‘महिलाले सञ्चालन गरेका सहकारी सक्षम छन्’

आफ्नो संस्थाबारे के भन्नुहुन्छ ?
रिलायबल साकोस ०५५ सालमा स्थापना भएको हो । चक्रपथमा कार्यालय स्थापना गरी अघिबढेको यसले ०५९ बाट शंखमूलमा कार्यालय खडा गरेको हो । हाल संस्थामा सात सय सदस्य छन् । एक करोड १२ लाखको सेयर पुँजी तथा कुल कारोबार १४ करोड रहेको छ ।
सहकारी खोल्ने सोच तपाईंमा कसरी आयो ?
वास्तवमा म सामाजिक कार्यकर्ता हुँ । सामाजिक सेवाको काममा मेरो रुचि थियो । ०४८ पछि सहकारीको फेसन नै आयो । सहकारी पनि सामाजिक कार्य गर्ने एक माध्यम रहेछ भन्ने मैले बुझँे । सहकारीमा म जतिबेला लागेँ मलाई सहकारीबारे त्यति धेरै थाहा थिएन । विस्तारै सहकारी बुझ्दै गएँ, अनि मलाई थाहा भयो सहकारी भनेको समुदायमा आधारित रही समुदायकै हितमा गरिने व्यवसाय रहेछ ।
सहकारीमा महिला सहभागितालाई कसरी लिनुहुन्छ ?
सहकारीले गर्दा महिलाहरू आर्थिक, सामाजिक तथा साँस्कृतिक रूपले सबल बनेका छन् । गाउँघरका महिलाले बचत गर्न सिकेका छन् । बैंक तथा वित्तीय संस्थाको पहुँच नभएको ठाउँमा सहकारीका माध्यमबाट आर्थिक कारोबार गर्न सिकेका छन् । सहकारीले सामूहिक जमानतमा ऋण दिने र आफ्नो योग्यता अनुसार व्यवसाय गरेका छन् । आफैँले पैसाको कारोबार गरेर कुनै पनि कुराको निर्णय गर्ने क्षमता सहकारीले बढाएको छ । कुल सहकारीमा आबद्धमध्ये ४७.७ प्रतिशत महिला रहेका छन् । यो सहकारीप्रति महिलाको आर्कषणको तथ्यांक हो ।
महिला सहकारीको अवस्था कस्तो छ ?
महिलाले मात्र सञ्चालन गरेका सहकारी दुई हजार पाँच सय ४४ रहेका छन् । यस्ता संस्थाले वार्षिक ६ अर्बको कारोबार गर्दै आएका छन् । पुरुषले सञ्चालन गरेका सहकारीभन्दा महिलाले सञ्चालन गरेका सहकारी ९७ प्रतिशत सफल छन् । नेपालबाहेक अन्य देशमा महिला सहकारी भन्ने नै छैन । महिला–महिला सहकारीमा प्रतिस्पर्धा गरेर बस्नु हुँदैन । महिला र पुरुष मिलेर जानु पर्छ । महिलालाई नेतृत्व तहमा स्थान नदिएकै कारण महिला सहकारी छुट्टै स्थापना भएको हो ।
सहकारी मापदण्डले ३३ प्रतिशत महिला सहकारीको सञ्चालक हुनुपर्ने खुलाएको छ तर, सोअनुसार भएको छैन । १८ प्रतिशत महिला नेतृत्व तहमा छन् । जसमा १० प्रतिशत महिला स्वयंमले सञ्चालन गरेका छ । सहकारी सफल हुनुमा महिलाको भूमिका अझ बढी महत्त्वपूर्ण रहेको छ । महिलालाई नेतृत्व दिइएको खण्डमा पारदर्शी रूपमा काम गरेर देखाउँछन् ।
महिला सहकारीका समस्या के हुन् ?
नेतृत्व तहमा महिलाको सहभागिता कम छ । अहिले पनि आत्मविश्वास र शिक्षामा उनीहरू आफँैमा निर्भर छैनन् । पारिवारिक दायित्वले पनि महिला पछि परेका छन् । समाजले हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ । महिला बोल्न डराउने, आफूले गरेको कुरा गल्ती भयो कि भन्नेजस्ता कुराले अझै ग्रसित छन् । जसले गर्दा संस्था सञ्चालनमा केही समस्या आउने गर्छ । सहकारी शिक्षामा जोड दिँदै गएमा यस्ता समस्या हट्दै जाने थिए । महिलालाई अझै सशक्तीकरण गर्न सहयोग पु्गने थियो ।
सहकारीको विकासलाई कसरी लिनुभएको छ ?
