वाम इतिहासको सार्थक प्राप्ति

जीवराज आश्रित नेपाली वामपन्थी आन्दोलनमा त्यस्ता पात्र हुन्, जो सधैँ नेपथ्यमा रहे, आजीवन प्रभावशाली काम गरिरहे । उनी कुशल वक्ता (पब्लिक ओरेटर) थिएनन्, त्यसकारण हुन सक्छ, उनले सुन्दर भू–राजनीतिक अवस्थिति भएर पनि विकास र प्रविधिले व्यापक ठगिएको यस हिमाली मुलुकमा कहिल्यै त्यो स्थान र सम्मान पाएनन् जसका उनी सच्चा हकदार थिए । नेपालका सर्वाधिक रहस्यमय दुर्घटनामध्ये पनि प्रमुख मानिने ३ जेठ ०५० को हृदयविदारक ‘दासढुंगा जिप दुर्घटना’मा अर्का प्रभावशाली नेता मदनकुमार भण्डारीसँगै अकाल जीवन विसर्जन गर्न पुगेका आश्रित त्यो दुर्घटना नभएर बाँचिरहेका भए अहिले ६९ वर्षका हुने थिए र सायद वामपन्थी आन्दोलनले नयाँ उचाइ छुन सक्थ्यो, किनभने उनलाई चिन्ने, सँगै काम गरेर हाल अलग पार्टीमा रहेकाहरूसमेत सबैको एउटा मत छ– आश्रितको पार्टी निष्ठा अद्वितीय थियो, उनी कुशल संगठक थिए र खासगरी पार्टीभित्रको अन्तरविरोध सञ्चालन गर्ने उनको शैली अत्यन्त भरपर्दो एवं प्रभावशाली थियो । उनी सरल, कम खुल्ने स्वभावका र अनुकरणीय हदसम्म व्यावहारिक, अनुशासनप्रिय, अध्ययनशील, पदलोलुपता नभएका, निष्कलंकित, दृढनिश्चयी थिए ।
गुल्मी चन्द्रकोटको हरेवामा १८ साउन ००१ मा जन्मेका आश्रित दासढुंगा दुर्घटनाको समयसम्म नेकपा एमालेको स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख थिए । तत्कालीन महासचिव मदन भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ का पनि उनी एक प्रखर व्याख्याता थिए ।
खासमा, आश्रित र मदन भण्डारी दुवैको सँगसँगै दासढुंगामा जीवनयात्रा समाप्त भएको भए पनि भण्डारीको तुलनामा आश्रितलाई पार्टीले विभेद गर्‍यो वा कम महत्त्व र मान्यता दियो भन्ने गुनासाका स्वर पटकपटक सुनिने गरेकै हुन् । प्रमाणका रूपमा पार्टी कार्यालयको प्रांगणमा भण्डारीको मात्रै सालिक बनाइनु, पार्टीद्वारा प्रकाशित श्रद्धाञ्जली पुस्तिकाको आवरणमा मदनको तस्बिर मात्र दिएर इन्सेटमा आश्रितको तस्बिर दिइनु, मदन भण्डारी स्पोटर््स प्रतिष्ठान गठन आदि अनेक छन् ।
आश्रितको प्रसंगमा त्यस्तो विशेष केही नदेखिएको सन्दर्भमा उनको असामयिक निधन भएको १९ वर्षपछि बुटवल–९ मा स्थापित ‘जीवराज आश्रित स्मृति प्रतिष्ठान नेपाल’ ले गत साउन ०६९ मा ‘जीवराज आश्रित स्मृतिग्रन्थ’ प्रकाशनमा ल्याएको छ । जम्मा ७ सय २० पृष्ठ लामो ग्रन्थमा २७ महिलासहित एक सय ५० जनाको संस्मरण र आश्रितको जीवनका झलक दिने ऐतिहासिक तस्बिर समेटिएका छन् । झलनाथ खनाल, वामदेव गौतम, माधवकुमार नेपाल, केपी ओली, अशोक राई, ईश्वर पोखरेल, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्यलगायतलाई समेटेर तयार पारी ६ खण्डमा विभाजित यस ग्रन्थमा आश्रितको जीवन परिचय, कार्यकर्ता र समकालीन नेताहरूको दृष्टिमा आश्रित, भिन्न पार्टी र समाजसेवीहरूका दृष्टिमा आश्रित, आफन्तहरूका दृष्टिमा आश्रित आदि संस्मरण, चित्र एवं अभिलेख छन् । पुस्तकमा आश्रितको जीवनका विभिन्न पाटा– पारिवारिक, पेसागत र अन्तत: केन्द्रीय तहको पूर्णकालीन राजनीतिकर्मीबारेका विचार र
सहकर्मी नेताका अनुभवजन्य संस्मरण नै लेखको सार बनेको देखिन्छ ।
मुक्तिमोर्चा समूहलाई (को–अर्डिनेसन कमिटी)मा लगी पार्टी एकीकरण गर्दा, त्यसपछि बनेको माले र माले (माक्र्सवादी) हुँदै बनेको एमाले पार्टीसम्म आश्रित सधँै ०५० सम्मै नेतृत्वदायी पदमा रहे । त्यसकारण आश्रितको मात्र नभएर यो स्मृतिग्रन्थ नेपाली कम्युनिस्ट आन्दोलनको ०२५ देखि ०५० सम्मको पार्टी इतिहासको अनमोल प्रमाणिक दस्ताबेज पनि बन्न पुगेको छ । त्यसो त संस्थागत २५ सय र व्यक्तिगत एक हजार रुपियाँ मूल्य राखिएको प्रस्तुत ग्रन्थले व्यक्ति तथा पार्टी नेताका रूपमा आश्रितलाई सांगोपांग बुझ्न र चिन्न राम्रै सहयोग गर्छ तर धेरै लेखकलाई समेट्दा र सम्भवत: खासखास पक्षमा लेख्नुपर्ने दायरा नछुट्टयाइएको हुँदा अनेक प्रसंग दोहोरिएका छन् भने कतिपय त केवल औपचारिक र स्तरहीनसमेत छन् ।
समग्रमा, कतिपय कमीकमजोरी रहे पनि, जीवराज आश्रित स्मृतिग्रन्थको प्रकाशनलाई आफैँमा एक उल्लेखनीय उपलब्धि र नेपालको वामराजनीतिक इतिहासको एक सार्थक प्राप्ति भने मान्नुपर्छ किनभने यसले अहिलेको नेकपा (एमाले)को जग राख्न र त्यसलाई बलियो बनाउन आफ्नो पसिना, श्रम र जीवन नै अर्पेका एक योद्धाको इतिहासलाई अभिलेखमा सुरक्षित गर्ने काम गरेको छ । अहिले एमाले पार्टी र यसका जनवर्गीय संगठन वरिपरि लाखौँ कार्यकर्ता गोलबन्द छन्, जसले आश्रितजस्ता नेतालाई प्रत्यक्ष देख्न भेट्न र चिन्न पाएनन्, उनीहरूका लागि यो ग्रन्थ एउटा यस्तो ठूलो उपहार हुन सक्छ जसले दु:खमा नआत्तिई र सुखमा नमात्तिई निरन्तर खटिरहने प्रेरणा पनि सबैलाई दिइरहन सक्छ ।

प्रतिक्रिया