एघार वर्षको बालक धर्मउपदेशक

वासिंगटन डिसी, १९ भदौ । अमेरिकामा एक जना ११ वर्षीय बालकलाई पारिवारिक चर्चको पादरी नियुक्त गरिएको छ । यति मात्र नभएर, एजिकल स्टोडार्ड नाम भएको यो बालकले अनेक स्थानीय चर्चहरूमा धार्मिक प्रवचन पनि दिने गरेको छ । उमेर सानो भए पनि एजिकलले कुनै वयष्क मानिससरह नै लुगा लगाउने गर्छ ।

धार्मिक प्रवचन दिइरहेका बेला उसको टाउको पोडियमभन्दा माथि अलिकति
मात्र देखिन्छ ।
धार्मिक प्रवचन समाप्त भएपछि एजिकल आफ्ना भाइबहिनीहरू भएको ठाउँमा जान्छ । उसका दुई दिदीबहिनी १५ वर्षीय कोरिन र सातवर्षीय ज्यास्मिन अनि दुई भाइ १३ वर्षीय हेजेकियाह र सातवर्षीय मिकाह छन् । उनीहरू सबैजना मिलेर एउटा धार्मिक समूह ‘गोस्पेल ग्रुप’ नै बनाएका छन् ।
शारीरिक उचाइ मिलाएर उनीहरू पंक्तिबद्ध उभिन्छन् र धार्मिक गीत गाउँछन् । गीतको संगीत सामान्य छ र वासिंगटन डिसीको क्राइस्ट सेन्टर्ड मिसनरी ब्यापटिस्ट चर्चका मानिसहरू त्यो संगीत सुनेर आनन्द मान्छन् ।
त्यसपछि सुरु हुन्छ आशीष दिने क्रम । एक–एक जना गर्दै मानिसहरू एजिकलसामु पुग्छन् । एजिकलले कहिले शैतानलाई भाक्ने आदेश दिन्छ त कहिले उपचार गर्नुपर्ने कुरा गर्छ । त्यसरी आशीष लिन जानेहरूमध्ये कति त एजिकलभन्दा धेरै नै बढी उमेरका हुन्छन् । चर्चमा एजिकललाई धर्मोपदेश दिन निम्तो गर्ने पादरी रेवरेन्ड हक्र्युलस एस जोन्स भन्छन्, ‘एजिकल एक जना असाधारण बालक हो, उसले दिने धर्मोपदेश निकै प्रेरणादायी हुन्छ ।’
एजिकलको धार्मिक प्रवचन सुन्न पुग्नेहरूमध्ये धेरै त श्रद्धालुहरू पनि हुन्छन् । एजिकलकी आमा र सौतेला पिता दुवैजना पादरी हुन् । दुई वर्षपहिले उनीहरूले आफ्नो चर्च स्थापना गरेका थिए । मेरील्यान्डको क्यापिटल हाइट्स क्षेत्रमा उनीहरूले ‘फुलनेस अफ टाइम चर्च’ मा यसै वर्षको सुरुतिरै एजिकललाई पादरी र उसको भाइ हेजेकियाहलाई ‘डिकन’ नियुक्त गरेका थिए ।
एजिकलको सातवर्षीय भाइ मिकाह पनि आफ्ना दाइहरूजस्तै पादरी बन्न उत्सुक छ । त्यसो त अमेरिका त्यस्तो एक्लो देश होइन जहाँ बाल उपदेशकहरू छन् । ब्राजिलमा पनि बाल धर्मोपदेशकहरूको फल्दोफुल्दो बजार छ । इन्डोनेसियामा त एउटा विवादित टिभी कार्यक्रम नै छ जसमा कम उमेरका इस्लामिक उपदेशक एकअर्कोभन्दा प्रभावशाली देखिन/सुनिन होडबाजी गरिरहेका हुन्छन् ।
अमेरिकी राज्य एलिनाईस्थित ह्विटन कलेजकी इसाई धर्म विशेषज्ञ एडिथ ब्लुमहोफरका शब्दमा, ‘श्रद्धालुहरूलाई अधिकतम सहभागी गराउन पहल हुने ठाउँहरूमा बालधर्मोपदेशक प्रथा बढी लोकप्रिय हुने सम्भावना रहन्छ । खासगरी समाजमा उपेक्षित वा विपन्न अवस्थामा रहेका समुदाय र बस्तीहरूमा यो अझ प्रभावशाली देखिन्छ ।’
बालोपदेशकबारे पुस्तक लेखिरहेका सेवानिवृत्त पादरी टेड लाविन्ये भन्छन्– सन् १९२० र ३० को दशकमा बाल उपदेशकहरू निकै लोकप्रिय थिए । त्यसरी हेर्ने हो भने त हाल उक्त प्रथामा निकै ‘सुस्तता’ आएको हो । बेलायतमा पनि बाल उपदेशक छन् तर उनीहरूमा धेरैजसो अमेरिकी नै छन् ।
यसको कारण बताउँदै डर्टमाउथ कलेजका धर्म विभाग प्रमुख र्‍यान्डल वाल्मर भन्छन्, ‘अमेरिकामा धर्ममा एक किसिमको जोस छ, उत्साह छ र यस किसिमको भाव संसारमा अन्यत्र कतै देखिँदैन । हामी अत्यन्त धार्मिक मानिस हौँ । मलाई लाग्छ, बाल उपदेशकको लोकप्रियता उसको नयाँपन हो ।’
अमेरिकामा चर्चमाथि निकै कम नियन्त्रण छ । त्यहाँ जो कसैले पनि चर्च स्थापना गर्न र आफ्नै ढंगले नियमहरू बनाउन सक्छ । संविधानमा व्यवस्था भएअनुसार सरकारले धर्ममा हस्तक्षेप गर्दैन, त्यसकारण त्यहाँ एक किसिमले ‘धर्मको बजार’ बन्दै गएको छ ।
बाल उपदेशक प्रथाको आलोचना गर्नेहरू पनि प्रशस्त छन् । उनीहरू भन्छन्– एजिकल जति सानो उमेरका बालकहरू पादरी बन्न वा धार्मिक उपदेश दिनका लागि ‘सानै’ छन् । तर एजिकलकी आमा एड्रियन स्मिथ भन्छिन्– एजिकल र उसका दाइभाइहरू सबैजना अन्य केटाकेटीसरह पौडी, टेनिस, घोडचढीजस्ता सबै खेल खेल्छन् । एजिकललाई बगैंचामा फटयाङ्ग्रा र छेपाराका पछिपछि दर्गुन निकै आनन्द आउँछ तर योसँगै उसले दिनमा दुई घन्टा बाइबल पनि पढ्छ । भविष्यमा के गर्ने भनेर सोच्न अझ धेरै समय रहेको बताउँदै एजिकल हाल भने धर्मोपदेश गरिरहनेमा दृढ रहेको धारणा व्यक्त गर्ने गर्छ । बिबिसी

प्रतिक्रिया