धारिलो हतियारसमेतले मरणासन्न हुने गरी आफूलाई कुटपिट भएको घाइते मण्डलले बताए ।
घाइते सबैलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पठाइएको मेडिकल सुपरिटेन्डेन्ट डा.टेकनारायण मण्डलले जानकारी दिए ।
कारागारको पश्चिम ब्लकमा रहेको पसल र मेस सञ्चालनका विषयमा दुई पक्षबीच विवाद हुँदा झडप भएको घाइते बन्दीले बताए ।
कारागारमा कैदी रमानन्द खवासले पसल सञ्चालन गरिरहेकामा अर्का कैदी जयप्रकाश यादवलाई पसल सञ्चालन गर्न दिने योजना बनेपछि कुटपिट भएको बताइएको छ ।

प्रतिक्रिया