नोबेलमा रक्त सञ्चार र हेमाटोलोजी विभाग

काठमाडौं, २० भदौ । उपत्यकामा भइरहेको रगतको अभाव कम गर्ने उद्देश्यले नोबेल हस्पिटल प्रालिले नोबेल रक्त सञ्चार सेवा तथा हेमाटोलोजी (रगतसम्बन्धी) विभागको स्थापना गरेको छ ।

अस्पतालले मंगलबार सेवासुविधा बिस्तार गर्ने क्रममा नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवासँग सम्झौता गरेर रक्तसञ्चार सेवाको स्थापना गरेको हो । नेपालका प्रथम इम्युनो हेमाटोलोजिस्ट तथा केन्द्रीय रक्तसञ्चार सेवाका संस्थापक कर्मचारी डा. वासुदेव शर्माले सेवाको स्थापना गरेका हुन् ।
रगत आवश्यक भएका बिरामीका लागि सहजरूपमा रगत र रक्त उत्पादनहरू आपूर्ति गर्ने, रगत र रक्त उत्पादनको सुरक्षा सुरक्षित र उपयुक्त चिकित्साजन्य प्रयोगको सुनिश्चितताको प्रत्याभूति दिन सेवा स्थापना गरिएको अस्पतालका मेडिकल डाइरेक्टर डा. लोचन कार्कीले बताए । ‘अस्पतालले नेपालमै पहिलोपटक अत्याधुनिक सेल सेपरेटर मेसिनका माध्यमबाट रक्तसञ्चार सेवा र हेमाटोलोजी विभाग सञ्चालन गर्न लागेको छ,’ उनले भने, ‘हालसम्म नेपालमा सञ्चालित कुनै पनि संस्थाले दिन नसकेको सेवा प्लेटलेटफेरोसिस, प्लाज्माफेरोसिसलगायत बिरामीको आवश्यकताबमोजिमका रक्तघटकहरू मात्र पनि छुट्टयाएर दिन हामी सक्षम हुने भएका छौँ ।’
हेमाटोलोजी विभागका प्रमुख डा. विशेष पौडयालले सेल सेपेरेटर नेपाली चिकित्सकीय क्षेत्रमा नौलो आयाम भएको बताए । उनका अनुसार सेल सेपेरेटरले बिरामीलाई आवश्यक पर्ने सबै प्रकारका रक्ततत्वका लागि परम्परागत विधिअनुसार ६ जना दाताबाट संकलित पूर्ण रगतबाट छुट्टयाई ३ देखि ४ दिनपछि मात्र प्राप्त गर्न सक्ने अवस्थाको अन्त्य गर्छ । ‘सेल सेपेरेटरले एकैजना दाताबाट आवश्यकताबमोजिमको रक्ततत्व संकलन गरी ९० मिनेटभित्र उपलब्ध गराउन सक्छ,’ उनले भने, ‘अबदेखि प्लेटलेस, सेतो रक्तकोष चाहियो भने चार–पाँच दिन कुर्नुपर्दैन ।’

प्रतिक्रिया