बाहिर तामा, भित्र आल्मुनियम

काठमाडौं, १५ भदौ । एक वर्षअघि नेपाल विद्युत् प्राधिकरणबाट ट्रान्सफर्मरका लागि टेन्डर पारेको एक चिनियाँ कम्पनीले चरम अनियमितता गरेको खुलासा भएको छ । चीनबाट ल्याइएका ट्रान्सफर्मरमा बाहिर तामा देखाएर भित्र आल्मुनियम लगाइएको भेटिएका छन् ।
चीनको हुवेई सनलाइट इलेक्ट्रिक कम्पनीले करिब १६ करोड रुपियाँको टेन्डरमा बदमासी गरेको हो । टेन्डरअनुसार ट्रान्सफर्मरमा तामाको सामान प्रयोग गर्नुपर्ने थियो । तामाभन्दा आल्मुनियम कैयौँ गुणा सस्तो र कमसल हुन्छ । चीनबाट ल्याइएका ट्रान्सफर्मर सिन्धुपाल्चोकमा बिग्रिएर लैनचौरस्थित प्राधिकरणको वर्कसपमा ल्याएपछि यस्तो खुलासा भएको हो ।
बिहीबार चीनबाट ल्याइएका नयाँ ट्रान्सफर्मर परीक्षणका लागि वर्कसपमा ल्याउँदा पनि उही समस्या भेटिएको थियो । परीक्षणका क्रममा बाहिरको तहमा तामा र भित्र आल्मुनियम भेटिएको वर्कसपकी प्रमुख नरेन्द्रश्वरी श्रेष्ठले बताइन् । ‘हामीले परीक्षण मात्र गर्ने हो, परीक्षणका क्रममा यस्तो भेटिएको छ, सम्झौतामै त्यस्तो छ कि, त्यो हामीलाई थाहा भएन,’ उनले भनिन् ।
प्राधिकरण ग्राहक तथा वितरण पूर्व शाखाले १६ करोड रुपियाँमा तामाको ५० देखि २ सय केभीसम्मका ७ सय ३५ ट्रान्सफर्मरका लागि चीनको हुवेलाई ठेक्का दिएको थियो । ठेक्काबापतको ८० प्रतिशत रकम प्राधिकरणले तिरिसकेको छ भने २० प्रतिशत तिर्न बाँकी छ । प्राविधिकका अनुसार आल्मुनियम प्रयोग गरिएको ट्रान्सफर्मरमा छिट्टो बिग्रने, पूरा लोड नधान्ने, चुहावट बढी हुने, एकपटक बिग्रेपछि मर्मत गर्न नसकिने, आयु कम हुनेलगायत समस्या हुन्छन् ।
तामाको ट्रान्सफर्मर बिग्रेपछि पुन: मर्मत गर्न सकिन्छ । त्यसैले पछिल्लो समयमा अधिकांश ट्रान्सफर्मर तामाकै बनाउने गरिएको छ । बिहीबार परीक्षणका क्रममा ती नयाँ ट्रान्सफर्मरको कोर पाता नै खिया लागेको अवस्थामा भेटिएको छ । ‘वर्कसपमा गएर हेर्दा ट्रान्सफर्मर खरिदमा चरम लापरबाही देखियो,’ प्राधिकरण कर्मचारी संघका उपाध्यक्ष इन्द्र न्यौपानेले भने, ‘गुणस्तरहीन र कमसल ट्रान्सफर्मरले प्राधिकरणलाई नै डुबाउँछ ।’
बिहीबार परीक्षण गरिएका तीनवटै नयाँ ट्रान्सफर्मरमा बाहिर लेयरमा तामा र भित्र आल्मुनियम प्रयोग गरिएको भेटिएको थियो । आर्थिक प्रलोभनमा परेर कर्मचारीको मिलेमतोमा कमसल र गुणस्तरहीन ट्रान्सफर्मर ल्याएपछि प्राधिकरणलाई करोडौँ घाटा परेको छ । प्राधिकरण स्रोतका अनुसार पाँच करोडभन्दा बढी कमिसन खाएर गुणस्तरहीन र कमसल सामान ल्याइएको हो ।
‘दुई महिनाअघि सिन्धुपाल्चोकबाट आएको ट्रान्सफर्मरमा बाहिर मात्र तामा र भित्र सबै आल्मुनियम देखिएपछि हाकिमहरूलाई सुनाउँदा चुप लाग भनेर पो थर्काए,’ वर्कसपका एक कर्मचारीले भने, ‘गुणस्तरहीन र कमसल ट्रान्सफर्मर ल्याइएको हो भन्ने थाहा हुँदाहुँदै लुकाउन खोज्नुले यसमा उच्च तहका कर्मचारीको मिलेमतो छ भन्ने देखिन्छ ।’
बिहीबार नयाँ ट्रान्सफर्मर परीक्षणका क्रममा ट्रान्सफर्मरमा बदमासी भएका तथ्य लुकाउन माथिल्लो स्तरका कर्मचारी नै सक्रिय थिए । काठमाडौं उपत्यका प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख मनोज बराललगायतले यो प्राधिकरणको आन्तरिक मामिला भएको बताउँदै त्यहाँ पुगेका सञ्चारकर्मीलाई समेत गुणस्तरहीन र कमसल ट्रान्सफर्मरबारे बताउन चाहेनन् ।
नेपाल विद्युत् प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक महेन्द्रलाल श्रेष्ठले ट्रान्सफर्मर गुणस्तरहीन र कमसल भएको स्विकारे । ‘चुहावट बढी भयो भनेर हेर्दा यस्तो भेटियो, बदमासी भएको हो,’ उनले भने, ‘अब छानबिन गरेर कारबाही हुन्छ ।’
प्राधिकरण सञ्चालक समितिको बैठकले चीनका साथै अन्य देशबाट ल्याएका ट्रान्सफर्मरमा समस्या देखिएपछि सञ्चालक सदस्य डा. केपी दुलालको संयोजकत्वमा छानबिन समितिसमेत गठन गरेको थियो । समितिले ट्रान्सफर्मर गुणस्तरहीन र कमसल भएको प्रतिवेदनसमेत दिइसकेको छ । ‘अधिकांश ट्रान्सफर्मर थर्डक्लासका भेटिएका छन्,’ दुलालले भने । गल्ती देखिएपछि यसमा कर्मचारीको संलग्नता छ कि छैन भनेर पत्ता लगाउन अर्का सञ्चालक सदस्य मोहनराज पन्तको संयोजकत्वमा अर्को समिति गठन गरिएको छ । समितिले अहिले कर्मचारीबारे छानबिन गरिरहेको छ ।
‘कमसल र गुणस्तरहीन सामान ल्याउने कम्पनीलाई कालोसूचीमा राख्नुपर्छ र दोषी कर्मचारीलाई छानबिन गरेर तुरुन्तै कारबाही गर्नुपर्छ,’ एक उच्च कर्मचारीले भने, ‘यो महाअपराध हो, छिट्टै यसउपर कारबाही गरेर प्राधिकरण डुबाउनबाट जोगाउनुपर्छ ।’

प्रतिक्रिया