प्रहरीमा एक हजार ३५ दरबन्दी थप

काठमाडौं, १२ भदौ । सरकारले नेपाल प्रहरीमा एक हजार ३५ सय दरबन्दी थप गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले सोमबार गरेको यो निर्णयपछि नेपाल प्रहरीमा प्रहरीको संख्या ६१ हजारभन्दा माथि पुगेको छ ।
मानव स्रोतका एआइजी नवराज ढकालले थप दरबन्दी महिला तथा बालबालिका सेवा केन्द्रका लागि रहेको बताए । उनका अनुसार थप गरिएको दरबन्दीमा एसपीदेखि प्रहरी जवान र परिचरसम्म छन् । एआइजी ढकालले भने, ‘दरबन्दीमा एसपी ६ जना छन्, त्यहीअनुसार डिएसपी, इन्स्पेक्टर, सई, असई, प्रहरी जवान र परिचर रहेका छन् ।’
सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीमा नयाँ दरबन्दी थप्ने निर्णय गरेको हो । जनसंख्याको अनुपातमा प्रहरीको संख्या कम भएको भन्दै प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमार्फत १० हजार ४१ दरबन्दी थप गर्न सरकारलाई प्रस्ताव पठाएको थियो । प्रस्तावअनुसार यसअघि नै सरकारले चार हजार दरबन्दी थप गरेको थियो । सरकारले सोमबार गरेको निर्णयपछि नेपाल प्रहरीमा प्रहरीको कुल संख्या ६१ हजारभन्दा धेरै पुगेको छ । प्रधान कार्यालयको प्रस्ताव सबै पास भए प्रहरीको संख्या ६६ हजारभन्दा बढी हुनेछ ।

प्रतिक्रिया