छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं, १७ भदौ । आठ वर्षअघि इराक हत्याकाण्डका कारण वैदेशिक रोजगार व्यवसायीले बेहोर्नु परेको क्षतिको विवरणसहित छानबिन प्रतिवेदन सार्वजनिक गर्न व्यवसायीले सरकारसँग माग गरेका छन् । १६ भदौ ०६१ मा भएको इराक हत्याकाण्डको विषयलाई लिएर शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा व्यवसायीले सो माग गरेका हुन् ।

त्यतिखेर रोजगारीमा रहेका १२ नेपालीको इराकमा क्रुरतापूर्वक हत्या भएको थियो । सो विषयलाई लिएर मुलुकका तीन सयभन्दा बढी म्यानपावर कम्पनीमा तोडफोड र आगजनीसमेत भएको थियो । व्यवसायीले भदौ १६ लाई कालो दिनका रूपमा लिने गरेका छन् । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बलबहादुर तामाङले आठ वर्षअघि इराक हत्याकाण्डका कारण नेपाली व्यवसायीले ठूलो आर्थिक तथा भौतिक क्षति बहोर्नु परे पनि सरकारले भने घटनालाई अहिलेसम्म छानबिन नगरेको बताए । उनले त्यो घटनालाई लिएर सरकारले छानबिन आयोग बनाए पनि आयोगको प्रतिवेदन हालसम्म सार्वजनिक नगरेकामा आक्रोश पोखे । ‘विदेशमा अनाहकमा ज्यान गुमाएका नेपालीको विषयलाई लिएर नेपाली व्यवसायीले करोडौं आर्थिक तथा भौतिक क्षति बेहोर्नु पर्‍यो,’ उनले भने, ‘तर सरकारले आजसम्म सो घटना छानबिन प्रतिवेदन सार्वजनिक नगरेर यो व्यवसायप्रति अन्याय गरेको छ ।’
उनले आठ वर्ष बितिसक्दासमेत सरकारले प्रतिवेदन सार्वजनिक नगरेको तर व्यवसायीले भने आ×फ्नातर्फबाट प्रतिवेदन सार्वजनिक गरेको जनाए । तत्कालीन अवस्थामा व्यवसायी निर्मल गुरुङको संयोजकत्वमा गठित समितिले सार्वजनिक गरेको प्रतिवेदनमा ७५ करोड ३१ लाखको आर्थिक नोक्सानी व्यवसायीले बेहोर्नु परेको उल्लेख छ । त्यस्तै, भिसा लागेका दुई हजार नौ सय र भिसा नलागेका ५७ हजार आठ सय २१ वटा राहदानी आगजनीमा जलेर नष्ट भएको पनि प्रतिवेदनमा छ ।
कार्यक्रममा संघका पूर्वअध्यक्ष सोमलाल बाटाजुले इराक घटनाका कारण आठ वर्षअघि तीन सय २५ म्यानपावर कम्पनी ध्वस्त भएको तर सरकारले पीडित व्यवसायीलाइ क्षतिपूर्ति नदिएको जनाए । उनले सरकारले प्रतिवेदनसमेत सार्वजनिक नगरेको भन्दै तत्काल गर्नुपर्नेमा जोड दिए । एनआरएनका सचिव टिबी कार्कीले इराक घटनामा नेपाली वैदेशिक रोजगार व्यवसायीले ठूलो क्षति बेहोर्नुपरेको भन्दै सरकार आफ्नो दायित्वबाट पन्छन नहुने जनाए । उनले दूतावास नहँुदा कामदारले समस्या भोग्नुपरेको तथा सो घटनामा समेत उद्धार हुने अवस्था हँुदाहँुदै सरकारी कमजोरीले १२ नेपालीले ज्यान गुमाएको दाबी गरे ।
वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले सरकारले इराक घटना दु:खद भएको भन्दै पीडितलाइ क्षतिपूर्ति र छानबिन प्रतिवेदन सार्वजनिक गर्नेमा विश्वास दिलाए । ‘वैदेशिक रोजगारीले नै हाम्रो अर्थतन्त्र धानेको छ,’ उनले भने, ‘तर यसलाई व्यवस्थित गर्न सरकार लागिरहेकाले इराक घटनामा व्यवसायीले बेहोरेको क्षति छानबिन गरी प्रतिवेदन सार्वजनिक हुन्छ ।’ अहिले विगतभन्दा वैदेशिक रोजगार क्षेत्र निक्कै व्यवस्थित भएको उनको दाबी छ । भट्टराईले गतआवमा मात्र वैदेशिक रोजगारीबाट साढे ३ अर्बभन्दा बढी रेमिट्यान्स आएको तथा २४ लाख मानिस वैदेशिक रोजगारीमा रहेको बताए ।

प्रतिक्रिया