सहमतिका लागि डा.यादवको दबाव

काठमाडौं, १४ भदौं । राष्ट्रपति डा.रामवरण यादवले प्रमुख दलका शीर्ष नेताहरुलाई राजनीतिक निकासका लागि सवै विकल्पमा छलफल गरेर मुलुकलाई निकास दिन पुनः आग्रह गरेका छन् ।
आफ्नै कार्यालय शीतल निवासमा आज एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका शीर्ष नेताहरुलाई बोलाएर डा.यादवले छिटो सहमति जुटाउन सुझाव दिएका हुन् । उनले राजनीतिक सहमति विनानै कामचलाउ सरकारले धामधम अध्यादेश सिफारिस गरेको प्रति पनि असन्तुष्टि जनाएका छन् ।
‘राजनीतिक निकासका लागि सवै विकल्पमा छलफल गर्नुस्,’ डा.यादवलाई उदृत गर्दै एमाले अध्यक्ष झलनाथ खनालले भने, ‘संविधानसभा पुनःस्थापना, नयाँ निर्वाचनलगायतमा कुराकानी भएको जानकारी राष्ट्रपतिलाई गराएका छौं ।’ उनले दलहरुका वीच वार्ता प्रक्रिया अगाडि बढेको बताउँदै कुनै पनि प्रक्रियामा सहमत नभए ताजा जनादेशमा जाने उल्लेख गरे ।
नयाँ निर्वाचनमा जाने भएमा संख्यामा पनि ध्यान दिन डा.यादवको दलहरुलाई सुझाव थियो । उनले समावेशी रुपमा थोरै संख्यामा प्रतिनिधि आउने निर्वाचन गर्न सुझाव दिए ।
राष्ट्रपति डा.यादवले राजनीतिक सहमतिमा भन्दा पनि सरकारले अध्यादेशमा जोड दिएको प्रति असन्तुष्टि जनाएका थिए । सरकारले पुनः पठाएका अध्यादेशहरुमा असन्तुष्टि जनाएका उनले भने, ‘अध्यादेशबाट मुलुक नचलाउनुस् ।’
कार्यवाहक प्रधानमन्त्री समेत रहेका लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छेदारका अनुसार राष्ट्रपतिले अत्यावश्यक अध्यादेश मात्रै ल्याउन सुझाव दिएको बताए ।
राष्ट्रपति डा.यादवसँगको छलफलमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, उप–सभापति रामचन्द्र पौडेल, एमाले अध्यक्ष झलनाथ खनाल, कार्यवाहक प्रधानमन्त्री समेत रहेका लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छेदारगायतका शीर्ष नेताहरु सहभागी थिए ।
प्रमुख दलहरुले निकासका लागि राजनीतिक परामर्श सुरु गरेकै समयमा डा.यादवले पनि उनीहरुलाई बोलाएर मुलुकलाई निकास दिन दबाव दिएका हुन् ।

प्रतिक्रिया