जुनियर टेनिसको फाइनलमा विभूति र मन्जिता

काठमाडौं, १४ भदौ । सेन्ट जेभियर्सका विभूति कार्की र मन्जिता न्याछो छैटौँ एलए/जेटिआई अन्तरस्कुल जुनियर खुला टेनिस प्रतियोगिताको यु–१६ गल्र्स सिंगल्सतर्फ फाइनलमा प्रवेश गरेका छन् ।
विभूतिले डिएभीकी विजिशा श्रेष्ठलाई ३–६, ६–३ र ६–४ को सेटमा पराजित गरिन् । मन्जिताले सेन्ट जेभियर्सकै प्रीतिका मानन्धरलाई ४–६, ६–४ र ७–५ ले पाखा लगाइन् ।
यु–१६ ब्वाइज सिंगल्सको उपाधि भिडन्त ब्रिटिस स्कुलका आइभान हो लिसानेबीच र किस्कका यिओराम लीबीच हुने भएको छ ।
आइभानले रातो बंगलाका सक्षम कार्कीलाई ६–० र ६–२ तथा यिओरामले जेम्सका आकाश लाम्खोरलाई ६–० र ६–१ ले हराए ।
लिटिल एन्जल्स स्कुल (एलए) द्वारा आयोजित प्रतियोगिताको यु–१४ ब्वाइज सिंगल्समा रातो बंगलाका द्वय अभय गौचन र आभाष मल्लले फाइनल यात्रा पक्का गरे ।
अभयले एलएका सन्देश पौडेललाई ६–४ र ६–१ को सोझो सेटमा हराए भने आभाषले रातो बंगलाका सक्षम कार्कीमाथि ७–५ र ६–४ को जित निकाले ।यु–१० गल्र्स सिंगल्समा काष्ठमण्डपकी अल्सा रेग्मी र रातो बंगलाकी रियाशा वैद्य फाइनलमा पुगे । अल्साले एलएकी पेमिला लिम्बूलाई ८–३ तथा रियाशाले सेन्ट जेभियर्सकी अभिलाषा विष्टलाई ८–४ ले पराजित गरे ।
यु–१० ब्वाइज सिंगल्समा शुभताराका सम्यकभूषण वज्राचार्यले एलएका दीप राणालाई ८–३, युरो किड्सका आदित सुवेदीले एलएका किरण राईलाई ८–४ तथा एलएका नीराजन सुवेदीले युलेन्सका आर्यन गिरीलाई ८–६ ले पाखा लगाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । एलएका स्वराज केसी यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् ।
यु–१२ गल्र्स सिंगल्समा रूपिजकी मायांका राणाले ब्रिटिस स्कुलकी खुसी पाण्डेलाई ८–०, पेनउडकी इरा राउतले युलेन्सकी क्याथी माथेमालाई ८–१, युलेन्सकी एनी माथेमाले युलेन्सकी मेधावी गिरीलाई ८–२ तथा मायांकाकी जुम्ल्याहा बहिनी रूपिजकै माहिकाले महेन्द्र आदर्शकी संगीता राणालाई ८–० ले निराश पार्दै सेमिफाइनलमा स्थान बनाए ।
यु–१४ गल्र्स डबल्समा एलएका तीनवटै जोडी कला तामाङ र लविता गुरुङ, छिरिङ शेर्पा र आयुशा राई तथा दीवा राणा र सिवांगी सिंह सेमिफाइनलमा पुगेका छन् ।

प्रतिक्रिया