क्यासिनोका फाइल मन्त्रालयबाटै गायब

काठमाडौं, १७ भदौ । क्यासिनो सञ्चालनका लागि अनुमतिपत्र(लाइसेन्स) दिने पर्यटन मन्त्रालयअन्तर्गतको पर्यटन–उद्योग महाशाखाबाटै देशभर सञ्चालित क्यासिनोका फाइल एकैपटक गायब पारिएका छन् । फाइल नै गायब भएपछि एक वर्षदेखि काठमाडौंमा नवीकरण नगरी अवैध रूपमा क्यासिनो चलिरहेका छन् ।

भृकुटीमण्डपस्थित महाशाखाको कार्यालयबाट तत्कालीन पर्यटनमन्त्री लोकेन्द्र विष्टको पालामा क्यासिनोसम्बन्धी सबै फाइल मन्त्रालयमा झिकाइएका थिए । त्यसपछि ती फाइल न महाशाखामा फर्काइए न त मन्त्रालयमै छन् । पर्यटन–उद्योग महाशाखा र मन्त्रालय फाइल हराउनुमा एक अर्कालाई आरोप/प्रत्यारोप गरिरहेको छ ।

एमाले महासचिव ईश्वर पोखरेलले ‘क्यासिनोसम्बन्धी सबै फाइल हामीले एकपटक मन्त्रालयमा पठाएका थियौँ, त्यसपछि फिर्ता भएको जानकारी छैन । मैले बुझेअनुसार फाइल यहाँ छैनन्,’ पर्यटन–उद्योग महाशाखाका सह–सचिव मोहनकृष्ण सापकोटाले सौर्यसँग भने । क्यासिनोका सम्पूर्ण विवरण भएका फाइल पर्यटन मन्त्रालयको कानुन महाशाखामा हुनुपर्ने सापकोटाको अनुमान छ ।
तर, पर्यटन मन्त्रालयको कानुन महाशाखा भने फाइल आफूसित नभएको बताउँछ । ‘क्यासिनो दर्ता नै पर्यटन–उद्योग महाशाखामा हुन्छ, अनि तिनका फाइल यहाँ कहाँबाट आउँछन् र, उतै होलान्,’ कानुन महाशाखाका सह–सचिव रञ्जन अर्यालले भने । विगतमा एकपटक मन्त्रालय झिकाइएका फाइल पछि फिर्ता पठाइएको उनको दाबी छ ।
उद्योग महाशाखाका सह–सचिव सापकोटाले क्यासिनोका फाइल हुने आधिकारिक निकाय महाशाखा नै भए पनि अहिले फाइल कहाँ छन् भन्ने जानकारी आफूलाई नभएको बताए । ‘फाइल हुनुपर्ने निकाय त यही हो तर अहिले कहाँ छन् मलाई नै थाहा छैन,’ उनले भने ।
एकपटक फाइल गायब भए पनि कम्प्युटरमा रहेको केही विवरण हेरेर उद्योग महाशाखाले अर्को फाइल तयार गरेको थियो । तर, दोस्रोपटक पनि फाइल गायब पारिएका छन् । ‘एकपटक फाइल गायब भएपछि कम्प्युटरमा रहेका केही विवरण संकलन गरेर पुन: फाइल बनाइएको थियो । अहिले त्यो फाइल पनि कहाँ छ थाहा छैन,’ सहसचिव सापकोटाले भने ।
फाइल नै गायब भएपछि क्यासिनोले राजस्व तिरे/नतिरेको, कति बन्द भए, कति सञ्चालनमा छन्, त्यसको आधिकारिक विवरणसमेत महाशाखाले राख्न सकेको छैन । एक वर्षदेखि कुनै पनि क्यासिनो नवीकरणसमेत गरिएका छैनन् । नवीकरण नै नगरी अवैध ढंगले चलिरहेका क्यासिनोबारे सम्बन्धित निकायले चासो पनि देखाएको छैन ।
रिक्रिएसन सेन्टर खारेज गरेर सरकारले आर्थिक वर्ष ०६८/६९ देखि मुलुकभर सञ्चालित सबै क्यासिनोले प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने व्यवस्था गरेको थियो । तर, गत वर्षदेखि कुनै पनि क्यासिनो नवीकरण गरिएका छैनन् । ‘मुलुकका कुनै पनि क्यासिनो नवीकरण गर्नुपर्‍यो भनेर आएका छैनन्,’ सहसचिव सापकोटाले भने । नवीकरण नगरी सञ्चालित कुनै पनि क्यासिनो अवैध मानिने उनले बताए ।
सरकारले गत वर्षदेखि क्यासिनो सञ्चालनका लागि अनमतिपत्र दिनेसँगै नवीकरण गर्ने र क्यासिनोहरूबाट राजस्व उठाउने जिम्मा महाशाखालाई दिएको थियो । तर, क्यासिनोहरूले महाशाखामा न राजस्व तिरेका छन् न त नवीकरण नै गरेका छन् । केही क्यासिनोले भने राजस्व अनुसन्धान विभागमा राजस्व बुझाएका छन् ।
अहिले काठमाडौंमा सातवटा क्यासिनो चलिरहेका छन् । होटल अन्नपूर्णमा अन्ना क्यासिनो, होटल र्‍याडिसनमा क्यासिनो र्‍याड, याक एन्ड यतीमा रोयल क्यासिनो, होटल मल्लमा भेनस क्यासिनो, एभरेस्ट होटलमा क्यासिनो एभरेस्ट, सोल्टी होटलमा नेपाल क्यासिनो र सांग्रिला होटलमा क्यासिनो सांग्रिला चलिरहेका छन् ।

प्रतिक्रिया