ढुवानी समस्या भन्दै मूल्यवृद्धि

ताप्लेजुङ, १३ भदौ । अविरल वर्षाका कारण ग्रामीण सडक बिग्रिएपछि ढुवानी समस्या भन्दै स्थानीय व्यवसायीले मूल्यवृद्धि गरेका छन् । सडक क्षतिग्रस्त भई ढुवानीका साधन बीचबाटोमै रोकिने भएकाले दोहोरो/तेहरो लोड–अनलोड गर्नुपर्दा सामानको मूल्यसमेत बढ्ने गरेको छ । जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्र खाम्लुङको दोभान बजारमा अहिले सोना मन्सुली चामलको मूल्य प्रतिकेजी चार रुपियाँले वृद्धि भई ४० रुपियाँ पुगेको छ । सामान ढुवानीमा प्रतिकेजी तीन रुपियाँले वृद्धि भएको र सोहीअनुसार मूल्य बढेको उद्योग वाणिज्य संघ दोभान उपशाखाका अध्यक्ष डम्बरबहादुर धितालले बताए ।
धितालका अनुसार खाद्यान्न, चामललगायत अन्य दैनिक उपभोग्य वस्तु नुन, तेल, चिनी, चिउरा सबैको प्रतिकेजी तीन रुपियाँले मूल्यवृद्धि भएको छ । दोभान बजारका लागि आयात गरिने सामान झापाको विर्तामोडबाट मेची राजमार्ग हुँदै ताप्लेजुङ बहानदीसम्म ट्रकमा ढुवानी हुने र त्यसपछि ट्रयाक्टरबाट ढुवानी गर्नुपर्ने बाध्यता रहेको दोभानका अर्का व्यवसायी टंक खतिवडाले बताए । सडकको बीचबीचमा झरेको पहिरो तथा सडकमा परेका खाल्डाखुल्डीले ट्रयाक्टरबाट समेत मुस्किलले ढुवानी हुने गरेको खतिवडाको भनाइ छ । दोभानबजार जिल्लाका १९ गाविसका बासिन्दाको आवश्यकीय सामान खरिद गर्ने र उत्पादित वस्तु बिक्री गर्ने प्रमुख व्यापारिक थलोका रूपमा रहेको छ । यस्तै, जिल्लाको पूर्वीक्षेत्रका दर्जनाँै गाविसका बासिन्दाको मुख्य व्यापारिक केन्द्रका रूपमा रहेको आम्बेगुदिनको खाम्दिम्बे बजारमा पनि ढुवानीका साधन जान सकेका छैनन् । पाँचथरको थर्पु हँुदै खाम्दिम्बे बजार जाने सडकमा बीचबीचमा पहिरो झर्नुका साथै सडक भत्किएकाले हाल थर्पुको दाहाल गाउँसम्म मात्र ढुवानीका साधन पुग्ने गरेका छन् । अहिले दाहालगाउँ बजारदेखि करिब चार किलोमिटर सडकमा ट्रयाक्टरबाट सामान ढुवानी गर्नुपरेको उद्योग वाणिज्य संघ खाम्दिम्बे उपशाखाका सचिव श्रीकृष्ण भट्टराईले बताए । यस्तै, सरकारी अनुदानका साथै स्थानीयको आºनै लगानीमा जिल्लाका विभिन्न क्षेत्रमा बनेका कच्ची सडक भत्किएपछि लिङ्खिमको सिंबाबजार, फावाखोलाको लालीबजार, थेचम्बूको पूर्णेबजार, फुङ्लिङको हान्द्रुङ बजारलगायत ग्रामीण बजारमा यातायतका साधन नचल्दा व्यवसायी तथा उपभोक्ताले सास्ती खेप्नु परेको छ ।

भुसालडाँडा सडक जीर्ण
तानसेन : पाल्पा जिल्लाको तानसेनस्थित युनाइटेड मिसन अस्पताल जाने सडक जीर्ण बन्दै गएको छ । जिल्ला सदरमुकामका बिरामी ओहोरदोहोर गर्ने एकमात्र यो सडक जीर्ण बनेपछि बिरामीसमेत मारमा परेका छन् ।
करिब एक किलोमिटर ओटासिल गरेको तानसेन–भुसालडाँडा सडक फाटेपछि जीर्ण बनेको हो । सडकको बीचमा अहिले पानीले तालजस्तो बनेको छ भने कतै हिलाम्मे बनेको छ । बर्सेनि सडक मर्मत गरे पनि गुणस्तरहीन वस्तुको प्रयोगका कारण सडकको अवस्था कमजोर बन्दै गएको हो । तानसेन भुसालडाँडाका भैरव पुन यो सडकबाट बिरामीलाई गाडीमा ओहोरदोहोर गराउनुपर्दा दुखाइभन्दा पनि खाल्डोमा गाडीले थेचार्दा बिरामी झनै शिथिल हुने बताउँछन् । सो सडक खण्डअन्तर्गतको तानसेनको आन्दोलनचोक, नारायणस्थान, भीमसेनटोल, मेहलधारालगायत स्थानमा कालोपत्रे गरेको सडक फाटेको छ । यस्तै, भगवतीटोल, वसन्तपुर, टक्सारटोलका सडक पनि जीर्ण बन्दै गएका छन् । जसले गर्दा सडकमा खाल्डो बनेर गाडी गुडाउन समस्या भएको चालक दीपक विष्ट बताउँछन् । तानसेन नगरपालिकाका कार्यकारी अधिकृत निरज भट्टराईले केही दिनमा नै तानसेन–भुसालडाँडा सडक मर्मतकार्य सुरु हुने बताए ।

प्रतिक्रिया