‘जलाशययुक्त आयोजना बनाउनुपर्छ’

काठमाडौं, १९ भदौ । ऊर्जासचिव हरिराम कोइरालाले लोडसेडिङ समस्या समाधानका लागि जलाशययुक्त आयोजना निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । सोमबार संयुक्त अधिराज्य बेलायतस्थित युकास मेनेजमेन्ट सिस्टमअन्तर्गत बिएम ट्राडाले चिलिमे जलविद्युत् आयोजनालाई वातावरण र गुणस्तर व्यवस्थापनसम्बन्धी आइएसओ प्रमाणपत्र वितरण कार्यक्रममा उनले जलाशययुक्त आयोजना निर्माणमा जोड दिएका हुन् । ‘लोडसेडिङ घटाउनका लागि जलाशययुक्त आयोजना बनाउनुपर्छ, चिलिमे उत्तरगंगा जलाशययुक्त आयोजना बनाउन अनुरोध गर्दछु,’ ऊर्जासचिव कोइरालाले भने ।
सचिव कोइरालाले ६ सय मेगावाटको बूढीगण्डकी र चार सय मेगावाटको नलसिंगाढ जलाशययुक्त आयोजना निर्माणका लागि समेत ऊर्जा मन्त्रालयले विकास समितिमार्फत बनाउन प्रस्ताव लगेको बताए । उनले भारतबाट दुई सय मेगावाट विद्युत् ल्याउनका लागि बनाउनुपर्ने १५ मेगावाटको प्रसारण लाइन निर्माणका लागि ३३ करोड बजेट ऊर्जा मन्त्रालय आफ्नो कटाएर दिन तयार रहेको बताए । उनले प्राधिकरणद्वारा निर्माणाधीन आयोजनालाई समयमै र तोकिएको लागतमै बनाउनका लागि समेत आग्रह गरे । प्राधिकरणका कायममुकाम कार्यकारी निर्देशक एवं चिलिमे आयोजनाका अध्यक्ष महेन्द्रलाल श्रेष्ठले चार आयोजना निर्माण गरिरहेको र सन् ०२० भित्र पाँच सय मेगावाट पुर्‍याउने लक्ष्य राखेको बताए । नेपाल उद्योग वाणिज्य संघका ऊर्जासंयोजक ज्ञानेन्द्रलाल प्रधानले चिलिमे सार्वजनिक–निजी साझेदारी (पिपिपी) को नेपाली नमुना मोडल भएको बताए ।

चिलिमेलाई अन्तर्राष्ट्रिय प्रमाणपत्र

काठमाडौं : चिलिमे जलविद्युत् कम्पनीले अन्तर्राष्ट्रिय प्रमाणपत्र पाएको छ । संयुक्त अधिराज्य बेलायतस्थित युकास मेनेजमेन्ट सिस्टमअन्तर्गत बिएम ट्राडाले गुणस्तर र वातावरण व्यवस्थापनलाई उत्कृष्ट भएबापत अन्तर्राष्ट्रिय गुणस्तर र वातावरण व्यवस्थापन सिस्टमसम्बन्धी आइएसओ प्रमाणपत्र पाएको हो । ‘हामीले अन्तर्राष्ट्रिय मापदण्डमा आधारित प्रमाणपत्र पाउँदा खुशी छाँै,’ चिलिमेका प्रबन्ध निर्देशक कुलमान घिसिङले भने । यसै वर्ष चिलिमेले नेपाल–जर्मन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज जलविद्युत् उत्पादनसम्बन्धी उत्कृष्ट पुरस्कार र आइक्यानबाट सर्वोत्तम लेखाप्रणाली राष्ट्रिय पुरस्कार पाएको छ ।

प्रतिक्रिया