दरबन्दीअनुसार कर्मचारी छैनन्

सुर्खेत, १२ भदौ । मध्यपश्चिम क्षेत्रका महत्त्वपूर्ण निकायमा लामो समयदेखि आवश्यक जनशक्तिको अभावमा कार्यसम्पादन हुँदै आएको छ । स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा समेत आवश्यक जनशक्ति छैन ।

क्षेत्रीय शिक्षा निर्देशनालय सुर्खेतका अनुसार मध्यपश्चिममा एक हजार सात सय ४७ शिक्षक अपुग छन् । मध्यपश्चिमका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको संख्या ११ लाख ५२ हजार आठ सय २७ रहेकोमा २८ हजार ७७ जना शिक्षक मात्रै कार्यरत रहेको निर्देशनालयले जनाएको छ । सरकारले एक शिक्षकबराबर तराईका जिल्लामा ५०, पहाडी जिल्लामा ४५ र हिमाली जिल्लामा ४० विद्यार्थीको व्यवस्था गरेको छ । तर, सरकारी मापदण्डलाई आधार मान्ने हो भने मध्यपश्चिममा एक हजार सात सय ४७ शिक्षक अपुग छ ।
तथ्यांक शाखाका नारायण पौडेलका अनुसार मध्यपश्चिम प्राथमिक तहमा १६ हजार, निम्नमाध्यमिक तहमा ६ हजार तीन सय र माध्यमिक तहमा दुई हजार ६ सय शिक्षक कार्यरत छन् । क्षेत्रीय शिक्षा निर्देशक निरा शाक्यले आवश्यकताअनुसारको जनशक्ति निर्माणका लागि पहल भइरहेको बताइन् ।
यस्तै संवेदनशील क्षेत्रको रूपमा रहेको स्वास्थ्य क्षेत्रमा समेत आवश्यक जनशक्ति अभाव रहेको छ । मध्यपश्चिममा ९१ चिकित्सकको दरबन्दी रिक्त रहेको छ । मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतमा मात्रै २४ जना चिकित्सकको दरबन्दी रहेकोमा ६ जना मात्रै कार्यरत रहेका छन् भने १८ जनाको दरबन्दी रिक्त रहेको छ । अस्पतालमा २७ कर्मचारीको समेत दरबन्दी रिक्त छ । अस्पतालमा ८० जना कर्मचारीको दरबन्दी रहे पनि ५८ मात्रै कार्यरत छन् । १८ चिकित्सकसहित अहेव, अनमीलगायत २७ पदमा दरबन्दी रिक्त रहेका छन् । अस्पतालमा ६ चिकित्सक मात्रै कार्यरत छन् ।
त्यस्तै मध्यपश्चिमवासीको सुरक्षाको जिम्मेवारी बोकेको प्रहरीमा समेत आवश्यक जनशक्तिको अभाव छ । ३५ लाख ८४ हजार तीन सय ८६ जनसंख्या रहेको मध्यपश्चिममा आठ हजार ६ सय ५८ प्रहरी मात्रै कार्यरत छन् । एक प्रहरीको भागमा चार सयभन्दा बढी नागरिकको सुरक्षाको जिम्मा परेको छ । पछिल्ला वर्षमा आपराधिक क्रियाकलापमा वृद्धि भएको भए पनि आवश्यक जनशक्तिको समेत अभाव छ ।

प्रतिक्रिया