उद्योगको प्रदूषणले बस्ती जोखिममा

वीरगन्ज, १७ भदौ । बारा लिपनीमालस्थित आधा दर्जन उद्योगका कारण आसपासका चार गाविसका करिब एक दर्जन गाउँका स्थानीय समस्यामा परेका छन् ।

लिपनीमाल–८ मा रहेका चाचान ग्रुपको त्रिशक्ति सिमेन्ट उद्योग, नारायणी आयल रिफाइनरी उद्योग, नारायणी दाल उद्योग तथा रुँगटा ग्रुपको ओम चावोसती मिल, दाना उद्योग, मैदा उद्योग तथा दुगड ग्रुपको अमृत घ्यू उद्योगका कारण सर्वसाधारण प्रदूषणमा बस्न बाध्य भएका हुन् । ती उद्योगबाट निस्कने धुवाँ, धुलो, छाई, प्रदूषित पानी र ध्वनि प्रदूषणका कारण पर्सा र बाराका एक दर्जन गाउँका झन्डै २० हजार स्थानीयको दैनिकी कष्टकर बनेको छ । उद्योगको प्रदूषणका कारण भवानीपुर, लिपनीमाल, लिपनी विर्ता र प्रसौनी गाविसका बालबालिकादेखि वृद्धवृद्धा आक्रान्त बनेका छन् ।
स्थानीयवासी सबैभन्दा बढी चाचान ग्रुपको सिमेन्ट, दाल र रिफाइनरी उद्योगको प्रदूषणबाट पीडित छन् । सिमेन्ट, रिफाइनरी र दाल उद्योगको चिम्नीबाट निस्कने कालो छाई, धुलो, धुवाँ र प्रदूषित पानीले स्थानीयको स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको छ । छाईका कारण आँखामा समस्या देखिएका १५ जना दिनहुँ केडिया आँखा अस्पतालमा उपचारका लागि पुग्ने गरेका छन् । केडिया आँखा अस्पतालका स्वास्थ्यकर्मी शंकरप्रसाद यादव भन्छन्, ‘दाल र सिमन्ट उद्योगबाट निस्कने छाईले आँखा बिगारेका १० देखि १५ जना स्थानीय उपचारका लागि अस्पतालमा आउने गर्छन् ।’
भवानीपुर सुखचैनास्थित गीता गजेन्द्र माविका अधिकांश विद्यार्थी आँखाको औषधि लिएर नै विद्यालयमा पढ्न जाने गरेका छन् । ‘हावा चलेको बेला त कक्षाकोठाका ढोका–झ्याल नै बन्द गर्नुपर्छ,’ कक्षा १० का छात्र सुनिल पटेलले भने, ‘ढोका झ्याल बन्द गरिएन भने जिउभरिकै कपडा कालो छाईले ढाक्छ ।’ उद्योगको छाई, धुवाँ र धुलोले दम, रक्तचाप र क्षयरोगका बिरामी पनि दिन प्रतिदिन बढ्दै गएका छन् । उद्योगले प्रदूषित पानी बिसर्जनको उचित व्यवस्थापन नगरेका कारण वर्षायाममा घरघरमै उद्योगको प्रदूषित पानी पस्ने गरेको स्थानीयको गुनासो छ ।
‘उद्योगबाट निस्कने प्रदूषित पानीले आफ्नै घर बाहिर–भित्र गर्न पनि गाह्रो हुन्छ,’ स्थानीय हरिहर साहले भने । प्रदूषित र दुर्गन्धित पानीका कारण घाउखटिराले सताउने गरेको उनीहरूको दुखेसो छ । यसका साथै हावामा मिसिएको मसिनो छाईले स्थानीयमा चर्मरोगको पनि उत्तिकै समस्या देखिएको छ । ‘उद्योगको ध्वनि प्रदूषणले गाउँका अधिकांशको श्रवणशक्ति नै कमजोर भएको छ,’ सुखचैनाका युवा दीपेन्द्र पटेलले भने, ‘कोहीकोही त कानै नसुन्ने अवस्थामा पुगेका छन् ।’
कारखानाबाट निस्कने कर्कश आवाजको टिभी हेर्न पनि समस्या परेको स्थानीयले बताए । चाचान ग्रुपले आफ्नो लाभका लागि गाउँलेको स्वास्थ्यमा गम्भीर खेलवाड गरेको उनीहरूले बताए । ‘दिउँसो हावा चलेका बेला छाईबाट बच्न घरभित्र पनि छाता ओढेर खाना खानुपर्ने अवस्था छ,’ स्थानीय युवा रमेश यादवले भने, ‘नत्र त खानाकै थालमा पूरै छाई पर्छ ।’ स्वच्छ वातावरणमा बाँच्न पाउनुपर्ने आफूहरूको अधिकार उद्योगहरूले खोसेको स्थानीयको भनाइ छ ।
उद्योगको प्रदूषित पानीका कारण स्थानीय किसानको खेतीपातीमा ठूलो नोक्सानी पुगेको छ । ‘उद्योगबाट निस्किएको रसायनयुक्त फोहर पानी खेतमै पस्छ,’ स्थानीय रामेश्वर पटेलले भने, ‘त्यो पानीले बाली नै पहेँलो बनाइदिन्छ ।’
