“हिसाब भनेपछि टाउको दुख्थ्यो”

भाइबहिनी हो, मेरो जन्म २०१५ साल माघ १ गते झापाको भद्रपुरमा भएको हो । तीन दिदी, दुई बहिनी र तीन भाइमध्ये जेठो हुँ । बुबा पत्रकार तथा समाजसेवी हुनुहुन्थ्यो ।
हामी सानो हुँदाको भद्रपुरमा मैनबत्ती, टुकी, लम्फू
(ल्याम्प) र लालटिन बाल्नुपथ्र्यो । हुनेखानेहरू मेनटोल
(पेट्रोमेक्स) बालेर झलल्ल उज्यालामा बस्थे । जताततै खाल्टाखुल्टी भएको धुलाम्मे कच्ची बाटो थियो । एउटा–दुइटा गाडी पार हुँदा त ठीकै हुन्थ्यो तर बेलाबेला ट्रकका ताँती नै आइपुग्दा स्कुल जाँदा र आउँदा चारैतिरबाट धुलोले छोप्थ्यो । हुलिया बिग्रेर हामी अंगुरजस्ता मसिना बच्चाहरू धुलोले लंगुरझैँ देखिन्थ्यौँ ।
भद्रपुर तथा छेउछाउमा हराभरा जंगल पनि थियो । नेपालको धन हरियो वनबाट राति हन्जाका हन्जा जंगली हात्ती आएर बस्तीका काठका घर, टहरा, घुम्ती भत्काइदिन्थे । बारीमा पसेर केराको घारी नै नाश गर्थे । गाउँ नै सोत्तर पारेर जान्थे । चितुवा पनि बाख्रा र कुखुरा टिपेर लैजान खुबै पल्केका थिए । बेलुकाको के कुरा, बिहानको खाना खाँदा पनि भान्छाको झ्यालबाहिरबाट स्याल चुच्चो मुख देखाएर यताउता पल्याकपुलुक हेथ्र्यो । केही नभेट्टाएपछि र्‍याल काढेर हुइयाँ गर्दै झुप्पो पुच्छर हल्लाएर जान्थ्यो । अहिले बिजुली बत्ती छ, सडक पनि पक्की छ । तर, जंगलका गोलिया काठ उहिल्यै मेची तरेर गलगलिया, इन्डियातिर पसिसके भाइबहिनी हो ।
दिदीले पाटीमा खरीले कखरा लेख्न र चिन्न सिकाउनुभयो । भद्रपुरकै ४ नम्बर केन्द्रमा रहेको प्राथमिक विद्यालयमा आधा कक्षामा भर्ना भएर पाँच कक्षासम्म पढेँ, ६ कक्षादेखि भद्रपुर माविमा पढेँ । सानोमा म दुब्लोपातलो थिएँ । कसैको बिगार नगर्ने तर अलिक चकचके बच्चा थिएँ । पाँच कक्षासम्म पढाइमा टप भए पनि ६ देखि सेलाउँदै गएँ । ठीकै खालको सामान्य विद्यार्थी । गाढा नीलो पाइन्ट वा हाफपाइन्ट, हल्का नीलो सर्ट अनि खुट्टामा हवाई चप्पल, हातमा किताबकापीको खात बोकेर स्कुल जान्थेँ । स्कुल पढ्दा मेरो खुट्टाले कहिल्यै जुत्ताको मुख हेर्न पाएन ।
सबै विषयमा सिपालु भए पनि हिसाबमा चाहिँ मलाई पनि धेरैलाई जस्तो दिमाग गलेर आउँथ्यो । हिसाब कमजोर भएकाले गृहस्थ अर्थशास्त्र लिएर पढेँ । तर, कस्तो अचम्म † त्यो विषय केटीहरूले मात्र लिएर पढ्थे ।
भोलिपल्ट एउटा मिल्ने साथीलाई पनि लेमनचुस
