बत्तीस वर्षपछि पाएको नाक

उनको नाक थिएन केही समय पहिलासम्म पनि । उनी अर्थात्, पाकिस्तानकी अल्लाह रखी । जसको नाक बत्तीस वर्षअघि उनकै पतिले काटिदिएका थिए । त्यो दर्दनाक र कहालीलाग्दो अतीत सम्झनु उनको रहर होइन, बाध्यता हो । त्यसैले त हरेकचोटि जब उनी त्यो अँध्यारो अतीतको फ्ल्यासब्याकबाट गुज्रन्छिन्, झसंंग हुन्छिन् । भर्खरै मात्र सर्जरीबाट मिलेको नाकको डल्लोमा हुत्तिँदै आएको आँसुको थोप्लोलाई पुछेपछि रखी निकै समयपछि मिलेको मुस्कानलाई ओठबाट फुत्काउँछिन् ।
ती दिन उनलाई याद छ, अझै पनि । पन्जाबको हराभरा खेतमा दुई बच्चाकी आमा रखी बेत्तोडले दौडँदै थिइन् । उनले फेरि पनि पति गुलाम अब्बासको पिटाइ खाएकी थिइन् । हरेक दिनको पिटाइबाट वाक्क भएकी रखी यसपटक पतिको कब्जाबाट भाग्न खोज्दै थिइन्, माइती गाउँ थट्टापिरतर्फ । तर, पछाडिबाट अब्बासले च्याप्प समाइहाले ।
पक्रनासाथ अब्बास ‘मेरो कुरा सुन्’ गन्दै जंगिन थाले । क्रूर पतिको चंगुलबाट मुक्ति खोजिरहेकी रखी आज जुझारु मुडमै थिइन् । निडरसाथ उत्तर दिँदै थिइन्– ‘मैले यतिन्जेलसम्म धेरै सहेँ, अब म आफ्नो बा–आमासँग जाँदै छु ।’ रिसको पारो एकाएक तातिहाल्यो । गहभरि आँसु पार्दै रखी भन्छिन्, ‘त्यसपछि ऊ मेरो छातीमा बस्यो । गोजीबाट ब्लेड निकालेर मेरो नाक काटिदियो, म फेरि भाग्न नसकूँ भनेर कुर्कुच्चा पनि काटिदियो ।’
रगतले लतपतिएकी रखीलाई घरसम्म लगियो । अब्बास पुलिसलाई थाहा नहोस् भन्ने चाहन्थे तर पुलिसले थाहा पाइहाल्यो, उनी गिरफ्तार भए । रखीको मन कोमल थियो । नाकै काटिदिनेसम्मको क्रूर व्यवहार गरेका भए पनि पतिलाई ६ महिनामै जेलबाट छुटाइन् । अनुगृहीत हुनुको सट्टा अब्बास झन् बौलाउन थाले । रखीको जिन्दगी नरकजस्तै बनाए । एउटा कोठामा बन्द थियो, रखीको जिन्दगी । ऐना सबैभन्दा ठूलो शत्रु मान्थिन् उनी । बारम्बार नाक काटिएको कुरूप शरीर देखाइदिन्थ्यो । जहाँ उनी आफूलाई जिउँदो लासझैँ अनुभूत गर्थिन्, नाक नभएर गला काटिएझैँ पीडा थियो उनलाई । बालबच्चालाई पीडा सुनाउँथिन्– न मर्न सकियो न त खुलेर जिउन ।
३२ वर्षसम्म आफ्नो अनुहार बुर्का र अन्य कपडामा लुकाएर राखिन् । ‘मेरो अनुहार म आफैँलाई हेर्न पनि मन थिएन, अरूलाई देखाउन पनि,’ उनी भन्छिन् । बिहेलगायत कुनै पनि सार्वजनिक समारोहमा उनी सरिक भइनन् । ‘सानो बच्चा मलाई देख्दा डराएर आत्तिन्थ्यो, आफैँलाई धिक्कार्न मन लाग्थ्यो लाग्थ्यो– म सास फेरिरहेको लास हुँ,’ टाउकोमा रहेको स्कार्फ समाल्दै रखीले भनिन् ।
अब भने उनलाई आफ्नो टाउकोमा केबल स्कार्फ भए पुग्छ, अनुहार छोप्नु आवश्यकै छैन । सर्जरीमार्फत नाक प्रत्यारोपण भएको छ ।
अब त रखी हजुरआमा बनिसकिन् । नातिनातिनाका अगाडि दिल खोलेर मुस्कुराउन सक्छिन्, मुहार देखाउन सक्छिन् । तर, पनि अनुहारमा एउटा लामो खत छ, जुन उनको काटिएको नाकभन्दा माथि उठेर निधारसम्म पुगेको छ । पाकिस्तानका डाक्टर प्रोफेसर हामिद हसनले केही महिना पहिले उनको नाकको शल्यक्रिया गरे । शारीरिक एवं मानसिक चोट कम भए पनि उनका सम्पूर्ण पीडा सकिइसकेका भने छैनन् । उनी फेरि पनि गुलाम अब्बास अर्थात् तिनै क्रूर पतिका साथ छिन् ।
रखीको अपराध के भनेर उनका अब्बास अहिले पनि भन्न सक्दैनन् । रखी भन्छिन्, ‘मैले कहिले पनि उनका लागि सजाय मागेको छैन, यो जिम्मा मैले अल्लाहलाई छोडिदिएकी छु ।’ अहिलेसम्म नमिलेको ‘आनन्द’लाई उनी अब आफ्नो बुढेसकालमा भोग्न चाहन्छिन् । भन्छिन्, ‘यो स्थानमा रहँदा मलाई ठूलो दु:ख महसुस हुन्छ, हरेक पल मरिरहन्छु तर छोरा र नातिलाई देखेपछि सबै भुल्छु ।’
पकिस्तानका धेरै ठाउँमा अहिले पनि कतिपय पुरुषहरू महिलाका लागि नियम–कानुन बनाउँछन् । कथित कानुन तोड्ने महिलाले कडा सजाय पाउँछन् । ‘इज्जत’ को त्यहाँ फरक परिभाषा छ । ‘इज्जत’ कै नाममा गत साल मात्र नौ सयजना महिलाको हत्या भएको बिबिसीले उल्लेख गरेको छ । इज्जतको ‘लक्ष्मणरेखा’ तोडेको भन्दै महिलाको नाक–कान काटिनु सामान्यझैँ छ त्यहाँ । बत्तीस वर्षपछि नाकसँगै रखीको ओठमा हाँसो त फर्किएको छ तर पति अब्बास अहिले पनि उनलाई मानसिक यातना दिइरहेका छन् । अब्बासको शरीर बूढो भए पनि तन्नेरी उमेरकै जस्तो क्रूरशैली उस्तै छ । यसमा पछुतो मान्नुपर्छजस्तो उनलाई पटक्कै लाग्दैन । मानौँ, पुरुष भएपछि अत्याचार गर्न पाउनु त उनको धर्तीसिद्ध अधिकार नै हो ।
सरोज ढुंगाना (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया