गतिरोध अन्त्य हुनेमा आशा पलाएको छ

काठमाडौं, १० भदौ । कांग्रेस सभापति सुशील कोइरालाले पछिल्लो समय देखिएको राजनीतिक गतिरोध अन्त्य हुनेमा केही आशा पलाएको बताएका छन् ।
सहमतिको प्रयास स्वरुप प्रमुख तीन दलका शीर्ष नेताहरुका वीच परामर्श हुनुले पनि निकास आउनेमा आफू आशावादी भएको उनले बताए । उनले भने, ‘नयाँ संविधान बनाउन र राष्ट्रिय सहमतिको सरकारका लागि परामर्शहरु भईरहेका छन् ।’
सहमतिका लागि दबाव दिन भन्दै महाराजगञ्जस्थित निवासमा आफूलाई भेटगर्न आएका विभिन्न दल आबद्ध युवा नेताहरुसँगको भेटमा कोइरालाले सहमतिको विकल्प नरहेको बताएको उनका प्रेस सल्लाहाकार विपुल पोखरेलले जानकारी दिए ।
कोइरालाले दलहरुका वीच लामो समय पछि आइतबार प्रमुख दलका शीर्ष नेताहरुमा छलफल भएको भन्दै त्यसले केही हद सम्म निकासका लागि सहयोग मिल्ने बताए । राष्ट्रिय सहमतिको सरकार बनाएर संविधान र शान्ति प्रक्रियाका बाँकी काम सक्नु पर्ने उल्लेख गरे ।
सभापति कोइरालासँगको भेटका लागि एमाओवादीका खिमलाल देवकोटा, कांग्रेसका गगन थापा, एमालेका योगेश भट्टराई लगायतका नेताहरु पुगेका थिए ।

प्रतिक्रिया