(चकलेट) ख्वाएर फकाइफुल्याइ गरी त्यही विषय लिन लगाएँ । दुई–चार दिन सित्तैमा मेरो लेमनचुस खाएपछि उसले त्यो कक्षा र विषय हापिदियो । के गर्नु, हिसाबमा कमजोर भएकाले म जुरेली केटीहरूको बीचमा टुप्पी भएको रुपीजस्तो एक्लो केटो त्यो कक्षामा पढ्थेँ ।
घरमै प्रेस भएकाले स्थानीय गाउँले पत्रकारहरू आइरहन्थे । काका–मामाहरूको संगतले पनि होला, स्कुले जीवनमा नाटक, हँस्यौली, वक्तृत्वकला र साहित्य गोष्ठीमा मेरो लगाब र झुकाब थियो । फुच्चा बेलामा बुच्चा नामक मान्छेको घरको मैदानमा हामी आफ्नो बेस्ट खेल गुच्चा खेल्थ्यौँ । कहिलेकाहीँ त्यो छुच्चा कुन्नि कताबाट हो फुत्त आएर हाम्रो गुच्चा सोरेर घर लान्थ्यो । साबुन पानीमा धोएर गुच्चा टल्काउँथ्यो । घरमा पुगेर गुच्चा लग्यो भन्दा बुबाको पिटाइ खाने डरले हामी लाटाझैँ त्यही बुच्चाका पसलमा गएर आफ्नै गुच्चा फेरि पैसा तिरेर हाफ दाममा किन्थ्यौँ ।
सानोमा मलाई अँध्यारोदेखि साह्रै डर लाग्थ्यो । एक दिन खेलेर फर्किंदा अँध्यारो भयो । आँधीबेहरी पनि आउन लागेको थियो । घरको छानाको टिन वा टायल उडाएर घरधनीलाई कायल र बटुवालाई घायल पनि बनाउँथ्यो । अँध्यारोमा एउटा मान्छे दायाँबायाँ, अघिपछि पल्याकपुलुक हेर्दै आफ्नो झोलामा केही टिप्दै हालिरहेको थियो । नजिक गएर हेर्छु त हामीलाई पढाउने सर धमाधम झोलामा अर्काले घर बनाउन थुपारेको सानोसानो रोडा पो हाल्दै हुनुहुन्थ्यो । मलाई देखेर कड्केर भन्नुभयो, ‘ए केटा, जा छिटो घर जा † अनि सुन्, मैले रोडा टिपेको कुरा कसैलाई नभन्नू, नत्र भोलि स्कुलमा तेरो कन्सिरी उखेल्छु बुझिस् ।’ मैले साहस गरेर सोधेँ– ‘सरले रोडा किन टिपेको त ?’ सरले झर्किंदै भन्नुभयो, ‘देख्दैनस् म कस्तो सन्ठीझैँ दुब्लो फुकीढल छु । हुरीले झट्का दिएर नहुत्याओस् भनेर आफूलाई गरुंगो पार्न झोलामा रोडा हालेको बुझिस्, तँ पनि दुब्लो छस्, झट्ट घर जा नत्र उड्लास् ।’ यति भन्दै उहाँ फेरि रोडा टिप्न लाग्नुभो । मचाहिँ छक्क परेर घरतिर लागेँ । बालकको मनमा कहाँ कुरा अड्थ्यो र ? भोलिपल्ट स्कुलमा मिल्ने साथीलाई सबैकुरा सुनाइदिएँ । एक कान दुई कान हुँदै मैदान भयो । सरले पनि चाल पाउनुभयो । कक्षामा पढाउन पस्दा सरले मतिर हेरेर भन्नुभयो– ‘रोडाको कुरा तैँ मोराले भनेको हैन, तलाईं सजाय पनि एउटा खुट्टामा उभिने दिन्छु ।’ मलाई वहाँले आफ्नो घन्टीभरि एक खुट्टाले उभ्याइरहनुभो । त्यो बेला गोडा फतक्क गले पनि पछि एउटा गोडाले समाउँदै अर्को गोडाले उफ्रिँदै कुमले हान्ने खेल कक फाइटमा म लम्बु सारै चम्बु भएर निस्केँ भाइबहिनी हो † यो त्यही एउटा खुट्टामा उभिने सजायको परिणाम थियो ।
