कसाबलाई छिट्टै मृत्युदण्ड माग

नयाँदिल्ली : मुम्बई हमलाका एक मात्र जीवित दोषी मोहम्मद कसाबलाई चाँडै मृत्युदण्ड दिन हमलामा परी ज्यान गुमाएका मानिसका आफन्तले माग गरेका छन् । सन् २००८ मा भारतको मुम्बई सहरमा रहेको होटलमा भएको आक्रमणमा परी कम्तीमा १ सय ६६ जनाको ज्यान गएको थियो । होटलमा आक्रमण गर्ने १० मध्ये जीवितै पक्राउ परेका एक मात्र व्यक्ति कसाब हुन् ।
मुम्बई आक्रमणमा एक सय ६६ जना व्यक्तिको हत्या गराउने दोषी किटान गर्दै यसअघि उनीविरुद्ध सुनाइएको मृत्युदण्डको सजायलाई भारतीय सर्वोच्च अदालतले बुधबार सदर गरेको थियो । पाकिस्तानमा जन्मिएका कसाबले आफूले निष्पक्ष सुनुवाइको मौका नपाएको भनी गरेको दाबीसहितको पुनरावेदनलाई सर्वोच्च अदालतले अस्वीकार गरेको थियो ।
हमलामा मारिएका एकजना ट्याक्सीचालककी श्रीमती माउमिना खातुनले भनिन्, ‘त्यस्तो व्यक्तिलाई यथाशक्य छिटो मृत्युदण्ड दिइनुपर्छ । सरकारले त्यस्ता हत्यारालाई अहिलेसम्म किन जीवितै राखेको हो ?’ (एएफपी)

प्रतिक्रिया