‘भारतले चीनविरुद्ध परमाणुनिवारक बनाउनुपर्छ’


नयाँदिल्ली : भारतका एक उच्चपदस्थ पूर्वकूटनीतिज्ञले बलियो भारतले मात्रै चीनसँगको द्विपक्षीय सम्बन्ध दिगो बनाउन सक्ने बताएका छन् । सैन्य, आर्थिक र पारमाणविक निवारक निर्माणका क्षेत्रमा शक्तिशाली भएर मात्रै चीनसँगको सम्बन्धलाई दिगो बनाउनसकिने विचार ती पूर्वकूटनीतिज्ञले व्यक्त गरेका छन् । भारतका पूर्वविदेशसचिव मुचकन्द दुबेले आफ्नो नयाँ पुस्तक ‘इन्डियाज् फोरेन पोलिसी : कोपिङ विथ द चेन्जिङ वल्र्ड’ मा यस्तो धारणा व्यक्त गरेको भारतीय समाचार एजेन्सी आइएएनएसले सोमबार जनाएको छ ।
चीनले भारतप्रति नकारात्मक दृष्टिकोण नबनाओस् र भारतको चासोलाई उसले सम्मान गरोस् भन्ने आकांक्षा राख्नु नै बेकार भएको जिकिर उनले गरेका छन् । ‘चीनसँग परमाणु ‘रेस’मा सहभागी नभई पारमाणविक निवारक निर्माणमा भारत केन्द्रित हुनुपर्छ,’ पुस्तकको ‘भारत–चीन सम्बन्ध’ खण्डमा उनले भनेका छन् । भारतलाई हलुका रूपमा नलिन चीनलाई बाध्य बनाउने गरी भारतले परमाणु हतियार सञ्चय गर्नुपर्ने धारणा उनले व्यक्त गरेका छन् । ‘परम्परागत युद्धक्षमता बढाउन भारतले अझै धेरै गर्न बाँकी छ । ब्यालेस्टिक क्षेप्यास्त्र निर्माण र नौसेनाको स्तरोन्नतिका दिशामा पनि प्रशस्त काम हुनै बाँकी छ,’ उनले लेखेका छन् ।
सन् १९९१ मा भारतीय विदेश मन्त्रालयबाट अवकाश लिएका दुबेले चीनसँगको सीमा क्षेत्रमा बलियो हवाई क्षमता तैनाथ गर्नसमेत सुझाव दिएका छन् । उनले चीनभित्र मानवअधिकारको गम्भीर उल्लंघन भएको देखिए प्रतिक्रिया जाहेर गर्न भारत सरकारलाई सुझाव दिएका छन् । दक्षिण एसियामा चीनले भारतको टाउको नदुखाओस् भन्नका खातिर भारतले बंगलादेश, नेपाल, श्रीलंका र माल्दिभ्ससँगको सम्बन्धमा गुणात्मक परिवर्तन ल्याउनुपर्नेसमेत उल्लेख गरेका छन् । (एजेन्सी)

प्रतिक्रिया