गठबन्धनले ध्रुविकरण बनाएको छः भण्डारी

राजविराज, ११ भदौ । एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीले एमाओवादीले कित्ताकाट गरी अधिनायकवाद लाद्न ‘संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन’ निर्माण गरेर ध्रुवीकरण गरेको बताएकी छन् ।
राजविराजमा आज आयोजित पत्रकार सम्मेलनमा उनले मुलुकलाई गठबन्धन निर्माण गरेर एमाओवादीले मुलुकलाई जातीयताका नाममा चिरापार्न खोजेको बताईन ।
‘एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र कामचलाउ सरकार सत्ता कब्जाको रणनीतिमा रहेका छन्,’ उनले भनिन्, ‘सर्वदलीय सरकार गठन गरेर संसद र स्थानीय निकायको निर्वाचन गर्नु पर्छ ।’
मुलुकले धेरै संघीय राज्य थेग्न नसक्ने उनको भनाई छ । झापादेखि कञ्चनपुरसम्मको ‘एक मधेश प्रदेश’ लामो पटुका जस्तो हुने भन्दै भण्डारीले मधेशमा तीन र पहाडमा पनि सोही आधारमा संघीय राज्य बनाउनु पर्ने बताईन ।
यसैवीच, उनले एमालेका तत्कालिन महासचिव स्वर्गीय मदन भण्डारीको १९ वर्ष अघि भएको हत्या रहस्यमय रहेको बताएकी छन् ।
भण्डारीकी पत्नी समेत रहेकी उनले हत्या पश्चात पटक/पटक एमालेले सरकारको नेतृत्व गरेपनि घटनाको वास्तविकता बाहिर ल्याउन नसकेको गुनासो गरिन ।
९ महिना रहेको एमाले नेतृत्वको सरकारले घटनाको छानविन गर्न थाले पछि विपक्षहरु डराएर सरकार ढालेको उनले आरोप लगाईन । हत्याका बारेमा सत्यतथ्य सार्वजनिक गर्न राज्यले सहयोग गर्नुपर्ने उनले माग गरेकी छन् ।

प्रतिक्रिया