अख्तियारले फाइल मगायो

काठमाडौं, १८ भदौ । चीनको हुवेई सनलाइट इलेक्ट्रिक कम्पनीमार्फत आयात गरिएका ट्रान्सफर्मर खरिदमा अनियमितताको आशंका गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फाइल मगाएको छ । करिब १६ करोडमा टेन्डर भएको ट्रान्सफर्मरमा तामाको साटो आल्मुनियम हालिएको भेटिएको थियो ।

नेपाल विद्युत् प्राधिकरणले टेन्डरमार्फत खरिद गरेको ट्रान्सफर्मर गुणस्तरहीन र कमसल भेटिएपछि अख्तियारले छानबिनका लागि फाइल मगाएको हो । ‘ट्रान्सफर्मरको फाइल अख्तियारले मगाएको छ,’ प्राधिकरण ग्राहक तथा वितरण पूर्वका महाप्रबन्धक चिरञ्जीवी पौडेलले भने, ‘अब हामी छिट्टै सबै फाइल अख्तियारलाई दिन्छौँ ।’

चीनबाट ल्याइएका नयाँ ट्रान्सफर्मर परीक्षणको लागि बिहीबार वर्कसपमा लगिएपछि ती नयाँमा पनि बदमासी भएको भेटिएको समाचार सौर्य दैनिकले तस्बिरसहित छापेको थियो । ती ट्रान्सफर्मर नयाँमै खिया लागेको भेटिएको छ । ट्रान्सफर्मर कमसल र गुणस्तरहीन भेटिएपछि प्राधिकरणले चिनियाँ कम्पनीलाई पत्र लेखिसकेको छ ।
प्राधिकरणका अनुसार, चिनियाँ कम्पनीलाई सम्झौताअनुसार ट्रान्सफर्मर नपठाइएकोले ती सबै ट्रान्सफर्मर प्रतिस्थापन गर्न र त्यसका लागि विनासर्त लागत रकमको ग्यारेन्टी गर्न भनिएको छ । ‘ट्रान्सफर्मर सम्झौताविपरीत पठाएको भेटिएलगत्तै कम्पनीलाई चिठी लेखेका छौँ,’ महाप्रबन्धक शर्माले भने, ‘कम्पनीले नेपाल पठाएका सबै ट्रान्सफर्मर प्रतिस्थापन नगरे मुद्दा हाल्नुको विकल्प छैन ।’
ट्रान्सफर्मरमा बदमासी भेटिएपछि प्राधिकरणमा रहेका पाँच संगठनले छानबिन तथा कारबाहीको माग गर्दै प्राधिकरण प्रमुख, सञ्चालक समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई संयुक्त पत्र लेखेका छन् । नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियन, कर्मचारी संघ, कल्याण परिषद्, राष्ट्रिय कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठनले पत्र लेखेका हुन् । ‘ट्रान्सफर्मर गुणस्तरहीन र कमसल ल्याएको प्रमाणित भइसकेको छ, त्यसमा संलग्न सबैको छानबिन गरेर कारबाहीका लागि माग गरेका छौँ,’ प्राधिकरण कर्मचारी संघका वरिष्ठ उपाध्यक्ष इन्द्र न्यौपानेले भने ।
टेन्डर नम्बर आइसिबी–केभिडिएसआर ०४/२००९/१ अनुसार चिनियाँ कम्पनीलाई टेन्डर दिएर एक वर्षअघि करिब ७३५ थान ट्रान्सफर्मर खरिद गरिएको थियो । सिन्धुपाल्चोकबाट बिग्रेर ल्याइएको ट्रान्सफर्मरमा र नयाँ ट्रान्सफर्मरमा परीक्षण गर्दा बाहिर तामा र भित्र आल्मुनियन देखिएको थियो । वर्कसपका प्राविधिकहरूका अनुसार आल्मुनियम प्रयोग गरिएको ट्रान्सफर्मरमा छिट्टै बिग्रने, फुल लोड नधान्ने, चुहावट बढी हुने, एकपटक बिग्रेपछि मर्मत गर्न नसकिने, आयु कम हुनेलगायतका समस्या हुन्छन् ।
ट्रान्सफर्मर नेपाल ल्याएपछि प्राधिकरणका अधिकारीहरूले टेस्ट गर्नुपर्ने भए पनि चिनियाँ कम्पनीले आफैले परीक्षण गरेको रहस्यसमेत खुलेको छ । ‘ट्रान्सफर्मर नेपाल ल्याएपछि प्राधिकरणका कर्मचारीले परीक्षण गर्नुपर्ने हो तर प्राधिकरणका कर्मचारीहरूको मिलेमतोमा चिनियाँ कम्पनीका अधिकारी आफैले परीक्षण गरेका रहेछन्,’ प्राधिकरणका एक अधिकारीले भने, ‘प्राधिकरणका कर्मचारीले परीक्षण गरेको भए त्यतिबेला नै बदमासीको पर्दाफास भइसक्थ्थो, यसमा मिलेमतो हुन सक्ने प्रशस्त आधार छन् ।’
यसअघि विद्युत् प्राधिकरण सञ्चालक सदस्य डा.केपी दुलालको संयोजकत्वमा रहेको छानबिन उपसमितिले अधिकांश ट्रान्सफर्मर गुणस्तरहीन भएको पत्ता लगाएपछि त्यसमा कर्मचारीको संलग्नताबारे थप अध्ययनका लागि अर्का सञ्चालक समिति सदस्य मोहनराज पन्तको संयोजकत्वमा उपसमिति गठन गरिएको छ । ‘ट्रान्सफर्मरमा बदमासी गरेको भेटिएकोले छानबिन भइरहेको छ र दोषीलाई कारबाही हुन्छ,’ प्राधिकरणका कायममुकाम कार्यकारी निर्देशक महेन्द्रलाल श्रेष्ठ भन्छन् ।
प्राधिकरणका अनुसार, प्राधिकरण ग्राहक तथा वितरण पूर्व शाखाले १६ करोड रुपियाँमा तामाको ५० देखि २०० केभीसम्मका ७३५ ट्रान्सफर्मर आयात गरेको थियो । तामाको ट्रान्सफर्मर बिग्रेपछि पुन: मर्मत गर्न सकिन्छ । मूल्यको हिसाबले समेत आल्मुनियमको भन्दा तामाको मूल्य पाँचगुणा बढी पर्छ । पछिल्लो समय अधिकांश ट्रान्सफर्मर तामाकै उपयोग गर्ने गरिएको छ ।

प्रतिक्रिया