कलाकारले हँसाए विराटनगरबासीलाई

विराटनगर, १३ भदौ । काठमाडौं पछि विराटनगरमा पनि मेरिबास्सै, झ्याँइकुटी झ्याँइँ, जय होस् गाईजात्रा कार्यक्रम आयोजना गरिएको छ । आइतबार साँझ ५ बजे सुरु भएको कार्यक्रमलाई अन्त्यसम्मै उत्साही बनेर साथ दिए दर्शकले । ११ वर्षको अन्तरालमा यति रमाइलो कार्यक्रम हेर्न पाएको दर्शक प्रतिक्रिया थियो ।

नेपालकै दोस्रो ठूलो सहर मानिने विराटनगरमा ११ वर्षपछि गाइजात्रे कार्यक्रम आयोजना गरिएको हो । कलाकारले चोटिलो प्रस्तुतिमार्फत हँसाएका मात्र होइनन्, दर्शकमा देशप्रेमको भावना पनि जगाए । दर्शक मीरा थापाले भनिन्, ‘कलाकारले भनेजस्तै नेताहरूको सद्बुद्धि आए देशको अवस्था कति राम्रो हुन्थ्यो ।’
महादेव त्रिपाठीको जादु प्रस्तुतिबाट सुरु भएको कार्यक्रममा मुकुन्द शर्मा, प्रभाकर देवलगायतले सावधान नामक प्रहसनमार्फत दर्शकलाई मनोरञ्जनको स्वाद चखाए । उनीहरूले नेताको गलत काम र प्रहरीको लाचारीपन प्रहसनमार्फत प्रस्तुत गर्दा छेवैमा बसेका सुरक्षाकर्मीसमेत मुसुमुसु हाँसे ।
राजन थापा, घनश्याम गौतम, महोदव त्रिपाठी र दमन रूपाखेतीले प्यारोडी गीत गाए । उनीहरूले बलिउड चलचित्र डर्टी पिक्चरको उलाला–उलालाको भाकामा नेपाली राजनीति र समाजका गलत प्रवृत्तिप्रति व्यंग्य गरे । सुरेन्द्र केसी (मुला साग) र शिवशंकर रिजाल (जोगिन्दर पानवाला) ले मेरो देश नामक प्रहसनबाट राष्ट्रियताप्रति सचेतना फैलाए । त्यस्तै घनश्याम गौतम, संगम राई लभ्ली, दमन रूपाखेती र खेम शर्माले नयाँ नेपाल एक्सप्रेस प्रहसनमार्फत नेताहरूको कुर्सी मोहबारे व्यंग्य कसे, जसमा घनश्याम गौतम माओवादी अध्यक्ष प्रचण्डका रूपमा प्रस्तुत भएका थिए भने दमन रूपाखेती कांग्रेसनेता शेरबहादुर देउवा बनेका थिए । अन्त्यमा राजु पौडेल (मास्टरसाब), सुनिता गौतम (मैयाँ), सुरज चापागाईं (बान्द्रे) र केदार घिमिरे (माग्ने बुढा) ले भेटेनरी क्लिनिक नामक प्रहसनमार्फत समसमायिक राजनीतिक विषयमा व्यंग्य कसेका थिए । प्रहसनका अन्त्यमा नेपाली झन्डा फहराउँदा बसिरहेका दर्शक उठेर ताली बजाउन थाले । भुनिया, लभ्ली, नायक विनोद श्रेष्ठ र नायिका बिजिना रोकायाले नृत्यको स्वाद चखाएका थिए । परोपकारी संस्था सामथ्र्य समाजको सहयोगार्थ आयोजित कार्यक्रमको संयोजन जेएस मिडिया प्रालिले गरेको हो ।

प्रतिक्रिया