…अनि मलाई भक्कानो फुट्यो

– मकवानपुरको रातोमाटे मेरो गाउँ हो । घर हाइवेको छेवैमा छ । चार वर्षको छँदा बाख्राको पाठोसँग खुबै खेल्थेँ । डोकोभित्र कहिले पाठोलाई थुन्थेँ त कहिले आफैँ छिर्थें । एक दिन मलाई पाठोसँग भुलिरहेको देखेर आमा सडकपारि जानुभयो, कुन्नि के कामलाई हो † म पनि लौ छुट्यो बित्यासै भयो भनेजसरी बेत्तोडले आमा भएतिर दौडिएँ । होस आउँदा त अस्पतालमा थिएँ, सडक पार गर्दा गाडीले हानेछ । उछिट्टिएर पछारिएछु । टाउकोमा नराम्ररी चोट लाग्यो, शरीरभरि सानातिना घाउ थिए । ती घाउ त निको भए, खत अझै छ । त्यही घटनाका कारण अहिले पनि म बाटोमा हिँड्दा चनाखो हुन्छु ।

– ११ वर्षको उमेर थियो, साह्रै चञ्चले थिएँ । कहिले कता दौडिने कहिले कता । बाँदरले जसरी रूख चढेर हाँगैहाँगा दौडिने, पिङ खेल्ने । एक दिन साथीहरूसँग लुकामारी खेल्दै थिएँ । लुक्नका लागि परालको कुन्युमा चढेको थिएँ । हामफालेर भाग्न खोजेको त देब्रे खुट्टा परालमा छिरेछ । ब्यालेन्स नमिल्दा दाहिने खुट्टा मर्किएजस्तो भएको थियो, हिँड्नै सकिनँ । सुन्निन थाल्यो । पछि थाहा भयो, भाँच्चिएछ । त्यति बेला गाउँघरमा अस्पताल लाने चलन थिएन । बुबाले खुट्टा जंगली जडिबुटी लगाएर बाँधिदिनुभयो । घरमै गरिएको त्यो उपचारले पनि मेरो खुट्टा निको भयो ।
त्र सात कक्षामा पढ्दा १२–१३ वर्षको हुँदो हुँ । तीन–चार किलोमिटर हिँडेर स्कुल जानुपथ्र्यो । एक जना टिचर साह्रै ‘डेन्जर’ लाग्नुहुन्थ्यो मलाई । होमवर्क नगर्नेलाई सिर्कनाले यसरी हान्नुहुन्थ्यो कि केही दिनसम्मै दुखाइ मर्दैनथ्यो । त्यसैले होमवर्क नगरेको दिन स्कुलै जाँदैनथेँ । नभन्दै खेल्दाखेल्दै होमवर्क गर्न बिर्सिएछु, स्कुल हिँड्ने बेलामा पो थाहा भयो । अब नजाऊँ बुबाले सात्तो खाइहाल्नुहुन्छ । त्यसैले घरबाट निस्किएँ अनि छुट्टी हुने समयतिर फर्कौंला भन्ने ट्रिक लगाएर जंगलतिर लागेँ । जाँदै गर्दा टाढा रोपाइँ देखियो । त्यही हेरेर दिन बिताउनुपर्ला भनेर रूख चढेँ । खुट्टामा दुखेजस्तो भयो, यसो हेरेको त बिच्छीले टोकिरहेको रहेछ । म आत्तिएर खेतमा हाम फालेँ । बिच्छीले टोक्यो भनेर रुन कराउन थालेँ । तर, त्यही रोपाइँमा बुबाआमा पनि पो आउनुभएको रहेछ । बुबाका कन्सिरी तातिहाले । ‘स्कुल नगएर यहाँ आइछस्, झन् बहाना बनाउँछस्’ भन्दै पछाडिबाट टाउकोमा हान्नुभयो । मेरो निधार ढुंगामा ठोक्कियो । बिच्छीले टोकेर छटपटाइरहेको मलाई निधारमा पनि चोट लाग्यो । त्यो पीडा खपिनसक्नुको थियो, अहिले पनि याद आउँछ ।
– म नौ कक्षामा पढ्थँे, १४ वर्षमा । पढ्न हेटौँडा धाउनुपथ्र्यो । ६ दिन हेटौँडा बसेर पढिन्थ्यो, शुक्रबार घर गइन्थ्यो । कहिले केमा झुन्डियर त कहिले केमा झुन्डिएर जान्थेँ, पैसा हुँदैनथ्यो । एक दिन ट्रक चढेँ । ट्रकमा रहेका मधेसी भाइसँग साँठगाँठ गरेँ । पैसा नभएको बताएँ । उसले आफ्नो लुगा ओढाएर मलाई आफूपछाडि लुकायो । खलाँसी पैसा माग्न आउँदा लुक्छु, घरनिर ओर्लेपछि भागौँला भन्ने दाउ थियो । नभन्दै केही छिनमै खलासी पैसा उठाउन आयो । खलाँसीले देशीलाई पछाडि के छ भनेर सोध्यो, उसले केही छैन भन्यो । तर, म त्यही बेला चलमलाएछु, खलाँसीले थाहा पाइहाल्यो । पैसा माग्यो, भए पो दिनु । त्यहीँ ओह्राल्दिइहाल्यो । १०–१२ किलोमिटर हिँडेर घर पुग्दा रातै परेछ । त्यो हिँडाइले मेरो खुट्टा यति दुख्यो कि अहिले पनि अलि लामो हिँड्नुपर्दा त्यही घटना सम्झन्छु ।
– हेटौँडाबाट शुक्रबार फर्किएपछि शनिबार गाईबस्तु लिएर जंगलमा गोठाला जानुपथ्र्यो । त्यही क्रममा एक दिन साथीहरूसँग मिलेर पौडी खेल्न थालेँ । यसो हेरेको त गाई नै छैन । जताततै खोजेँ, भेटिनँ । कालो अनुहार बनाएर घरतिर हिँडे । एकसुरमा हिँड्दै थिएँ । पछाडिबाट एउटा मान्छेले झाप्प हान्यो, म घोप्टो परेर भुइँमा पछारिएँ । उसले भन्यो– अर्काको बालीमा गाई छोड्ने तैँ होइनस् ? गाईले त्यो मान्छेको बालीमा छिरेर सखाप पारिदिएछ । तर, गाई घर पुगिसकेको रहेछ । अब अर्काको बाली खाएको कुरा थाहा पाएकाले बुबाले मार्नुहुन्छ भन्ने डरले घरै गइनँ । साथीको घरतिर लागेँ । वरैबाट साथीलाई बोलाएको त बुबा पनि त्यहीँ पो हुनुहँुदो रहेछ । तर्सिएर भाग्न थालेको काँडेतारमा अल्झिएर खुट्टाभरि घाउ भयो, घँुडाभन्दा तल एउटा छेस्को गाडियो । त्यो खत अहिले पनि छ । तर, बुबालाई त गाईले बाली खाएको थाहै रहेनछ । आमाले लगेर गाई बाँध्नुभएको रहेछ । तर्सिएर भाग्दा बेफ्वाँकमा पीडा झेल्नुपर्‍यो ।
– टेस्ट परीक्षा सकेपछि म अम्लेखगन्जको आयल निगममा दिनको १० रुपियाँ पाउने गरी ज्यालादारीमा काम गर्थें । साइकल चढ्ने ठूलो सोख थियो । तीस दिन जागिर खाएको तीन सय र आमाले दिएको बाटोखर्चसहित डेढ सय रुपियाँ जम्मा पारेर वीरगन्ज पुगेँ अनि हिरो साइकल किनेँ । गाउँले साथीका अगाडि साइकल चढेको पोज देखाउने रहर चढ्यो । खुसीको सीमा नै थिएन । तीस किलोमिटर बाटो साइकल हाँकेर तुफान आइरहेको थिएँ, घरतिर । झिसमिसे अँध्यारो भयो । खाल्डो देखिनछु । त्यसैमा परेर बङलङ्ङ पछारिएँ । नराम्ररी ठोक्किएँ, घाउ भयो । तर, त्यो दुखाइभन्दा पनि प्यारो थियो साइकल । दुखेको ठाउँमा हेर्नुभन्दा पनि साइकल उठाउनतिर लागेँ । साइकलको अगाडि कोरिएछ । साथीभाइलाई नयाँ साइकल देखाउने इच्छा पूरा नभएकामा रुँदैरुँदै घरतिर लागेँ । कोरिएको ठाउँमा कालो लगाएर छोपेँ । पहिलो दिन त खासै देखिएन तर केही दिनपछि कोरिएको ठाउँ देखिन थालिहाल्यो । साथीले ‘पुरानो साइकल’ भनेर जिस्क्यायो । यति नरमाइलो लाग्यो कि दिनभर साथीसँग झगडा गरेँ । त्यही निहुँमा हानाहानै पर्‍यो, कैयौँ दिन बोलचाल भएन ।
