असंलग्न आन्दोलनका सिद्धान्त नै मार्गदर्शक : प्रम

काठमाडौं, १६ भदौ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले असंलग्न आन्दोलनका सिद्धान्तलाई नेपालले संविधानको मार्गनिर्देशक सिद्धान्त मानेको बताएका छन् । असंलग्न आन्दोलनका सिद्धान्त सम्पूर्ण मानव समुदायका लागि आशा, प्रगति र समृद्धिको प्रकाशपुञ्ज रहेको उनको भनाइ छ ।
इरानको राजधानी तेहरानमा भएको असंलग्न आन्दोलनको १६औँ शिखर सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री डा. भट्टराईले असंलग्न आन्दोलनलाई परिवर्तित समय सुहाउँदो रूपमा पुन: शक्ति दिनुपर्ने बताए । ‘असंलग्न आन्दोलनलाई परिवर्तित समय सुहाउँदो रूपमा पुन: शक्ति दिन हामीले एकताबद्ध र संगठित प्रयासलाई बुझ्नु आवश्यक छ,’ उनले भने, ‘जसलाई विगतमा उपनिवेशवाद, साम्राज्यवाद, जातीय भेद, रंगभेद र अरू थुप्रै कुरीतिलाई तोड्न उपयोग गरिएको थियो ।’ प्रधानमन्त्री डा. भट्टराईले विश्वलाई व्यापक असमानता, एकाधिकारवाद, चर्कंदो द्वन्द्व तथा हुने र नहुनेबीचको विभाजनले गाँजेको बताए । उनले वित्तीय तथा आर्थिक संकट, खाद्य तथा ऊर्जा संकट, वातावरण परिवर्तनजस्ता विद्यमान एवं पैदा हुँदै गरेका चुनौतीले सम्भावनाका ढोकालाई विश्वव्यापी बनाएको बताए । भने, ‘कुनै दिगो समाधान खोज्न विश्वव्यापी प्रयासको खाँचोलाई औँल्याएको छ ।’
प्रधानमन्त्री डा. भट्टराईले असंलग्न आन्दोलन शान्ति, न्याय र समानताको उद्देश्य हासिल गर्न खडा गरिएको उल्लेख गर्दै लक्ष्य प्राप्तिमा थप जोस र ऊर्जासहित अरू अग्रसर हुनु जरुरी रहेको बताए । ‘असंलग्न आन्दोलन उत्पीडित, शोषित, औपनिवेशिक राष्ट्रहरूको आशाको केन्द्रबिन्दु बनेको थियो र अद्यापि यो विश्वका ओझेलमा पारिएका र उत्पीडित अर्बौं जनताको आशा बन्दै आइरहेको छ,’ उनले भने, ‘असंलग्न आन्दोलन शान्ति, न्याय र समानताको उद्देश्य हासिल गर्न खडा गरिएको थियो र यो लक्ष्य प्राप्तिमा थप जोस र ऊर्जासहित अरू अग्रसर हुनु जरुरी छ ।’ उनले अन्यायसँग जुझ्नुपर्ने स्थिति आए असंलग्न आन्दोलन सदैव तटस्थ बन्न नहुने बताए । ‘त्यसकारण यो आन्दोलन आवाज उठाएरै अगाडि आउनुपर्छ र दमन, अतिक्रमण, धम्की र अन्यायविरुद्ध कदम उठाइनुपर्छ,’ उनले भने । उनले सम्बोधनका क्रममा स्वतन्त्र राष्ट्रका लागि संघर्षरत प्यालेस्टिनी जनताको आत्मनिर्णयको अधिकारप्रति समर्थन जनाए । सिरियामा चर्किरहेको हिंसाको अन्त्य र अहिलेको संकटको शान्तिपूर्ण समाधान त्यहीँकै जनताको चाहनाअनुसार हुनुपर्नेमा पनि उनको जोड थियो ।
प्रधानमन्त्री डा. भट्टराईले असंलग्न आन्दोलनको प्रादुर्भावपछिको पाँच दशकमा विश्वमा ठूलो परिवर्तन आएको उल्लेख गर्दै साझा समृद्धि हासिल गर्न नेपाल यस आन्दोलनका अन्य सदस्यसँग दृढतापूर्वक उभिने बताए । भने, ‘दोहा डेभलपमेन्ट एजेन्डाको प्रक्रिया अवरुद्ध हुँदा यस आन्दोलनका निर्धन सदस्य राष्ट्रको अर्थतन्त्र विश्वभर फैलाउने अवसर साँघुरो बनेको छ । यो प्रक्रियालाई शीघ्रातिशीघ्र पूरा गरेर विकासको प्रतिफल अल्पविकसित राष्ट्रहरूसमक्ष पुर्‍याउन सक्नुपर्छ । नेपाल खुला, विधिसम्मत, समान, विभेदरहित व्यापारिक, वित्तीय तथा मौद्रिक पद्धतिको पक्षमा छ ।’ प्रधानमन्त्रीले १५औँ शिखर सम्मेलनदेखि तीन वर्षसम्म असंलग्न आन्दोलनलाई कुशल नेतृत्व र निर्देशन प्रदान गर्दै आएकोमा अरब गणतन्त्र इजिप्टको सरकारलाई विशेष धन्यवाद दिए ।
इरानी राष्ट्रपतिद्वारा रात्रिभोज
शिखर सम्मेलनमा भाग लिन तेहरान पुगेका सरकार प्रमुख तथा राष्ट्रप्रमुखहरूको सम्मानमा इरानी राष्ट्रपति मोहम्मद अहमदिनेजादले बिहीबार राति आयोजना गरेको रात्रिभोजमा प्रधानमन्त्री डा. भट्टराईलगायत सहभागी भए । रात्रिभोजमा नेपालबाट प्रधानमन्त्रीका साथ उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रसचिव दुर्गाप्रसाद भट्टराई र शिष्टाचार महापाल डा. निरञ्जनमानसिंह बस्नेत सहभागी थिए । तेहरानको पर्सियन गल्फ हलमा करिब चार घन्टा चलेको रात्रिभोजमा परम्परागत इरानी कला र नृत्य प्रस्तुत गरिएको थियो ।

भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता
काठमाडौं : प्रधानमन्त्री डा. बाबुराम भट्टराई र भारतीय समकक्षी डा. मनमोहन सिंहबीच बिहीबार भेटवार्ता भएको छ । सम्मेलनस्थलकै लबीमा एक घन्टाभन्दा बढी समय भएको भेटवार्तामा नेपालको पछिल्लो राजनीतिक स्थिति र राजनीतिक दलहरूबीच भइरहेको सहमतिको प्रयासबारे कुराकानी भएको थियो ।
भारतीय प्रधानमन्त्री डा. सिंहले पछिल्लो राजनीतिक घटनाक्रमप्रति चासो राख्दै राजनीतिक संकटको समाधान दलहरूको सहमतिमै निस्कने विश्वास व्यक्त गरे । ‘राजनीतिक संकट समाधानका लागि नेपालका राजनीतिक दलहरू नै सक्षम छन्, दलहरूबीचको सहमति नै प्रमुख विषय हो,’ सिंहले भनेका थिए । प्रधानमन्त्री डा. भट्टराईले दलहरूबीच सहमतिको प्रयास भइरहेको र संविधानसभाबाटै संविधान निर्माण गर्नुपर्छ भन्नेमा सबै दल प्रतिबद्ध रहेको बताएका थिए । प्रधानमन्त्री डा. भट्टराईले भारतले नेपाललाई दिने भनिएको दुई सय मेगावाट विद्युत् पूर्णरूपमा उपलब्ध गराउन र प्रसारण लाइनको समस्या भएका स्थानमा त्यसको व्यवस्था गर्ने वातावरण मिलाइदिनसमेत आग्रह गरे । जवाफमा भारतीय प्रधानमन्त्री डा. सिंहले विगतका सहमतिअनुसार नै नेपाललाई दुई सय मेगावाट विद्युत् उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
भारतीय समकक्षी डा. सिंहसँग ‘वान टु वान’ भएको भेटमा प्रधानमन्त्री डा. भट्टराईले नेपालको आर्थिक समृद्धिमा सहयोग गर्न र नेपालमा लगानी बढाउनका लागि आग्रहसमेत गरेका थिए । दोहोरो आर्थिक वृद्धिको लक्ष्य हासिल नगर्दासम्म जनताको जीवनस्तर उठ्न नसक्ने भएकाले यसतर्फ नेपाल सरकार लागेको र त्यसमा सहयोग गर्न भारत सरकारलाई प्रधानमन्त्रीले आग्रह गरेका थिए । भारतीय प्रधानमन्त्रीले नेपालको आग्रहअनुसार नै आफूहरू सहयोग गर्न तयार रहेको उल्लेख गर्दै नेपाललाई विशेष सहयोग गर्ने वचन दिए । नेपाल सहयोगसूचीमा अग्रस्थानमा रहेको उनको भनाइ थियो ।
यसअघि प्रधानमन्त्री डा. भट्टराईले संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनसँग भेटवार्ता गरेका थिए । त्यसैगरी, क्युवाका उपराष्ट्रपति जोसे आर माचोडा भेन्चुरासँग पनि प्रधानमन्त्रीको भेट भएको थियो । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले इरान र बोलिभियाका आफ्ना समकक्षी क्रमश: अली अकबर सालेही र डाभिडा चोकेहन्ससँग द्विपक्षीय भेटवार्ता गरेका थिए । (सौस)

प्रतिक्रिया