भाषा मासिनुमा राज्य जिम्मेवार

कर्णबहादुर बुढामगर भर्खरै प्रकाशित ‘ट्रिलिङ्गुअल डिक्सनरी अफ द मगर ल्यांग्वेज’ का  प्रधान सम्पादक हुन् । नेपाल मगर संघ, केन्द्रीय समितिका उपाध्यक्ष, नेपाल मगर लेखक संघ, केन्द्रीय समितिका अध्यक्षसमेत रहेका उनीसँग मगर भाषाको शब्दकोश र मगर साहित्यसँग  सम्बन्धित रहेर गरिएको कुराकानी–

मगर भाषाका शब्दलाई नेपाली र अंग्रेजीमा अनुवाद गर्दा कत्तिको अप्ठ्यारो बेहोर्नुपर्‍यो ?
पहिलो कुरो त अनुवाद लहडको विषय होइन । यो आफैँमा एउटा कला हो, अनुसिर्जना हो र द्वैभाषिक शब्दकोशको सन्दर्भमा विज्ञान पनि हो,  सांस्कृतिक शब्दहरूका अनुवाद गर्नु सबभन्दा कठिन पक्ष हो । मगर भाषाका अधिकांश शब्दहरू मगर संस्कृतिका भित्री तहसम्म गडेर रहेका छन् । यस्ता शब्दका नेपालीमा समानार्थी भेट्टाउन निकै गाह्रो छ । अंग्रेजीमा त झन् सम्भव नै छैन । जस्तै– मगरमा (ठूलो मामा) लाई बागे भनिन्छ । नेपालीमा यसका लागि (मामा) मा ठूलो विशेषण जोड्नुपर्ने हुन्छ, अंग्रेजीमा त (काका, ठूलो बुबा, सानो बुबा, मामा, ठूलो मामा) सबैलाई अंकल नै भनिने भएकाले (बागे) शब्दको अर्थ सम्प्रेषण हुने त सम्भावना नै रहेन, यस्ता अनेकौँ शब्द छन् जसको नेपाली र अंग्रेजीमा सिधै अनुवाद हुन सक्दैन । प्रा.डा. गोविन्दराज भट्टराई र बलराम अधिकारीजस्ता बौद्धिकहरूको सहयोगमा यो सबै सम्भव भयो ।
शब्दकोश (ट्राइलिङ्गुअल डिक्सनरी अफ द मगर ल्यांग्वेज ‘अठार मगरात’) बौद्धिक जगतमा ठूलो चर्चा र परिचर्चाको विषय बनेको छ, नि !
यो शब्दकोश निर्माणमा अहिलेसम्मका प्रचलित पद्धतिहरूलाई पछयाउँदै नवीन प्रयोगहरू पनि थपिएका छन् । यस शब्दकोशले बलराम अधिकारीको अनुवादसम्बन्धी  अवधारणा (सांस्कृतिक अनुभूतिका तीन क्षेत्रहरू ‘कोर, पेरिफेरल र आउटर कल्चरल जोन’)लाई आफ्नो सैद्धान्तिक आधार बनाएको छ, त्यसैगरी मगरभाषी स्रोतव्यक्ति, प्रधानसम्पादक, सम्पादक र परियोजना सुपरीवेक्षकबीचको तीन वर्षभन्दा बढीको निरन्तर अन्तक्र्रियापश्चात् कोशले यो रूप पाएको हो । यसमा अठार मगरातभित्रका सम्भव भएसम्मका सबै भाषिक भेदलाई समेट्ने प्रयास गरिएको छ । पर्यायवाची शब्दहरूलाई स्रोतनिर्देश (क्रस रिफरेन्स)ले संकेत गरिएको छ । त्यसैले यसले बौद्धिक चर्चा पाएको हुन सक्छ ।
मगर भाषा कत्तिको सजिलो र व्यावहारिक भाषा हो ?
यस भाषाको पाँचवटा वर्ण मात्र नेपालीभन्दा पृथक छन् । त्यसैले पनि नेपालीभाषीका लागि यो कठिन भाषा नहोला । नेपालीमा एकै शब्दमा व्यक्त हुन नसक्ने कतिपय अवधारणाहरू मगरभाषामा सहजै व्यक्त गर्न सकिन्छ, त्यसैले यो भाषाको शाब्दिक समृद्धिलाई पहिचान गरी विचार विनिमय गर्ने व्यावहारिक माध्यमका रूपमा उपयोग गर्न सकिन्छ भन्ने लाग्दछ ।
मगर भाषाको उत्पत्तिदेखि अहिलेसम्मको विकासका बारेमा संक्षिप्त जानकारी गराइदिनुस् न †
