विपक्षी दलहरुद्वारा भट्टराईको बहिर्गमन माग

काठमाडौं, १८ भदौ । नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले बाबुराम भट्टराई प्रधानमन्त्रीको पदमा कायम रहेसम्म दलहरुवीच सहमति बन्न नसक्ने बताएका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले भने, ‘बाबुराम भट्टराई प्रधानमन्त्रीमा रहुन्जेल सहमति बन्न सक्दैन ।’ उनले प्रधानमन्त्री भट्टराईको पद त्यागको विषयलाई आफूहरुले पहिलो सर्त बनाएको बताए ।
राष्ट्रपतिले गतिरोध अन्त्यका लागि ठोस पहलकदमी लिनु पर्ने बताएका गजुरेलले राष्ट्रपति निरिह देखिएको आरोप लगाए ।
एकीकृत माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले संविधानका विवादित अन्तर्बस्तुमा सहमति नभएसम्म प्रधानमन्त्रीले पदत्याग नगर्ने बताए ।
उनले राजनीतिक निकासको उपाय नपहिल्याई सरकार परिवर्तनको मुद्दालाई प्राथमिकतमा राख्नु नै सहमतिको बाधाक भएको बताए ।
कांग्रेस केन्द्रीय सदस्य मनमोहन भट्टराईले मुलुकलाई राजनीतिक दुष्चक्रबाट निकाल्ने एक मात्र उपाय राष्ट्रपति रहेको उल्लेख गरे । उनले निकासका लागि राष्ट्रपतिसँग सकारात्मक हस्तक्षेपको अपेक्षा आफूले लिएको बताए ।
एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञावलीले बर्तमान सरकारको बहिर्गमनसँगै सहमतिको सरकार गठन गर्नुपर्ने बताए । उनले सहमतिको सरकार नै जारी राजनीति र संबैधानिक संकटको निकास दिने प्रस्थान विन्दु हुने उल्लेख गरे ।
राष्ट्रिय जनशक्ति पार्टीका सहअध्यक्ष प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री सत्ता कब्जा गर्ने अभियानमा रहेको आरोप लगाए ।

प्रतिक्रिया