सहकारीमा थुप्रियो पैसा

काठमाडौं, १३ भदौ । निक्षेप संकलनअनुसार लगानी गर्न नसक्दा सहकारीमा पैसा थुप्रिएको छ । पूर्ण बजेट नआउनु, लगानीका नयाँ क्षेत्र पहिचान हुन नसक्नु, राजनीतिक अस्थिरतालगायत विविध कारणले बैंक तथा वित्त कम्पनीले प्रभावकारी रूपमा काम गर्न नसकेपछि सहकारीमा पैसा बढेको हो ।
‘बैंक तथा वित्तीय संस्थाजस्तै सहकारीमा पनि तरलता बढेको छ,’ सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता सुदर्शनप्रसाद ढकालले भने, ‘अन्य संस्थामा तरलता बढ्नेबित्तिकै सहकारीमा पनि तरलता बढ्छ ।’ बैंकिङ क्षेत्रले घरजग्गामा थप लगानी नगरेपछि त्यसको असर सहकारीमा परेको उनको भनाइ छ ।
‘प्रत्येक संस्थामा १० प्रतिशत लिक्विडिटी पर्छ,’ ढकालले भने । ग्रामीण भेगका सहकारीमा लिक्विडिटी कम भए पनि सहर केन्द्रित सहकारीमा बढी रहेको उनले बताए । सहकारीले खुला रूपमा हाइड्रो, पर्यटन, उद्योगलगायत क्षेत्रमा लगानी गर्न पाउँदैन । जसका लागि सेयर र सेभिङका आधारमा लगानी गर्न पाउनु पर्ने भएकाले यसमा लगानी बढ्न नसकेको उनको भनाइ छ ।
‘चाहेजति लगानी गर्न सकेका छैनौँ,’ राष्ट्रिय सहकारी बैंकका प्रबन्ध सञ्चालक केबी उप्रेतीले भने, ‘हामीसँग पर्याप्त तरलाता छ ।’ गतवर्ष तरलता कम भए पनि यो वर्ष पर्याप्त मात्रामा रहेको उनको भनाइ छ । ‘सदस्यहरूको ऋण मागाइमा कमी आएको छ,’ उनले भने, ‘जसलेगर्दा आएका जतिले सजिलै ऋण पाएका छन् ।’
सहकारी बैंक तथा सहकारीले ढुक्क भएर लगानी गर्ने वातावरण नभएको उनको भनाइ छ । लगानीका लागि सहकारी नीति आवश्यक रहेको ललितपुर बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामशरण घिमिरे बताउँछन् । सहकारी संस्थाले ढुक्क लगानी गर्नका लागि सहकारी नीति आवश्यक हुने उनको भनाइ छ  । ‘सहकारीले सदस्यलाई लगानी गुर्नपर्ने हुन्छ,’ घिमिरेले भने, ‘अन्यलाई लगानी गरे ऐनविपरीत हुन्छ ।’
सोही कारण लगानीमा केही समस्या आएको उनको भनाइ छ । ‘एक व्यक्ति धेरै सहकारीमा आबद्ध हुन्छन्,’ उनले भने, ‘जसलेगर्दा उनीहरूले सबै सहकारीसँग ऋण निकाल्छ नै भन्ने छैन ।’ देशमा देखिएको अन्योल राजनीतिले सहकारीमा पैसा थुप्रिएको उनको भनाइ छ । कृषि क्षेत्रमा लगानी गर्न प्रोत्साहन लिने नीति सहकारीमा आउने हो भने उल्लेख्य वृद्धि हुनेमा घिमिरे आशावादी छन् ।
मुलुकभर २५ हजार तीन सयभन्दा बढी सहकारी छन् । जसमा ३६ लाख मानिस आबद्ध रहेको आशंका गरिएको छ । सहकारीमा हाल दुई खर्ब ६३ अर्बको कारोबार भएको छ । यसमा ७५ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् ।

प्रतिक्रिया