चाचान ग्रुपका उद्योगको प्रदूषणविरुद्ध स्थानीवासी वातावरण तथा पर्यावरण संरक्षण समिति नै गठन गरेर तीन महिनादेखि आन्दोलनमा छन् । तर स्थानीयको गुनासो र दुखेसो अझैसम्म उद्योगले सुनेको छैन । बरु उल्टै प्रदूषणविरुद्ध उत्रिएका स्थानीयमाथि उद्योग व्यवस्थापनले प्रहरी र प्रशासनको आडमा दमन गर्दै आइरहेको छ । प्रदूषण नियन्त्रणको माग गर्दै स्थानीयले १६ असारमा चाचान ग्रुपका उद्योगअगाडि शान्तिपूर्ण प्रदर्शन गर्दा उद्योग व्यवस्थापनको आदेशमा प्रहरीले हस्तक्षेप गरेर लाठीचार्जका साथै गोली प्रहारसमेत गरेको थियो । प्रहरीले स्थानीयलाई लखेट्दै घरमै पसेर बालबालिका, महिला र वृद्धवृद्धालाई समेत निर्घात कुटेको समितिका अध्यक्ष दीपेन्द्र पटेलले बताए । १६ असारको प्रहरी दमनमा करिब ३० जना गाउँले घाइते भएका थिए ।
‘उद्योग परिसरमा प्रदर्शन गर्ने क्रममा प्रहरीले लाठीचार्ज गरेपछि भागेर गाउँमा गुहार माग्न पुगेका गाउँलेलाई प्रहरीले घरभित्रै पसेर नियन्त्रणमा लिई निर्ममतापूर्वक कुटपिट गर्‍यो,’ पटेल भन्छन्, ‘त्यसदिन प्रहरीबाट १७ राउन्ड हवाई फायर र दुई सेल अश्रुग्याससमेत प्रहार भएको थियो ।’
दोषी प्रहरीविरुद्ध कारबाहीको माग गर्दै समितिले १७ असारमा वीरगन्ज र कलैयामा जुलुस प्रदर्शन गर्दै पर्सा र बाराका सिडिओलाई ज्ञापनपत्र पनि बुझाए । उद्योगबाट निस्कने प्रदूषण नियन्त्रणका लागि सर्वोच्च अदालतले समेत उद्योग सञ्चालकलाई आदेश दिइसकेको छ । ‘अदालतको आदेश पनि टेरेको छैन,’ स्थानीय सरोज यादवले भने, ‘हामी स्वयंले पनि पटकपटक आग्रह गर्‍यौँ तर पनि टेरपुच्छर लगाएको छैन ।’
उद्योगको प्रदूषण अनुगमनका लागि बाराका सिडिओ कार्यालयका प्रशासकीय अधिकृत थमन थापाको नेतृत्वमा गठित अनुगमन समितिले पनि उद्योगको प्रदूषणले स्थानीयवासी पीडित भएको प्रतिवेदन सार्वजनिक गरिसकेको छ तर उद्योग व्यवस्थापनले त्यो प्रतिवेदनलाई बेवास्ता गर्दै आएको छ । प्रदूषणको विरोधमा समितिले ५ भदौदेखि दुई चरणको आन्दोलन गर्दै आएको छ ।
उनीहरूले २२ भदौबाट आन्दोलन चर्काएर राजमार्गमा दुई घन्टा चक्काजाम, त्रिशक्ति सिमेन्ट उद्योगका अगाडि ७२ घन्टे रिले अनशन बस्ने तयारी गरेका छन् । २७ भदौदेखि आमरण अनशनमा बस्ने योजना रहेको अध्यक्ष पटेलले बताए । उद्योग व्यवस्थापनले उद्योगले प्रदूषण नै नफैलाएको दाबी गरेको छ । उसले स्थानीयको नाममा केही सीमित व्यक्तिले आफ्नो निजी स्वार्थका लागि उद्योगलाई बदनाम गराउने षड्यन्त्र गरिरहेको दाबी गर्दै आएको छ । चाचान ग्रुपका अध्यक्ष बाबुलाल चाचानले बिहीबार वीरगन्जका करिब ५० पत्रकारलाई उद्योग परिसरमै बोलाएर पत्रकार सम्मेलनसमेत गरे । पत्रकार सम्मेलनमा उनले प्रदूषण नियन्त्रणका लागि उद्योग व्यवस्थापनले करोडाँै रुपियाँको उपकरण जडान गरेको बताए । ‘सिमेन्ट, दाल र रिफाइनरी उद्योगमा अत्याधुनिक प्रविधिका १७ वटा ब्याग फिल्टर करिब पाँच करोडको लागतमा जडान गरिएको छ,’ पत्रकार सम्मेलनमा चाचानले भने, ‘हामीले प्रदूषण नियन्त्रणका सबै मापदण्ड पूरा गरेका छौँ ।’ उनले उद्योगको प्रदूषणको बहानामा लगाइएको आरोप सबै मनगढन्ते भएको ठोकुवा गरे । अध्यक्ष चाचानले पत्रकार सम्मेलनकै क्रममा बिहीबार उद्योगमा उपस्थित पत्रकारलाई उद्योग परिसरको भ्रमण पनि गराएका थिए । भ्रमणमा सहभागी एक पत्रकारले सौर्यसँग भने, ‘हामीले उद्योग परिसरको अवलोकन गर्दा धुवाँ र धुलो निस्कने प्लान्ट सञ्चालनमा थिएन ।’ पत्रकार सम्मेलनमा सहभागी पत्रकारलाई अध्यक्ष चाचानले प्रदूषण फैलाउने नारायणी छाला उद्योगबाट उत्पादित मनिपर्स पनि बाँडेका थिए ।

प्रतिक्रिया