दुई वर्षपछि आरोपी पक्राउ

ओखलढुंगा, १९ भदौ । नेकपा (एमाले) ओखलढुंगाका नेता तथा तत्कालीन राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य छविलाल कार्कीको हत्याका आरोपी युवक पक्राउ परेका छन् ।
प्रहरीले तलुवा–९ नाल्सुका २६ वर्षीय नवराज बस्नेतलाई बिहीबार घरबाटै नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले बस्नेतलाई घरमा बसिरहेको अवस्थामा पक्राउ गरेको डिएसपी सुदमकुमार सिजापतिले बताए ।
कार्कीको हत्या अभियोगमा जिल्ला अदालतले ०६९ साउनमा बस्नेतसहित बाबुराम सुवेदी, यदुनाथ घिमिरे, दीपक कटवाल, तारा सिके र जितमान राईलाई पक्राउ पुर्जी जारी गरेको थियो । बस्नेत पक्राउ परे पनि अन्य आठ अझै फरार रहेकाले खोजी भइरहेको इन्स्पेक्टर भेषराज रिजालले बताए । प्रहरीले अनुसन्धानमा ठूलो उपलब्धि हात परेको भन्दै फरार पनि पक्राउ पर्ने दाबी गरेको छ ।
एमाले नेता कार्कीको २४ असार ०६७ मा ठूलाछापको निशंखे भञ्ज्याङको तारा होटलमा खाना खाइरहेको अवस्थामा हत्या भएको थियो । एकीकृत नेकपा (माओवादी) सम्बद्ध कार्यकर्ताले खुकुरी, रड तथा भालाले आक्रमण गरेका थिए । कार्कीको हत्या अभियोगमा माओवादी कार्यकर्ता विमर्शराज घिमिरे, टीकाराम भुजेल, लालबहादुर भुजेल, देवबहादुर कटवाल, दिलबहादुर सार्की र कार्कीका दाजु चन्द्रबहादुर कार्कीलाई प्रहरीले ज्यानमुद्दा चलाएको छ । पक्राउ परेकामध्ये लालबहादुर भुजेल, देवबहादुर कटवाल र दिलबहादुर सार्की अदालतको आदेशले छुटिसकेका छन् ।
पीडित परिवारले अझै हत्याका आरोपीले धम्की दिइरहेको गुनासो गरेका छन् । कार्कीको हत्या भएको दुई वर्ष बित्दा पनि हत्यामा संलग्न दोषीमाथि कारबाही नभएको भन्दै छविलालका दाजु बलबहादुरले हत्यारालाई जेल नहालेसम्म मन शान्त नहुने बताए । ‘दुई वर्ष रोएर बित्यो,’ उनले भने, ‘हत्याको पीडामाथि सरकारी रवैयाबाट त न्याय पाउने आशा पनि मरेको थियो ।’ हत्यामा संलग्न भएको आरोपमा केही व्यक्तिलाई प्रहरीले पक्राउ गरे पनि मुख्य आरोपी पक्राउ नपरेका हुन् ।

प्रतिक्रिया