‘पुन:स्थापना उत्तम विकल्प’

काठमाडौं, १८ भदौ । पूर्वसभासद्हरूले संविधानसभा पुन:स्थापना नै राजनीतिक संकट समाधानको उत्तम विकल्प भएको बताएका छन् ।
राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा एमाओवादी, कांग्रेस, एमाले, फोरम नेपाललगायत दलका पूर्वसभासद्ले संविधानका विवादित विषयमा समाधान खोजेर छोटो समयका लागि संविधानसभा पुन:स्थापना गर्नुपर्ने धारणा व्यक्त गरेका हुन् । एमाओवादीका जनार्दन शर्माले संविधानसभा पुन:स्थापना गरेर अगाडि बढ्न सके सबै समस्याको समाधान हुने दाबी गरे । कांग्रेसका डा.प्रकाशशरण महतले विवादित विषयवस्तुमा संविधानसभा पुन:स्थापनाअघि नै सहमति खोजिनुपर्ने बताए । संविधान निर्माणमा सहमति भइसकेका बुँदालाई लिपिबद्ध गरेर बाँकी बुँदामा तत्काल सहमति जुटाउनुपर्ने एमालेका सुरेन्द्र पाण्डेको भनाइ थियो । नेकपा–माओवादीका देव गुरुङले संसद् पुन:स्थापनाका लागि सरकार विघटन अनिवार्य रहेको तर्क गर्दै चार दलका नेताले आत्मसमीक्षा नगरी संविधानसभा पुन:स्थापना गर्नुको औचित्य नरहने बताए ।

अर्को बाटो छैन : देउवा

काठमाडौं : कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले राजनीतिक संकटको निकासका लागि संविधानसभा पुन:स्थापनाबाहेक अर्काे बाटो नभएको बताएका छन् ।
दक्षिण अफ्रिका भ्रमणबाट स्वदेश फर्केपछि आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग नेता देउवाले विवादित विषयमा चाँडै सहमति गरेर संविधानसभाबाटै नयाँ संविधान जारी गर्नुपर्ने धारणा व्यक्त गरे । नयाँ चुनावमा जान पनि व्यवस्थापिका–संसद् आवश्यक पर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया