क्लब भलिबलमा विभागीय टोलीको दबदबा

काठमाडौं, २१ भदौ । प्रथम एनभिए कप राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपमा विभागीय टोलीको दबदबा रहेको छ । बुधबार भएको पुरुषको क्वार्टरफाइनलमा तीन विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब, नेपाल आर्मी क्लब र नेपाल पुलिस क्लबले जित हात पारे । यी तीनसँगै दोलखाको जिफोर स्पोटर््स क्लब पनि अन्तिम चारमा प्रवेश गरेको छ  । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा राष्ट्रिय च्याम्पियन एपिएफले नेपाल स्पोर्ट्स क्लब, सुदूरपश्चिमाञ्चललाई २५–१४, २५–२२ र २५–११ ले पराजित गर्‍यो । प्रतिस्पर्धात्मक दोस्रो क्वार्टरफाइनलमा जिफोरले पश्चिमाञ्चल भलिबल प्रशिक्षण केन्द्रमाथि २५–२३, २०–२५, २५–१८, २३–२५ र १५–१० को जित हात पार्‍यो । सेमिफाइनलमा जिफोरले एपिएफसँग खेल्नेछ ।
आर्मीले भक्तपुर यङ सर्कललाई सिधा सेटमा २५–१४, २५–९ र २५–१६ ले निरास पार्‍यो । पुलिसले विश्वविद्यालय खेलकुद संघलाई २७–२५, २५–२२ र २५–१८ ले हरायो । पहिलो सेमिफाइनल आर्मी र पुलिसबीच हुनेछ । कुनै समय नेपाली भलिबलको सबैभन्दा बलियो शक्तिका रूपमा रहेको नेपाल आर्मी क्लब पछिल्ला वर्षमा पुलिसको तुलनामा कमजोर रहेको छ ।
एपिएफका कैलाशदत्त भट्ट, जिफोरका राम श्रेष्ठ, आर्मीका दीपक थापा तथा पुलिसका सञ्जय अर्याल ‘म्यान अफ द म्याच’ भए । महिलाको सेमिफाइनल समीकरण यसअघि नै पूरा भइसकेको छ । पुलिसले पश्चिमाञ्चलको सामना गर्नेछ भने एपिएफले न्यु डायमन्ड क्लबविरुद्ध प्रतिस्पर्धा गर्नेछ । दुवै समूहको सेमिफाइनल बिहीबार हुनेछ ।

प्रतिक्रिया