‘परमाणु हतियारमा चीन र पाकिस्तानभन्दा भारत पछाडि’

नयाँदिल्ली : परमाणु हतियारका दृष्ेिटकोणले चीन र पाकिस्तानको तुलनामा भारत पछि रहेको रिपोर्ट सार्वजनिक भएको छ । चीनको राजधानी बेइजिङसम्म मार हान्नसक्ने क्षमताको अग्नि–५ अन्तरमहाद्वीपीय क्षेप्यास्त्र निर्माण गरी भारतले परमाणु हतियारका क्षेत्रमा ठूलो फड्को मारेको विश्लेषण सर्वत्र भइरहेका बेला रिपोर्ट सार्वजनिक भएको हो ।
परमाणु हतियारसम्बन्धी मामला ‘कभरेज’ गर्ने ‘बुलेटिन अफ एटोमिक साइन्टिस्ट’ले तयार पारेको रिपोर्टमा भारतको क्षेप्यास्त्र शस्त्रागार चीन र पाकिस्तानको तुलनामा पछि रहेको दाबी गरिएको छ । चीनसँग दुई सय ४०, पाकिस्तानसँग ९० देखि एक सय १० र भारतसँग ८० देखि सय परमाणु वारहेड (मुखास्त्र) रहेको जनाउँदै रिपोर्टमा भारतको सैन्य तत्परता अपेक्षाअनुरूप नरहेको जनाइएको छ ।
भारतीय पत्रिका ‘एन्डिया टुडे’ मा प्रकाशित रिपोर्ट ‘बुलेटिन अफ एटोमिक साइन्स’ का अनुसन्धानकर्ता हान्स एम क्रिस्टेन्सन र रोबर्ट एस नोरिसले तयार पारेका हुन् । ‘इन्डियन न्युक्लियर फोर्स, २०१२’ शीर्षकमा प्रकाशित रिपोर्टमा अग्नि–५ को तैनाथीले समेत भारतलाई चीन र पाकिस्तानको तुलनामा पुर्‍याउन नसकेको जनाइएको छ । भारतसँग रहेका अग्नि–३, अग्नि–४ र अग्नि–५ सबै क्षेप्यास्त्र अझै अविकसित अवस्थामै रहेको रिपोर्टमा उल्लेख छ । अग्नि–५ क्षेप्यास्त्रको विकासले चीन, पाकिस्तान र भारतबीचको
जटिल त्रिकोणीय सम्बन्धलाई नयाँ गति प्रदान गरेको रिपोर्टमा जनाइएको छ ।
‘भारतको महाद्वीपीय क्षेप्यास्त्र बलमा तीन खालका ‘पृथ्वी’ क्षेप्यास्त्र छन् । तीमध्ये पृथ्वी–१ ले मात्रै पारमाणविक भूमिका निर्वाह गर्न सक्छ । पृथ्वी–१ प्रहार गर्न एक घन्टा लाग्छ र यसले डेढ सय किलोमिटरसम्मको दूरीलाई मात्रै निशान बनाउन सक्छ । यसले भारतको परमाणु हतियारको क्षमता सन्तोषजनक नरहेको देखाएको छ,’ रिपोर्टमा भनिएको छ ।
‘भारतले ८०–१०० परमाणु मुखास्त्र उत्पादन गरिसकेको छ । सन् २०११ मा गरिएको मूल्यांकनअनुसार परमाणु शास्त्रागार सबैभन्दा तीव्र गतिमा भरिरहेको राष्ट्र पाकिस्तान हो, जोसँग ९० देखि एक सय १० वटा परमाणु मुखास्त्र छन्,’ बुलेटिनको रिपोर्टमा उल्लेख छ ।
‘पाकिस्तानसँग पनि मूलत: हवाईजहाजबाट झार्ने बम छन् । तर, चीनबाट प्राप्त क्षेप्या–स्त्रमार्फत उसले गजनवी, साहेन–१ र गौरीजस्ता क्षेप्यास्त्र तैनाथ गरेको छ भने उसले
लामो दूरीसम्म मार हान्नसक्ने क्षमताको क्षेप्यास्त्र पनि विकास गरिरहेको छ,’ रिपोर्टमा भनिएको छ । (एजेन्सी)

प्रतिक्रिया