पहिरोले आयोजनाको सुरुङ निर्माण ठप्प

काठमाडौं, १४ भदौ । अविरल वर्षात्का कारण पहिरो जाँदा निर्माणाधीन ६० मेगावाटको त्रिशूली–३ए जलविद्युत् आयोजनाको चाइनिज क्याम्पमा क्षति पुगेपछि आयोजनाको सुरुङ निर्माणकार्य रोकिएको छ ।
रसुवा जिल्लाको चिप्लेटी डाँडामा धाँजा फाटेर जोखिममा परेको उक्त आयोजनाको चाइनिज क्याम्पमा पहिरो गएपछि बुधबारदेखि सुरुङ निर्माणकार्य रोकिएको हो । बुधबार बिहान ८ बजेतिर पहिरोले क्षति पुर्‍याएपछि काम रोकिएको आयोजना प्रमुख ऋषिकेश शर्माले जानकारी दिएका छन् ।
‘बुधबारदेखि सुरुङ निर्माणकार्य रोकिएको छ, चिनियाँ कामदारलाई व्यवस्थित क्याम्प बनाएर राख्नुपर्ने अवस्था आएकोले आयोजना निर्माण अगाडि बढाउन अझै समय लाग्न सक्छ,’ आयोजना प्रमुख शर्माले भने । शर्माका अनुसार पहिरोमा परी क्याम्पमा रहेका एक नेपाली र एक चिनियाँ घाइते भएका छन् भने क्याम्पको एउटा भवन क्षतिग्रस्त भएको छ । घाइते हुनेमा सोमबहादुर तामाङ र एक चिनियाँ कामदार छन्, चिनियाँ नागरिकको नाम खुल्न सकेको छैन । उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । पहिरोले सोलार प्यानल राखिएको अर्को भवनमा समेत क्षति पुगेको शर्माले बताए । बिहान पहिरो गएपछि क्याम्पभित्र रहेका कामदारहरूबीच भागदौड मच्चिएको थियो । आयोजनाका अनुसार, क्याम्पमा ४६ जना चिनियाँ र २२ नेपाली कामदार थिए ।
चिनियाँ कामदारलाई नजिकैको आर्मीका लागि बनाइएको भवनमा सारिएको छ । नेपाली कामदारलाई भने स्थानीयवासीका घरमा लगिएको छ । चिनियाँहरू क्याम्पमा बस्न नमाने अर्को व्यवस्थापन गर्नुपर्ने र त्यो कामका लागि समय लाग्ने भएकोले आयोजना निर्माण कार्यसमेत प्रभावित हुन सक्ने शर्माको भनाइ छ । आयोजनाको विद्युत्गृहको काम भने रोकिएको छैन । ४ हजार ९३ मिटर सुरुङमध्ये अहिलेसम्म ३ सय १७ मिटर मात्र निर्माणसम्पन्न भएको छ । १५ महिनाभित्रै निर्माण कार्यसम्पन्न गर्ने विद्युत् प्राधिकरणको लक्ष्य छ ।
गत वर्षदेखि नै धाँजा फाट्न थाले पनि विगत दुई महिनादेखि त्यो क्रम बढेपछि चाइनिज क्याम्प जोखिममा परेको समाचार मंगलबारको सौर्यमा छापिएको थियो । चिनियाँहरूले आफूहरू जोखिममा परेको भन्दै सुरक्षित स्थानमा सार्न आग्रह गरेका थिए । धाँजा फाटेपछि त्यहाँका पाँच घर र चिप्लेटी प्राविमा समेत असर गरिसकेको छ । २८ घरमध्ये पाँच घरलाई अन्यत्र सारिएको र अन्यसमेत जोखिममा छन् ।
प्राधिकरणले चीनको एक्जिम बैंकको ऋण सहयोगमा निर्माण गरिरहेको आयोजनाको निर्माणकार्य २० प्रतिशत मात्र पूरा भएको छ । रसुवाको डाँडागाउँमा बाँध र नुवाकोटको मनकामना गाविसमा विद्युत् उत्पादन केन्द्र निर्माण भइरहेको आयोजना सन् २०१४ भित्र पूरा गर्ने लक्ष्य छ ।

प्रतिक्रिया