समग्रतामा भन्नुपर्दा सहकारीकर्मीको मागअनुरूप सहकारी मन्त्रालय गठन भएको छ । त्यो ठूलो उपलब्धि हो । धेरैजसो मुलुकमा सहकारी मन्त्रालय छुट्टै छैनन् । हामीकहाँ पनि सहकारीले ५४ वर्षको इतिहास पार गरिसक्दा मात्र सहकारी नीति तयार भएको हो । यसले गर्दा केही ढिलो गरी सहकारीको विकास भएको देखिन्छ । सहकारी ऐन, राष्ट्रिय सहकारी विकास बोर्ड ऐन परिमार्जनको तयारीमा रहेको छ । पहिले सहकारीमा मानिस त्यत्तिकै आबद्ध हुने गरेका थिए भने हाल सहकारीको माध्यमबाट आर्थिक विकास हुने कुरामा सबै सहमत भइसकेका छन् ।
सहकारी शिक्षा र तालिमबाट मात्र सहकारीलाई व्यवस्थित बनाउन सकिन्छ भन्ने छाप सहकारीकर्मीमा परेको छ । युवा र महिला सहकारीप्रति आर्कषण हुनु भनेको सहकारीको उपलब्धि हो भन्ने मैले ठानेकी छु । सहकारीले साच्चिकै आर्थिक विकास र समुदायप्रति विश्वास बढाएको छ ।
युवा शक्ति सहकारीमा लगाउन के गर्नु पर्ला ?
गाउँगाउँका युवा विदेश पलायन भइरहेका छन् । गरिब जनता घरजग्गा राखेर विदेश गएका छन् । नेपालको प्रमुख पेसा कृषि भनिन्छ । तर, व्यावसायिक कृषि हुनसकेको छैन । अब सहकारी व्यवसायमा आधारित रही काम गर्न आवश्यक छ । कृषि क्षेत्रमा युवालाई आकर्षण गराउनु आवश्यक छ । सहकारीले विशेष गरी कृषि क्षेत्रमा लगानी बढाए आर्थिक विकासमा ठूलो फड्को मार्न सक्छ ।
सहकारीमा गैरसदस्यीय कारोबार कायमै छ भनिन्छ नि ?
सहकारीले गैरसदस्यीय कारोबार गर्न पाउँदैन । छ भने यसलाई नियन्त्रण गर्नु पर्छ । नियन्त्रण गर्न सहकारी अनुगमनमा जोड दिनु पर्छ । यदि कुनै सहकारीले यस्तो काम गरेको छ भने निश्चित समय दिएर सुधार्नु पर्छ । यसो गर्दा पनि टेरेन भने संस्थालाई कारबाही गर्नु पर्छ ।
अन्तर्राष्ट्रिय सहकारी वर्षमा के–के काम भए त ?
सबै सहकारीले एउटा/एउटा काम गर्नु पर्ने हाम्रो मान्यता हो । हाम्रो संस्थाबाट खासै काम नभए पनि गर्ने सोचमा रहेका छौँ । अन्य सहकारीले गरेका कामभन्दा नितान्त फरक काम गर्ने हाम्रो सोच छ । राष्ट्रिय सहकारी संघले विभिन्न कार्यक्रमको आयोजना गरेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खालका गोष्ठी पनि भएका छन् । हुलाक टिकट, एक हजार रुपियाँको सिक्का र पाँच सयका सिक्कामा सहकारी वर्षको लोगो राख्ने काम अघि बढेको छ ।
भावी कार्यक्रम के छ ?
संस्थाको मुख्य उद्देश्य बचत तथा ऋणको कारोबार गर्ने भएकाले त्यस्ता खासै कार्यक्रम तोकेका छैनौँ । सदस्यलाई ऋण दिई दैनिक जीवनस्तरलाई उकास्न सहयोग गर्ने हो । सदस्य भएबापत उनीहरूलाई व्यवसायमुखी बनाई आर्थिक कारोबारमा सबल बनाउने संस्थाको लक्ष्य हो । संस्था सक्षमभन्दा पनि सदस्य सक्षम बनाउने हाम्रो काम हो ।
सहकारी क्षेत्रमा लागेकालाई के भन्नुहुन्छ ?
जुन क्षेत्रमा लागेका छौँ, त्यही क्षेत्रमा तन, मन लगाएर काम गरौँ । सिद्धान्त, नियम, कानुनअनुसार सच्चा सहकारीकर्मी बन्छु भन्ने भावना सिर्जना गराँै, अवश्य पनि सफल होइन्छ । तबमात्र सहकारी आन्दोलन सफल हुन्छ ।
प्रस्तुति : काजी श्रेष्ठ

प्रतिक्रिया