राजपासँग पार्टी एकता हुँदैनः थापा

काठमाडौं, १९ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सूर्यबहादुर थापा नेतृत्वको राष्ट्रिय जनशक्ति पार्टीसँग एकता नहँुने बताएका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले राजपासँग पार्टी एकताको वार्ता समेत नगर्ने बताए । ‘एकता महाधिवेशनबाट पारित नीति, विद्यान र कार्यदिशालाई राजपा र राप्रपा नेपालले स्वीकार गर्ने सहमति सहित दस्तावेज बनाए पनि पछिल्लो समयमा उलंघन भयो,’ उनले भने, ‘राजपासँग अब वार्ता पनि हुँदैन ।’
उनले पशुपतिशमसेर राणाले नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एकताको सम्भावना कायमै रहेको बताए । उनले सनातन हिन्दू धर्म, संवैधानिक राजतन्त्र र राष्ट्रिय अखण्डता त्याग गरेर पार्टी एकीकरण नगर्ने बताए ।
बन्द कोठामा बसेर संविधानसभा पुनःस्थापनाको षडयन्त्र गरिरहेको भन्दै अध्यक्ष थापाले संविधानसभा पुनःस्थापना गरिए राप्रपा नेपालले बहिस्कार गर्ने चेतावनी दिए । उनले सहमतिको सरकार बनाएर निर्वाचन गर्नुपर्ने माग गरेका छन् ।
उनले भ्रष्टाचार, महंगी र असुरक्षालाई लिएर राप्रपा नेपालले भदौ–२२ गते देशै भरि विरोध सभा गर्ने बताए ।

प्रतिक्रिया