अहिले पनि कुनै पुरस्कार समारोहमा उद्घोषक तथा सहभागी भएर जाँदा भुरा बेलाको त्यो कुरा सम्झेर खित्का छुट्छ, भाइबहिनी हो । नौ वर्षको थिएँ, फुच्चे कविहरूको प्रतियोगितामा मैले भाग लिएको थिएँ । मेरो कविता प्रथम भयो, पुरस्कारमा मैले न मेडल पाएँ न कप, न भकुण्डो पाएँ न कापी । आयोजकले मलाई पुरस्कार दिएको हो कि मेरा बुबालाई दिएको हो भन्ने मैले ठम्याउन सकिनँ । मेरो नाम बोलाएपछि म कलिलो फोक्सो फुलाउँदै र मनमनै रमाउँदै पुरस्कार थाप्न मञ्चमा गएँ र पुरस्कार थापेँ । म पत्रिका नपढ्ने बालकलाई एक वर्षको ‘सूर्योदय’ पत्रिका फ्रीमा दिइयो । अनि चिया वा तातोपानी नखाने बबुरालाई बडेमाको ढड्ढु थर्मस पुरस्कार दिएको देखेर म साह्रै नर्भस भएको थिएँ ।
हाम्रो घर बजारमा थियो । हाम्रो जग्गामा टहरा बनाएर थुप्रैले विभिन्न किसिमका पसल थापेका थिए । त्यहाँ ‘मामा मिष्ठान्न भण्डार’ पनि थियो । ऊ पूरै बजारकै मामा थियो । मामाले मलाई सधैँ एउटा पेडा फ्रीमा दिन्थे । सिनेमा हल पनि घरबाट नजिकै थियो । डेनीको ‘धुन्ध’ भन्ने फिल्मको एउटा दृश्य पचासौँपटक हेरेँ । गेटकिपरसँग मित्रता गाँसी घन्टौँ कुरेर पाँच मिनेटको त्यो दृश्य हेरेर मात्र घर फर्कन्थेँ । जति हेरे पनि मनै नअघाउने दृश्य आएपछि फुत्त थर्ड क्लासको भुँइमा बस्थ्यौँ । डेनीले ह्विलचेयरमा बसेर फनक्क घुमेर हातले यस्तो प्लेट फाल्थ्यो कि हामी झसंग हुन्थ्यौँ, कतै आफैँलाई त्यो प्लेटले हानेर बिताउने त हैन भनेर । हलमा तालीको पर्रा र सिटीको छर्रा नै बज्थ्यो । म पनि कस्तो भेडा केटा थिएँ भने आफूलाई सित्तैमा पेडा दिने मामा पसलको प्लेट डेनीले फालेझैँ बेन्चमा बसेर हुर्‍याइदिएँ । धन्य † त्यो प्लेट प्लास्टिकको परेछ, सरर्र उठेर पर गएर भुइँमा फ्यात्त झर्‍यो । खुरर्र कुदेर मामालाई प्लेट फर्काइ आफ्नो पेडा जोगाएँ, भाइबहिनी हो ।
भाइबहिनी हो, २०२९ सालमा १४ वर्षको उमेरमा मैले एसएलसी परीक्षा दिएँ । नेपालीमा फेल भएँ । पुन: २०३० सालमा जाँच दिएँ र उत्तीर्ण भएँ । यसरी मेरो स्कुले जीवन सदाका लागि समाप्त भयो ।
प्रस्तुति : अनुक्रमराज

प्रतिक्रिया