उस्तै छ मधेसको पीडा

मधेसीहरू अहिले सीमापारी भारतीय बजारबाट एक किलो चिनी ल्याउन खोज्दा अनेकन सास्तीमा पर्छन् । यो मधेसमा सशस्त्र विद्रोह र मधेस आन्दोलनले उब्जाएको समस्या हो । यसअघि मधेसमा व्याप्त अपहरण, हत्या, आतंक, लुटपाट, हात–हतियार, चोरी–डकैती आदि नियन्त्रण गर्ने नाममा झापादेखि कञ्चनपुरसम्म दक्षिणी सीमामा सशस्त्र प्रहरीको उपस्थिति घनीभूत बनेको थियो । उक्त सीमा सुरक्षामा नेपाल सशस्त्र प्रहरीको उपस्थितिले छिनभरमै दक्षिणी सीमा सिल गर्ने क्षमता राख्छ । सुरक्षाको यो बन्दोबस्ती नेपालको सुरक्षा सेवाका लागि गौरव गर्ने अवस्थामा छ । मधेसका गाउँहरूमा अहिले पनि अपहरणका घटना दोहरिँदै छन् । हत्या, आतंक, लुटपाटका घटना बढ्दो छ । गाउँमा कानुनी राज्यको उपस्थिति शून्य छ । अहिले पनि त्यहाँ गुण्डाराजको अवस्था कायम छ । गाउँमा गरिबी, बेरोजगारी, अशिक्षासँगै जनताका आधारभूत आवश्यकताको अभाव बढ्दो छ । मधेसमा दाइजो, बोक्सी आदि विकृतिहरूले अझ जरा गाड्दै छन् । राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक र स्वास्थ अवस्थामा कत्ति पनि सुधार आउन सकेको छैन । सिँचाइ, परम्परागत कृषि प्रणाली, यातायात र सरकारी कामकाजमा सामान्य परिवर्तन पनि भएको छैन । मधेसमा विकास निर्माणका कामहरू ठप्पप्राय: छन् । मधेसीहरूले अहिले पनि सेनामा प्रवेश पाएका छैनन् । आरक्षणका कोटाहरू मधेसीले प्राप्त गरेका छैनन् । मधेसवादी राजनीतिक व्यक्ति र पार्टीबाहेक सर्वसाधारण मधेसीले अन्य कुनै अवसर प्राप्त गरेका छैनन् । २०६३ माघ र २०६४ माघको आन्दोलनले मधेसी एवं मधेसमा उब्जिएको आशा, आकांक्षाहरू पनि अब धुमिल भैसकेका छन् । मानौँ मधेस सात वर्षआगाडि २०६३ माघको आन्दोलनपूर्वको अवस्थामै अड्किएको छ र मधेसीहरू अहिले पनि उपेक्षित एवं अपमानित अवस्थामा बस्न विवश छन् । बरु मधेस आन्दोलनले उत्पन्न मधेसी र पहाडेबीचको खाडल बढ्दो छ र त्यसले मधेसीहरू झनै विशाक्त अवस्थामा पुगेका छन् ।
मधेस आन्दोलनले राजनीतिक पार्टी र नेताहरूका लागि मात्र परिवर्तन भएको छ । जबकि मधेस आन्दोलनमा उनीहरूको योगदान शून्य बराबरको छ । मधेस आन्दोलनका बखत पनि अहिलेका मधेसवादी नेताहरू महन्त ठाकुर, विजयकुमार गच्छदार, जितेन्द्र देवलगायतका नेता एवं कार्यकर्ता नेपाली कांग्रेस, नेकपा एमाले, एनेकपा माओवादी, राप्रपा आदि राजनीतिक पार्टीहरूमा प्रभावशाली थिए । त्यसबखतसम्म पहिला र दोस्रो मधेस आन्दोलनले नेपालको अन्तरिम संविधान २०६३ संशोधन गराइसकेपछि राजनीतिक रूपले परिवर्तित मधेसमा संविधानसभा २०६४ को चुनाव जित्नका लागि ती नेता तथा कार्यकर्ता तराई मधेस लोकतान्त्रिक पार्टी, मधेसी जनअधिकार फोरम र सद्भावना पार्टीको नाममा मधेसकेन्द्रित राजनीतिमा प्रवेश गरेका हुन् । त्यसअघि उनीहरूले दशकौँ लामो जीवन कांग्रेस, एमाले, एमाओवादी, राप्रपा आदि राजनीतिक पार्टीहरूमा खर्चिएका थिए र मन्त्री बनेर कुस्त पैसा कमाएका थिए । कतिपय नेता तथा कार्यकर्ता तीनै पार्टीको इसारामा मधेसको बदलिँदो परिस्थिति भाँड्न पनि आइपुगेका थिए । अहिले मधेस आन्दोलन र आन्दोलनको उपलब्धिसमेत ओझेलमा परेको देखेर मधेसीहरू मधेसवादी पार्टी, नेता एवं कार्यकर्तामाथि शंका गर्न थालेका छन् ।
यद्यपि संविधानसभाको चुनावमा मधेस आन्दोलनकै कारणले संविधानसभामा मधेसी दलहरूले पहाडेजत्तिकै सिट ल्याउन सफल भए । फलस्वरूप पहाडे र मधिसे झन्डै बराबरको अवस्थामा सत्ता साझेदारीमा रहँदै आएका छन् । र, यो सत्ता सझेदारीका लागि मात्र उनीहरूले मधेसका मुद्दाहरूमाथि चर्चा एवं सम्झौताहरू गरेका छन् भन्ने पुष्टि भएको छ । सत्ता सहभागिताकै लागि उनीहरू तीनबाट फुटेर १८ वटा पार्टीसम्म बने र ती फुटेका पार्टीहरू पुन: देखावटी मधेसी मोर्चा बन्ने र बिग्रिने गर्छन् । अहिलेसम्म एकजना सभासद् रहेका मधेसवादी कहलिएका पार्टीले पनि सत्तामा सहभागिता पाएर मन्त्री बन्न सफल भएका छन् । अर्थात् भनौँ उनीहरू मात्र चुनावी राजनीतिमा सक्रिय छन् । कतिपय मधेसवादी नेताहरूले पैसा भए मधेसमा राजनीति गर्न गाह्रो हुँदैन भन्ने कुरा यो पंक्तिकारसँग व्यक्त गरेका छन् । यसैले मधेस पुन: उकुसमुकुसको अवस्थामा पुगेको हो । मधेसका बौद्धिक जमात छट्पटिएका छन् । मधेसवादी राजनीतिक दलबाहेकका सचेत मधेसीहरू मधेस आन्दोलनका उपलब्धिहरूलाई संस्थागत गर्नका लागि जुर्मुराउँदै छन् । मधेस र मधेसीको यो अन्तरसंघर्षको परिणाम भविष्यले निर्धारण गर्नेछ । तर, अहिले भने कस्सिएको सुरक्षा घेराभित्र असुरक्षित मधेसीहरूका आत्मसम्मानमा ठेस पुगेको छ र सीमापारीको बजारबाट एक किलो चिनी ल्याउँदा अपमानित हुनुपरेको छ ।

प्रतिक्रिया