– आयल निगमबाट सरुवा मिलाएर पढ्नका लागि काठमाडौँ आएँ । रोइकराइ गरेर निगममा अस्थायी नियुक्ति पनि पाएँ । डेरा खोजेँ, पाइनँ । घरबाट केही पैसा ल्याएको थिएँ । एउटा साथीले ‘मेरो दाइ अहिले छैन, यहीँ बस् न त’ भनेर कोठामा राख्यो । चामल, तरकारी किन्दाकिन्दै घरबाट ल्याएको पैसा सकिइहाल्यो । पैसा सकिएपछि साथी पनि भन्न थाल्यो– ‘दाइ फर्कने भयो, ऊ अलि टेढो खालको छ, अब अन्तै बस् ।’ मलाई कोठाबाट निकालिदियो । अब न कोठा छ न पैसा । बागबजारमा सँगै पढ्ने एउटा साथी बस्थ्यो । उसैकोमा गएँ सामान बोकेर । पहिलो दिन कोठाबाहिर साइकल राखेको थिएँ, बिहान उठ्दा घरबेटीले फालिदिएछ । पछि साइकल निगममै छाडेर साथीको कोठामा जान थालेँ । एक दिन मुख धुन लागेका बेला घरबेटी मलाई हेरेर कचकच गर्न थाल्यो, सेफ्टी भरिन्छ, के–के हुन्छ भन्दै नानाभाँती गाली गर्न थाल्यो । त्यो देखेर साथीले घरबेटीसँग झगडा गर्‍यो । घरबेटीले हामीलाई निकाल्यो । म अफिस गएँ, साथी कलेज गयो । साथीले कलेजबाट अरू साथी लगेर घरै तोडफोड गरिदिएछ । साथीलाई पुलिसले लगेछ । उजुरीमा मेरो नाम पनि रहेछ । डराएर उसलाई भेट्न गइनँ । यही निहुँमा त्यो साथीसँग मेरो मित्रता नै टुट्यो ।
– आयल निगम छाडेर फ्री कम्पिटिसनमार्फत राष्ट्र बैंकमा जागिरे भएँ । एउटा कोठा लिएको मान्छे, अब दुइटा कोठा लिएँ । त्यसरी बस्दा गाह्रो भयो । आमाले बाख्राकुखुरा बेचेको पैसा ल्याउनुपर्‍यो भनेर गाउँ गएँ । ‘मैले खेतीपाती गरेर तिमीहरू यत्तिकालाई पालेको छु, तँ जागिर खाने मान्छे, अझ पैसा पुगेन ?’ यसो भन्दै बुबाले पाखुरामा समातेर सडकमा ल्याउनुभो । काठमाडौं जाने गाडी रोकेर चढाइदिन लाग्नुभो । बुबाबाट फुत्केर घरमा गएँ । आमाले लुकाएर राखेको केही पैसा दिनुभयो । त्यो पैसा पनि काठमाडांै आएपछि सकिइहाल्यो । अलि स्ट्यान्डर्ड खाना खाऊँजस्तो लाग्थ्यो बेलाबखत । एक दिन अलिकति पैसा आयो कतैबाट । रत्नपार्कमा रहेको रिमझिम भोजनालयमा मीठो खाना ख्वाउँथ्यो, त्यतै लागेँ । भोजनालयको ढोकैमा पाँच सयको नोट देखेँ । यताउति हेरेर टिपेँ, भित्र पसेँ । कसैले माग्यो भने के गर्नु † फुत्तै निस्किएर रानीपोखरीतिर लागेँ, पूरै पोखरी घुमेर केहीबेर बरालिएँ । अब त कसैले थाहा नपाउला भन्दै पछि त्यही भोजनालयमा गएर खाना खाएँ । घरबाट केही पैसा लिएर काठमाडौं आएदेखि राम्ररी खाना खान पाएको थिइनँ । त्यो दिनको कुरै अर्को, पैसा पनि भयो, मीठो खाना पनि । नौ प्लेट खाइछु खाना मात्रै ।
