रेग्मीको हत्या कलेज पढ्ने विद्यार्थीबाट

काठमाडौं, २० भदौ । बागबजारस्थित श्रेष्ठ टेलरिङको प्यासेजमा छुरा हानी हत्या गरेको अभियोगमा पक्राउ परेका चारै जना कलेजका विद्यार्थी रहेको प्रहरीको अनुसन्धानले देखाएको छ । गत शनिबार टेलरिङको प्यासेजमा १९ वर्षीय

चिरञ्जीवी रेग्मीलाई छुरा प्रहार गरी हत्या गरिएको थियो ।
पक्राउ पर्नेमा सरोज बस्नेत, निशुभ तण्डुकार, रवीन शाह र आकाश श्रेष्ठ रहेका छन् । पक्राउ परेका सरोज, निशुभ र रवीन तीनै जना १९ वर्षका हुन् भने रवीन १७ वर्षका हुन् । उनीहरूलाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष टोलीले पक्राउ गरेको हो । मंगलबार परिसरले गरेको पत्रकार सम्मेलनमा उनीहरूले भनेअनुसार सरोज बानेश्वरस्थित केएनके कलेजमा कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थी हुन् । निशुभ सेन्टजेभियर कलेजमा बिबिएस प्रथम वर्षमा अध्ययनरत छन् । त्यस्तै, रवीन पाइथागोरस इन्स्टिच्युटबाट दुई वर्षअघि एसएलसी पास गरी बसेका हुन् भने आकाश टाइम्स कलेजमा कक्षा ११ मा अध्यनरत छन् ।
प्रहरीका अनुसार केटीको विषयमा विवाद भएपछि उनीहरूले चिरञ्जीवीलाई छुरा प्रहार गरेका हुन् । पत्रकार सम्मेलनमा आकाशले केटीकै विषयमा विवाद भएपछि चिरञ्जीवीलाई छुरा प्रहार गरेको स्विकार्दै भने, ‘केही महिनाअघि उसको र मेरो एउटा पार्टीमा झगडा भएको थियो, शनिबार उसलाई मैले श्रेष्ठ टेलरिङको प्यासेजमा देखेँ । हामीबीच हेरा हेर भयो । उसले ‘अस्ति मसँग झगडा गर्ने तैँ होइनस्,’ भन्यो । म त्यहाँबाट केही पर हिडेँ र सबै कुरा साथीलाई भनेँ । साथीहरू आए अनि चक्कु झिकेर हान्न थाले ।’
प्रहरीका अनुसार उनीहरूले नजिकै चनाचटपटे बेच्दै गरेका व्यापारीसँग चक्कु थुतेर प्रहार गरेका थिए । परिसर प्रमुख एसएसपी जयबहादुर चन्दले भने, ‘विगतमा यिनीहरूको भेट कमलपोखरीस्थित एक्का क्याफेमा भएको थियो ।
पार्टीमा डान्स गर्ने क्रममा आकाशको रेग्मीसँग झगडा भयो । गत शनिबार गर्लफ्रेन्डले बोलाएपछि आकाश टेलरिङ अगाडि पुगेका थिए । त्यही स्थानमा रेग्मी पनि उभिएको देखेपछि साथीलाई खबर गर्‍यो । त्यही क्रममा उसका साथीहरूले रेग्मीलाई छुरा प्रहार गरे ।’
प्रहरीका अनुसार छुरा प्रहार गर्ने सरोज हुन् । हेल्मेट प्रहार आकाशले गरेका थिए । रवीनले भने हातैले प्रहार गरेका थिए । निशुभले पसलबाट ल्याएको पेचकसले अन्धाधुन्ध प्रहार गरेका थिए । रेग्मीको शरीरबाट रगत बगेको देखेपछि चारै जना घटनास्थलबाट भागेका थिए ।

प्रतिक्रिया