एनसेलको गोप्य कारोबार

काठमाडौं, १२ भदौ । एनसेल कम्पनी पब्लिक भए पनि कारोबार भने गोप्य हुने गरेको छ । एनसेल र नेपाल स्याटेलाइट (हेलो नेपाल) बीचको सेयर किनबेच विवादमा आइरहेका बेला एनसेलको मुख्य लगानीकर्ता टेलियासोनेराका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत लार्स नैवर्गले यो कुरा बताएका हुन् ।

‘कम्पनी पब्लिक भए पनि आर्थिक कारोबार पब्लिक हुनुपर्छ भन्ने छैन । यो कन्फिडेन्सियल कुरा हो,’ उनले भने । पत्रकारले उनलाई सेयर किनबेच प्रक्रियामा सरकारलाई तिरिएको करबारेसमेत जिज्ञासा राखेका थिए । हालै मात्र एनसेलले हेलो नेपालको ७५ प्रतिशत सेयर खरिद गरेको थियो । तर, कति रकमको सेयर किनबेच भएको हो भन्नेबारे कम्पनीले केही बताएको छैन । त्यस्तै नियामक निकाय दूरसञ्चार प्राधिकरण पनि यसबारे बेखबर छ । हेलो नेपाललाई पनि एनसेलजस्तै ब्रान्डिङ गरिने कम्पनीको योजना छ । टेलियासोनेराले सिधै नेपाल स्याटेलाइटमा लगानी नगरेको भन्दै साइप्रसको कम्पनी एयरबेलको ७५ प्रतिशत सेयर किनेको अध्यक्ष नैवर्गले बताए । ९५ प्रतिशत नेपाली लगानीका साथ दर्ता भएको हेलो नेपालमा अहिले २५ प्रतिशत मात्र नेपाली लगानीकर्ताको सेयर छ । कम्पनीको सेयर बारम्बार किनबेच हुने गरे पनि यसले जानकारी दूरसञ्चार प्राधिकरणलाई छैन ।
नेपाल दूरसञ्चार प्राधिकरणको जानकारीअनुसार एनसेलमा रिनोल्डस् होल्डिङस्को ८० प्रतिशत र नेपाली लगानीकर्ता सिनर्जी नेपालको २० प्रतिशत लगानी रहेको छ । प्राधिकरणले एनसेलको बहुमत सेयर रहेको टेलियासोनेराले नेपाल स्याटेलाइटको बहुमत सेयर किनेको बारे एनसेलसँग जानकारी मागिरहेको छ । एनसेलले अहिलेसम्म टेलियासोनेराको ब्रान्ड प्रयोग गरिरहेको भए पनि कानुनी रूपमा टेलियासोनेराको लगानी देखिँदैन ।
पहिलोपटक नेपाल आएका टेलियासोनेरा अध्यक्ष नैवर्गले सोमबार राजधानीमा पत्रकारसँग अन्तरक्रिया गर्दै नेपालको टेलिकम क्षेत्रमा एनसेल नम्बर एक कम्पनी भएको दाबी गरे । एनसेलमा टेलियासोनेराको ७५ प्रतिशत लगानी भएको जानकारी दिँदै उनले ४५ अर्ब रुपियाँको लगानी भएको बताए । नियामक निकायले केही महिनायता कम्पनीलाई असहयोग गरिरहेको आरोप उनले लगाए ।
टेलियासोनेराले गत साता नेपालमा आफू चौथो ठूलो करदाता भएको र वैदेशिक लगानीमा पहिलो ठूलो कम्पनी भएको दाबी नेपाल अपडेटमा गरेको थियो । एनसेलमा टेलियासोनेराले अक्टोबर २००८ देखि लगानी गर्दै आएको छ । प्रत्येक वर्ष ३० करोड डलर अर्थात् करिब २७ अर्ब रुपियाँको कारोबार भइरहेको कम्पनीले जानकारी दिएको छ । कार्यक्रममा अध्यक्ष नैवर्गले नेपालको दूरसञ्चार क्षेत्र परिपक्व भएको बताए । टेलियासोनेराले एकैसाथ दुई कम्पनी र ब्रान्डमा लगानी गर्नुले यो क्षेत्र परिपक्व भएको उनको दाबी छ ।
कार्यक्रममा युरोएसियाका अध्यक्ष टेरो काभिसारीले पूर्वाधार साझेदारी गर्न कम्पनी तयार भए पनि यसका लागि स्पष्ट नीति–नियम नभएको बताए । स्वैच्छिक रूपमा पूर्वाधार साझेदार गर्न आफूहरू तयार रहेको उनको भनाइ छ ।

प्रतिक्रिया