फेसबुकबाट “सेक्स टुरिजम” गर्ने नेपालमा पक्राउ

काठमाडौं, १२ भदौ । सामाजिक सञ्जाल फेसबुकको सिरानमा लेखिएको छ, ‘बुंगा–बुंगा’ । त्यसको तल अपलोड गर्ने व्यक्तिको ‘स्टाटस’मा ‘फ्रेन्ड इभेन्ट’ भनिएको उल्लेख छ । ठीक तल्लो बक्समा लेखिएको छ, ‘विश्वको गोप्य स्थानमा सहभागीका लागि खुला हुनेछ, सबै सहभागी हुन चाहनेहरूका लागि, आउनुहोस्, गोप्य स्थानमा, त्यसका लागि प्रतिव्यक्ति शुल्क दुई हजार युरो, नसक्नेहरूका लागि सात सय युरो, आउनुहोस् सहभागी बनौँ ।’

२७ अगस्ट २०१२ सोमबार अपलोड गरिएको माथिको ‘स्टाटस’ संसारभर फैलियो । ‘स्टाटस’ मा केहीले ‘लाइक’ गरे, केहीले ‘कमेन्ट’ । ‘लाइक’ र ‘कमेन्ट’ गरिएको ‘एड्रेस’ लाई प्रयोग गर्दै ‘स्टाटस’ ‘अपलोड’ गर्नेले फरक–फरक इमेल आइडीबाट मेल लेखे । मेलमा भनिएको थियो, ‘संसारको अति गोप्य स्थानमा बुंगा–बुंगा नामको पार्टी आयोजना गरिनेछ, पार्टीमा १० देखि १७ वर्षका किशोरी सहभागी हुनेछन्, उनीहरूबाट भरपुर मनोरञ्जन लिन सकिनेछ ।’ साथमा छुट्टाछुट्टै मेनुका लागि भन्दै दुई हजार र सात सय युरो माग गरिएको थियो ।
न्युजिल्यान्डका एक फेसबुक प्रयोगकर्ताले अपलोड गरिएको ‘स्टाटस’ अध्ययन गरे र लाइक पनि । पछि त्यही स्टाटसलाई उद्धृत गर्दै उनलाई मेल आयो । उनले न्युजिल्यान्ड प्रहरीमा उजुरी दिए । अनि खोजी भयो, ‘स्टाटस’ अपलोड गर्ने व्यक्तिको । खोज्दै जाँदा एसियाबाट ‘स्टास’ अपलोड गरिएको भेटियो । लगत्तै न्युजिल्यान्ड प्रहरीले फेसबुकको एसिया हेर्ने सिंगापुरस्थित कम्पनीमा खबर गर्‍यो । सिंगापुरमा पनि खोजी भयो । अन्तत: लोकेसन नेपालको भूमि देखियो । खबर ‘इन्टरपोल’ हुँदै नेपाल प्रहरीमा गरियो । खोजी गर्ने जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)लाई लगाइयो । अनि सुरु गर्‍यो, ‘स्टाटस’ अपलोड गर्नेको खोजी । सबै प्रविधि अपनायो, सिआइबीले । त्यसका लागि ‘इन्टरपोल’सँग सहयोग लिइयो । न्युजिल्यान्ड प्रहरीसँग पनि सहयोग लिइयो । उजुरी परेको लगभग दुई महिनापछि उक्त ‘स्टाटस’ अपलोड गर्ने व्यक्ति पक्राउ परे ।
पक्राउ पर्ने अभियुक्त हुन्, मोरङ हनुमान मन्दिर टोल–६ विराटनगरका ४० वर्षीय किर्तन पोखरेल । पोखरेललाई प्रहरीले कुमारीगालबाट ८ भदौमा पक्राउ गरेको थियो । उनी अहिले कुमारीगालस्थित नयाँबस्तीमा बस्दै आएका थिए । पोखरेलले ‘सेक्स टुरिजम इभेन्ट’ गर्ने उद्देश्यले यस्तो क्रियाकलाप गरेको प्रहरीलाई बयान दिएका छन् । यही प्रयोजनका लागि उनले २० भन्दा धेरै मेल एड्रेस खोलेका थिए । फेसबुक स्टाटसमा लाइक तथा कमेन्ट गर्नेलाई उनले त्यही एड्रेस प्रयोग गरी मेल पठाउने गर्थे । सिआइबीका डिएसपी नरेशबहादुर मल्लका अनुसार पोखरेलले मेलबाट किशोरीहरूको नांगो तस्बिरसमेत आदान–प्रदान गर्ने गर्थे । उनले यसो गर्नुको कारणबारे डिएसपी मल्लले पोखरेललाई उद्धृत गर्दै भने, ‘पैसा कमाउने उद्देश्यले यो क्रियाकलाप गरेको हो तर पैसा लिइसकेको स्थिति भने होइन ।’ पोखरेललाई महानगरीय प्रहरी परिसर काठमाडांैमा राखिएको छ । उनलाई विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही गरिने डिएसपी मल्लले जानकारी दिए ।

 

प्रतिक्रिया