१० तालिबानी मारिए, ३२ पक्राउ

काबुल : अफगानिस्तानमा नेटोसहितको संयुक्त सेनाले गत २४ घन्टाभित्र गरेको कारबाहीमा दस तालिबानी आतंककारीको मृत्यु भएको छ । सो कारबाहीमा अन्य ३२ आतंककारी पक्राउ परेको अफगान गृहमन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । अफगान राष्ट्रिय प्रहरी, सैनिक र नेटोसँग आबद्ध सैनिकले ताक्हार, कान्दाहार, उरुज्गान, घाज्नी, पाक्टिका, पाक्टिया र हेल्मान्ड प्रान्तमा गरेको संयुक्त कारबाहीमा १० सशस्त्र आतंककारीको मृत्यु भएको उक्त विज्ञप्तिमा जनाइएको हो ।
उक्त कारबाहीको क्रममा विभिन्न हातहतियार कब्जा गरिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । यस आक्रमणबाट सुरक्षाबलतर्फ कुनै हताहतीको समाचार प्राप्त भएको छैन । अफगानिस्तानमा अफगान र नेटोसँग आबद्ध करिब एक लाख ३० हजार सेनाले तालिबानी लडाकुविरुद्ध विभिन्न स्थानमा कारबाही जारी राखेका छन् । अफगानिस्तानबाट नेटो सैनिक फिर्ता हुने समय नजिकिँदै गर्दा तालिबानीविरुद्धको कारबाहीलाई थप तीव्र पारिएको पनि समाचारमा जनाइएको छ । (एजेन्सी)

प्रतिक्रिया