खाद्यसंकट टार्न चामल ढुवानी जारी

बाजुरा, २१ भदौ । दुई महिनादेखिको जारी खाद्यसंकट केही कम हुने संकेत देखापरेको छ ।

जिल्ला खाद्य संस्थान बाजुरामा चामल सकिएलगत्तै असारको अन्तिम सातादेखिको खाद्यसंकट टार्नका लागि खाद्यान्न ढुवानी सुरु भएको छ । संकटलाई कम गर्न थप पाँच सय क्विन्टल चामल मार्तडीका लागि मात्र ढुवानी भइरहेको संस्थानका लेखराज ओझाले जानकारी दिए ।
खाद्य संस्थान मार्तडीमा चामल अभावका कारण उपभोक्ताले बजारमा ५० रुपियाँ तिरेर चामल किन्नुपरेको छ । उपभोक्तालाई महंगीसँगै खाद्यसंकटले पैसा तिर्दा पनि चामल नपाइएको अवस्था छ । कोल्टीमा रहेको संस्थान शाखामा एक सय ५० क्विन्टल चामल मौज्दात भए पनि मार्तडीमा असारको अन्तिम साता नै चामल सकिएको संस्थानले जनाएको छ ।
खाद्य ढुवानी गर्न भएको ढिलाइका कारण दुई महिनासम्म सास्ती भोगेका सर्वसाधारणलाई पाँच सय क्विन्टल चामल ढुवानीलगत्तै वितरण सुरु गरिने भएको छ । आइतबारदेखि ढुवानी कार्य सुरु भएको चामल दुई/चार दिनभित्र वितरण गरिने संस्थानले जनाएको छ । पाँच सय क्विन्टल चामल बाजुराका ५० हजारभन्दा बढी जनसंख्याका लागि हात्तीको मुखमा जिरा हुने अवस्था छ । नयाँ ठेक्का आह्वान गरिएको आठ हजार क्विन्टलको सम्झौता हुन बाँकी रहेकोले दशैँ–तिहारको आसपासमा उपभोक्तालाई बढी समस्या हुने देखिन्छ ।
मार्तडीबाट मोटो चामल ३५ रुपियाँ प्रतिकेजी र जापानी चामल ३४ रुपियाँ ५० पैसा प्रतिकेजीमा बिक्री भइरहेको छ । कोल्टीमा मोटो चामल ४० रुपियाँ र जापानी चामल ३६ रुपियाँ ५० पैसा प्रतिकेजीमा बिक्री भइरहेको छ ।

प्रतिक्रिया