– विवाहपछि पनि मलाई पैसाको संकट उत्तिकै पर्‍यो । लभ गरेकी केटी भएकाले बिहे त भयो तर डेढ वर्षसम्म पनि उनलाई एक जोर लुगा किन्दिन सकिनँ । सधैँ उही एउटै लुगाले काम चलाइन् । श्रीमतीलाई गाउँमा बुबाआमाका साथ छोडिदिने विचार गरेँ । सुकामोहर जम्मा गरेको खुत्रुके फोरेर गाडीभाडा जोरजाम गरियो । घरतिर हिँड्यौँ । तर, बसमा दुई जनालाई भाडा पुगेन । गाडीवालालाई उनलाई बस्न दिनुस्, मलाई उभिएर भए पनि जान दिनुस् भनेर आग्रह गरेँ । खाजा खाने ठाउँमा गाडी रोकियो । उनी ट्वाइलेटतिर लागिन् । गाडी रोकिएको ठाउँभन्दा अलि पर ढुंगा थुपारिएको रहेछ । म त्यही ढुंगामाथि बसेर रुन थालेँ, श्रीमतीलाई खाजा ख्वाउन नसकेको पिरले । उनी अब घरै गएर खाउँला नि त भनेर उल्टै मलाई फकाउन थालिन् । मलाई झन् भक्कानो फुट्यो । अहिले पनि घर जाँदा त्यो ठाउँ देख्छु । त्यही घटना याद आउँछ, आँखा रसाउँछ ।
– नायक सरोज खनालले विजय–पराजय चलचित्रमा अभिनय गर्दै थिए । उनैको सिफारिसमा म पनि खेल्न गएँ । त्यो फिल्ममा मेरो दुई–तीन सिन खिचिएको थियो । चिनेका जति सबैसँग हल्ला गरेँ चलचित्र खेलेँ भनेर, अफिस–साथीभाइ जताततै । साथीहरूले चलचित्र हेरेछन्, आएर भने– ‘खोइ तेरो रोल त छैन त ?’ विश्वास लागेन, आफैँ हेर्न गएँ । साँच्चिकै रहेनछ । सरोज खनाललाई मेरो किन नआएको भनेर सोध्न लगाएँ । थाहा भयो, चलचित्र लामो भएकाले सिन काटिएछ, मेरा जम्मै सिन काटिएछन् । साह्रै नरमाइलो लाग्यो । एक मनले त अब फिल्म कहिल्यै खेल्दिनँजस्तो लागेको थियो । तर, आज अभिनयबाटै यहाँसम्म पुगेको छु । सम्झँदा अचम्म लाग्छ– मेरा त्यस्ता दिन नि थिए †
– दाङमा एमालेको भ्रातृ संगठनको कार्यक्रम थियो । कलाकारलाई पनि बोलाएकाले किरण केसी दाइ, मनोज गजुरेललगायत म पनि गएको थिएँ । फर्कने क्रममा राति काठमाडौंतिर आउँदै थियौँ । हामी गुरुलाई जिस्क्याउँदै थियौँ, अरू सबै आ–आफ्नै तालमा निदाइरहेका थिए । नौबिसेबाट अलि वर आइपुग्दा ओभर टेक गर्ने बहानामा गुरुले अर्को गाडीसँग जुधाए । सबै आँखाअगाडि भएकाले हामीले सतर्क हुने समय पायौँ, कतै ठोक्किएनौँ । गल्ती हाम्रो गुरुको भएकाले उसलाई भगायौँ । पछि गाडीका अरू साथीलाई हेरेको त सद्दे कोही थिएन । कसैको नाक, कसैको निधार, कसैको हात त कसैको खुट्टामा चोट । किरण दाइ र मलाई चाहिँ गुरुको पारा देखेर खुब हाँसो उठ्न थाल्यो । यति हाँसेछौँ कि घाइते भएको एउटा बूढाले त नराम्रोसँग गाली नै गर्‍यो । त्यसपछि त्यो गाडी छोडेर हामी ट्रक रोकेर काठमाडौं आयौँ । त्यो दिन यति हाँसियो कि त्यसपछि अझसम्म त्यसरी हाँसेको छैन ।
प्रस्तुति : कुवेर गिरी

प्रतिक्रिया