राजनीतिको नयाँ चक्रको सुरुवातः दाहाल

बुटवल, ११ भदौ । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले दलहरुबीच अब राजनीतिको नयाँ चक्र सुरु गर्ने सहमति भएको बताएका छन् ।
सहमति जुटाउने जिम्मा पाएपछि आफूले कांग्रेस, एमालेका नेताहरुसँग गम्भीर छलफल सुरु गरेको उल्लेख गर्दै उनले परामर्शले अब केही दिनमै सहमति जुटने विश्वास व्यक्त गरे ।
बुटवलमा आज आयोजित पत्रकार सम्मेलनमा दाहालले दलहरुबीच नयाँ निर्वाचन वा संविधानसभा पुनःस्थापना मध्ये एक विषयमा सहमति जुट्ने दावी गरे ।
दलहरुबीच आइतबार भएको वार्तासंगै सहमतिका लागि सकारात्मक छलफलको सुरुवात भएको उनको भनाई छ । उनले भने, ‘गतिरोधमा सहमति जुट्छ अन्यथा प्रक्रियामा भए पनि सहमति जुटाउँछु ।’
प्रधानमन्त्रीको राजीनामाले समस्या समाधान नगर्ने बताउँदै उनले कांग्रेस, एमालेले पनि अब राजीनामाको मात्रै सर्त नलिने उनको भनाई थियो । उनले भने, ‘सहमतिका लागि प्रधानमन्त्री बाधक हुनुहुन्न ।’
यसैबीच पार्टीका केही कार्यकर्ताहरुले आफूहरुलाई पार्टीले उपेक्षा गरेको गुनासो गरेका छन् । उनीहरुले पार्टीको हालै विस्तारित केन्द्रीय समिति र महाधिवेशन आयोजक समितिमा नपरेको भन्दै कार्यकर्ताले त्यस्तो गुनासो गरेको एक सहभागीले बताए ।
‘पार्टी भित्र पनि विभेद गरियो योगदानको मूल्यांकन भएन,’ एक महिला नेतृले भनिन, ‘कसरी मनोनित गरिएको हो पार्टीका जिम्मेवार नेताहरुले स्पष्ट पार्न जरुरी छ ।’
केही महिला कार्यकर्ताहरुले प्रशिक्षण हलबाट बाहिर निस्केर केन्द्रीय समितिमा मनोनित कसरी गरियो भन्दै चर्काचर्की गरेका थिए ।

प्रतिक्रिया