राष्ट्रपति पैदल नै टिचिङमा

काठमाडौं, १९ भदौ । प्रधानमन्त्री, रक्षामन्त्री या गृहमन्त्री कहीँ–कतै जानुपर्‍यो भने सबैभन्दा पहिला उनीहरू जाने सडक पूरै खाली गरिन्छ । उनीहरू जाने हरेक स्थानमा बाक्लो सुरक्षाकर्मी र साइरनसहितको सुरक्षा भ्यान पनि हुन्छ । प्रधानमन्त्री, गृहमन्त्री वा रक्षामन्त्री सडकमा हिँड्दा सडक पूरै जाम र अस्तव्यस्त बन्न पुग्छ । जसको मारमा सर्वसाधारण जनता पर्ने गर्छन् । तर, राष्ट्रपति डा. रामवरण यादव भने सोमबार पैदल नै हिँडेका छन् ।

उनी राष्ट्रपति कार्यालय शीतलनिवासदेखि त्रिवि शिक्षण अस्पताल (टिचिङ) महाराजगन्जसम्म पैदल नै आउजाउ गरेका हुन् । अन्य समय सुरक्षाकर्मीका भ्यानमा साइरन बजाउँदै सवार हुने राष्ट्रपति डा. यादव शीतलनिवासबाट झन्डै ७ सय मिटर पर रहेको शिक्षण अस्पतालमा उपचाररत नवजनवादी मोर्चाका अध्यक्ष तथा गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहलाई भेट्न पैदल नै अस्पताल पुगेका थिए ।
राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालका अनुसार राष्ट्रपति डा. यादव सोमबार साँझ पौने ७ बजे आºना केही सुरक्षाकर्मीसहित पैदल टिचिङ अस्पतालमा पुगेका हुन् । राष्ट्रपति यादव टिचिङबाट साढे सात बजे फर्किएका थिए । ‘उहाँ विनायोजना, बाक्लो सुरक्षा व्यवस्था नगरी नै टिचिङ जानुभएको हो,’ उनले भने, ‘आºना दुई/तीनजना सुरक्षाकर्मी लिएर सिधै टिचिङ हिँडेरै जानुभएको हो ।’
पैदल नै शिक्षण अस्पताल पुगेका राष्ट्रपति यादव आधा घन्टाभन्दा बढी टिचिङमा बिताएका थिए । टिचिङमा उपचाररत सिंहको स्वास्थ्यस्थितिको जानकारी लिँदै राष्ट्रपति डा. यादवले सिंहको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए । अस्पतालका अनुसार राष्ट्रपतिले सिंहको स्वास्थ्यमा भएको समस्याबारे चिकित्सकसँग जानकारी लिएका छन् ।
लामो समयदेखि उच्च रक्तचाप र पार्किङसनबाट पीडित ७७ वर्षीय सिंह आइतबार साँझ अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए । ढाडको समस्याका कारण एक सातादेखि बस्नसमेत नसक्ने भएपछि उनी उपचारका लागि अस्पताल भर्ना भएका हुन् । उनको उपचारमा डा. के के ओली संलग्न छन् । चिकित्सक ओलीका अनुसार सिंहको मिर्गौलामा पनि समस्या देखिएको छ । उनले सिंहको स्वास्थ्यमा विस्तारै सुधार आइरहेको बताए ।

प्रतिक्रिया