छानबिन टोली वर्कसपमा

काठमाडौं : चीनको हुवेई सनलाइट इलेक्ट्रिक कम्पनीमार्फत आयात गरिएका ट्रान्सफर्मर गुणस्तरहीन भेटिएपछि त्यसबारे थप अनुसन्धानका लागि नेपाल विद्युत् प्राधिकरणको टोली शुक्रबार लैनचौरस्थित वर्कसपमा पुगेको छ ।
छानबिन उपसमिति संयोजक मोहनराज पन्त र प्राधिकरणका सदस्यसचिव हितेन्द्र शाक्यसहितको टोलीले शुक्रबार वर्कसपमा पुगेर नयाँ ट्रान्सफर्मरबारे जानकारी लिएको हो । यसअघि नै प्राधिकरण सञ्चालक समितिका सदस्य डा. केपी दुलालको संयोजकत्वमा रहेको छानबिन उपसमितिले अधिकांश ट्रान्सफर्मर गुणस्तरहीन भएको पत्ता लगाएको थियो । त्यसमा कर्मचारीको संलग्नताका रहेको आशंकापछि थप अनुसन्धानका लागि सञ्चालक समितिकै अर्का सदस्य पन्तको संयोजकत्वमा अर्को उपसमिति गठन गरिएको छ ।
करिब १६ करोडमा टेन्डरमा दिइएको ट्रान्सफर्मरमा तामा प्रयोग गर्नुपर्ने भए पनि भित्र आल्मुनियम हालेर बदमासी गरेको भेटिएको थियो । नयाँ ट्रान्सफर्मर बिहीबार परीक्षणका लागि वर्कसपमा ल्याइएपछि त्यसमा पनि बदमासी भएको भेटिएको समाचार शुक्रबारको सौर्यमा प्रकाशन भएको थियो । पन्तले बाहिर तामा र भित्र आल्मुनियम रहेको पाइएको र यसबारे विस्तृत छानबिन भइरहेको बताए । ‘छानबिन अन्तिम चरणमा पुगेको छ, दोषीलाई कारबाही हुन्छ,’ उनले भने ।
प्राधिकरणका अनुसार प्राधिकरण ग्राहक तथा वितरण पूर्व शाखाले १६ करोड रुपियाँमा तामाको ५० देखि २ सय केभीसम्मका ७ सय ३५ वटा ट्रान्सफर्मर आयात गरेको थियो । सिन्धुपाल्चोकमा बिग्रेर ल्याएपछि मात्र बाहिर तामा र भित्र आल्मुनियम हालेर कम्पनीले बदमासी गरेको भेटिएको थियो । कर्मचारीले कमिसनको लोभमा गुणस्तरहीन ट्रान्सफर्मर ल्याएको आशंका गरिएको छ ।
वर्कसपका प्राविधिकका अनुसार आल्मुनियम प्रयोग गरिएको ट्रान्सफर्मर चाँडै बिग्रने, फुल लोड नधान्ने, चुहावट बढी हुने, एकपटक बिग्रेपछि मर्मत गर्न नसकिने, आयु कम हुनेलगायत समस्या हुन्छन् । तामाको ट्रान्सफर्मर भने पुन: मर्मत गर्न सकिन्छ । मूल्यका हिसाबले समेत आल्मुनियमको भन्दा तामाको ट्रान्सफर्मर पाँच गुणा बढी पर्छ । (सौस)

प्रतिक्रिया