– मेरो भाषिक आन्दोलनको डेढ दशक लामो अनुभवका आधारमा भन्नुपर्दा नेपाली भाषालाई खसकुरा भनिने समयमा भोटबर्मेली भाषिक परिवारका सबै भाषालाई लघुताभास हुने गरी (खाम) भाषा भन्न थालियो । सोहीअनुसार जनजातिहरूले पनि खामलाई भाषा शब्दको शाब्दिक अनुवादका रूपमा लिन थाले । फलस्वरूप थकालीले थकाली खाम (थकाली भाषा), थामीले थामी खाम (थामी भाषा) आदि । तर, अपवादका रूपमा अठार मगरात क्षेत्रमा बोलिने यस मगर भाषालाई खाम भाषा भनेर अनौठो नाम दिइयो । यसको श्रेय भाषाविद् डेभिड वाटर्स र उनका निकटतम सहयोगीहरूलाई जान्छ । उनीहरूका लागि अठार मगरातका मगरहरू (खाम जाति) र उनीहरूले बोल्ने भाषा (खाम भाषा) हो । यस्तो अपव्याख्याको उदाहरणका लागि डेभिडको ‘ग्रामर अफ खाम’ हेर्न सकिन्छ । मगर भाषाका बारेमा भएका यस्ता गलत व्याख्या र अफवाहका कारण यस भाषाको पाठयक्रम रोकिनुका साथै भाषिक उत्थानका थुप्रै कार्यहरू धेरै वर्षसम्म पछाडि धकेलिन पुग्यो । मगरहरूका साझा छाता संगठन नेपाल मगर संघको नवौं महाधिवेशनदेखि गलत गतिविधिहरूलाई नियन्त्रण गर्ने नीति लिएपछि पाठयक्रम निर्माणका कामलगायतका कार्य अगाडि बढ्न थालेका छन् ।
नेपाली भाषाका कारण देशभित्रका अन्य भाषा तथा भाषिका मासियो भन्ने भनाइ एकातिर छ । भाषा विज्ञानको सिद्धान्तअनुसार, यस्ता कुरामा कत्तिको सत्यता छ ?
एउटा भाषाले अर्कोलाई मास्यो भन्ने आरोप प्रत्यारोप भन्दा पनि राज्यको नीतिलाई केलाउनु उचित हुन्छ । प्रशासनिक भाषाको रूपमा नेपाली भाषाले मात्र मान्यता पाएकाले सो भाषा उठयो, अन्य भाषा किनाराकृत हुँदै गए । त्यसैले ती भाषा मासिनुमा राज्यको संकीर्ण नीति नै पहिलो कारण हो । भाषा मासिनुको अर्को कारण मगर समुदायमा जागरण नआउनु, पढेलेखेका मगरहरूले मातृभाषामा कलम नचलाउनु, धन भएका मगरहरूले पनि यस भाषा र संस्कृतिको उत्थानका लागि खर्च नगरी पिउने, गाउनेजस्ता मनोरञ्जनात्मक कुरामा जोड दिई जैविक जीवनमा मात्र विश्वास राख्नु आदि कारण पनि उत्तिकै जिम्मेवार छन् ।
साहित्यको दृष्टिले नेपालका अन्य भाषाको तुलनामा मगर भाषाको स्थान कहाँनिर छ ?
यस समुदायभित्र मौखिक साहित्यको अथाह भण्डार भए पनि यो भाषा भर्खरै मात्र लेख्यपद्धतिको प्रारम्भिक चरणमा रहेकाले लिखित साहित्यको खासै विकास हुन सकेको छैन ।
लोपोन्मुख मगर भाषालाई जोगाउन के कस्ता काम गर्नुपर्ला ?
पहिलो कुरो त राज्यले विद्यमान सबै भाषाभाषी र विविध संस्कृतिहरू राज्यकै सम्पदा हुन् भन्ने उदारता देखाउन सक्नुपर्छ । राष्ट्र सबैको भएकाले राष्ट्रले पनि सबैमा समदृष्टि राख्न सक्नुपर्छ । कुनै भाषा र संस्कृति मासियो भने एउटा सम्पदा खेर गयो भन्ने ठान्नुपर्छ । सोहीअनुसार सबै भाषाभाषीलाई राज्य र स्थानविशेषमा सरकारी कामकाजी भाषाका रूपमा अनिवार्य व्यवस्था गरिनुपर्छ । राज्य आफैँभित्रका मौलिक विविधतादेखि तर्सिने होइन, बरु संसार निल्न लागेको पश्चिमा प्रभुत्ववादी भाषा र संस्कृतिदेखि सजग रहनुपर्दछ । त्यस्तैगरी सम्बन्धित समुदायको सचेतना र पहल अर्को महत्त्वपूर्ण पाटो हो ।

प्रतिक्रिया