विद्यार्थीबीच चेतनामूलक नाटक

काठमाडौं : रोजन र रोहित एकआपसमा एकदमै मिल्छन् । एउटै स्कुलमा पढ्छन् । उनीहरूको दोस्ती पूरै स्कुलमा उदाहरणीय मानिन्छ । तर, यही परिदृश्यमा अर्को पात्र प्रस्तुत हुन्छ– हिमाल । जसको स्वभाव राम्रो छैन । धुम्रपान गर्छ । यो पात्रको प्रवेशसँगै रोजन र रोहितको दोस्तीमा फाटो आउन थाल्छ । हिमालसँगको कुसंगतले रोजन पनि धुम्रपानको लत सुरु गर्छ । रोहितलाई रोजनको यो बानी पटक्कै मन पर्दैन । यही कुरामा विवाद लम्बिँदै जाँदा यी मिल्ने साथीबीच बोलचालसमेत बन्द हुन्छ । तर, रोहितले कुलतलाई कहिल्यै अँगाल्दैन । पढाइमै ध्यान दिइरहन्छ । यही बानीका कारण ऊ एसएलसीमा विशिष्ट श्रेणी ल्याएर स्कुल टप गर्न सफल हुन्छ । उता, धुम्रपानको कुलतमा फसेको रोजन यतिबेला ड्रगिस्टका रूपमा बदनाम भइरहेको हुन्छ । पुन:स्थापना केन्द्रमा पुर्‍याइन्छ । यतिबेला उसलाई खराब साथीको लहलहैमा लागेकामा ठूलो पछुतो लागिरहेको हुन्छ ।
प्रसंग हो नाटक ‘सानो गल्ती’ को । चेतनामूलक नाट्य–
संस्था अचेलद्वारा राजधानीको कुमारीगालस्थित आकाशगंगा इन्टरनेसनलमा बिहीबार आयोजित यस नाटकमार्फत विद्यार्थीले मनोरञ्जन मात्र होइन, चेतना पनि सँगाले । उनीहरूलाई साथ दिन सिद्धार्थ हाइस्कुलका विद्यार्थी पनि आइपुगेका थिए । अजित अर्यालको परिकल्पना तथा निर्देशनमा तयार नाटकले सानो देखिने गल्तीबाट भविष्यमा ठूलो सजाय पनि निम्तिन सक्ने सन्देश प्रवाह गरेको छ ।
‘स्टेजमा शिक्षितलाई देखाउनुभन्दा फिल्डमा गएर सम्बन्धित व्यक्तिलाई नाटक देखाउनु धेरै प्रभावकारी हुन्छ भन्ने लागेकाले हामी विद्यार्थीमाँझ आएका हौँ’, निर्देशक अजितले भने ।  अनिशा राई, अजय यादव, नवराज खड्का, सकुना बूढाथोकी, सनम प्याकुरेल, मन्दिया खत्री, प्रज्वल पोखरेल, मनोज खड्का, बिजेन शाह लगायतको यसमा अभिनित
गरेका छन् । (सौस)

प्रतिक्रिया