नतिजा प्रकाशन गर्न सेनालाई सर्वोच्चको आदेश

काठमाडौ, २१ भदौ । सर्वोच्च अदालतले नेपाली सेनाको अधिकृत पदका लागि लिइएको परीक्षामध्ये मधेसी युवालाई छुट्टयाइएको १५ दरबन्दी खाली राखी अन्यको नतिजा प्रकाशन गर्न आदेश दिएको छ ।

सेनाले अधिकृत पदका लागि १ सय २० दरबन्दीमा लिएको परीक्षामध्ये १५ दरबन्दी खाली राखी नतिजा प्रकाशन गर्न सर्वोच्चले बुधबार नेपाली सेनाको जंगीअड्डालाई आदेश दिएको हो । प्रधानन्यायाधीश खिलराज रेग्मी र न्यायाधीश सुशीला कार्कीको संयुक्त इजलासले अधिकृत पदका लागि विज्ञापन गरिँदा १५ दरबन्दी मधेसी युवालाई आरक्षणस्वरूप छुट्याए पनि लिखित परीक्षाको नतिजामा सिट नछुट्टयाएइको भन्दै १५ दरबन्दी सुरक्षित राख्न आदेश दिएको छ ।
‘मधेसी युवाका लागि छुट्याईएको १५ दरबन्दी सुरक्षित राखी अन्य नतिजा प्रकाशन गर्नू’ आदेशमा भनिएको छ, ‘लिखित परीक्षाको नतिजा प्रकाशन गर्दा मधेसीतर्फको दरबन्दी नै उल्लेख गरेको देखिएन, त्यसमा एकरूपता ल्याउन पनि हाललाई १५ दरबन्दी सुरक्षित गर्नू ।’
सेनाले अधिकृत पदमा १ सय २० दरबन्दीका लागि लिखित परीक्षा लिएको थियो । गत १६ चैतमा दरखास्त आह्वान गर्दा १५ दरबन्दी मधेसीका लागि छुट्याइएको थियो । ५० मधेसी युवाले दरखास्त दिए पनि एकजना पनि लिखितमा उत्तीर्ण हुन सकेका थिएनन् । त्यसपछि परीक्षाका सहभागी राकेश यादवले ५ भदौमा सर्वाेच्चमा रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाइ गर्दै सर्वाेच्चले विज्ञापनमा उल्लेख भएबमोजिम एकरूपता ल्याउनलाई १५ दरबन्दी सुरक्षित राख्न आदेश दिएको हो । यसअघि सर्वाेच्चले अधिकृत पदको मौखिक परीक्षाको नतिजा तत्काल प्रकाशन नगर्न आदेश दिएको थियो ।

प्रतिक्रिया