पामलाई नेकोस जुडो उपाधि

काठमाडौं, १७ भदौ । नेकोस दोस्रो राष्ट्रव्यापी जुडो प्रतियोगिताको उपाधि पामले शनिबार जितेको छ ।
नयाँबजारस्थित बहुउद्देश्यीय मार्सलआर्ट केन्द्र (एमएमएसी) मा भएको प्रतियोगितामा पामले ७ स्वर्ण, ४ रजत र २ कांस्य जित्यो । नेपाल खेलकुद महासंघअन्तर्गतको राष्ट्रिय जुडो संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा डोक्सका निरञ्जन टमटा तथा महिलामा पामकी ममिता प्रधान उत्कृष्ट खेलाडी घोषित भए ।
पुरुषको ५० केजीमा जेम्सका समिर खड्का, ३० केजीमा होपेडका लक्ष्मण जिसी, ४० केजीमा पामका इन्द्रबहादुर श्रेष्ठ, २० केजीमा डोक्सका निरञ्जन टमटा, ३५ केजीमा पामका रोशन दोङ र २५ केजीमा ओसिडका रविन वन्त पहिलो भए । यसैगरी, ४५ केजीमा पामका अनिल मण्डल, खुलामा गोसाईंकुण्डका सुदीप डंगोल तथा ५५ केजीमा एमएमएसीका उमेश मगरले स्वर्ण जिते ।
महिलातर्फ २८ केजीमा पामकी निभा यादव, २४ केजीमा पामकी रुक्साना खातुन, ४४ केजीमा पामकी पूजा श्रीवास्तव र ३६ केजीमा डोक्सकी विष्णुमाया वाइबा पहिलो भए । खुलामा एमएमएसीकी नम्रता सुवेदी, ४८ केजीमा पामकी ममिता प्रधान र ४० केजीमा होपेडकी पुष्पा भण्डारी पहिला भए । ३२ केजीमा पामकी स्वस्तिका सुवेदी तथा ५२ केजीमा डब्लुसीआइएमकी इन्दिरा भुजेलले पहिलो स्थान हात पारे ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्यसचिव तथा नेपाल ओलम्पिक कमिटीका महासचिव जीवनराम श्रेष्ठ, नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यलगायतले पुरस्कार वितरण गर्नुभएको थियो । दुईदिने प्रतियोगितामा २७७ खेलाडीले १८ स्वर्णका लागि प्रतिस्पर्धा गरेको आयोजक राष्ट्रिय जुडो संघका अध्यक्ष धर्मकुमार श्रेष्ठले जनाएका छन् ।

प्रतिक्रिया