अलैंचीको मूल्य घट्यो

ताप्लेजुङ, ११ भदौ । ४८ हजार रुपियाँ प्रतिमनका दरले कारोबार भइरहेको अलैँचीको मूल्य एकै सातामा सात हजारले कमी आएको छ ।

बिहीबार ताप्लेजुङमा अलैंची प्रतिमन ४१ हजारमा कारोबार भएको छ भने झापाको विर्तामोडमा प्रतिमन ४३ हजारमा कारोबार भएको छ । अघिल्लो साता ४९ हजार प्रतिमनसम्म पुगेको अलैँची मूल्यमा भारी गिरावट आएपछि अलैँची किसान चिन्तित बनेका हुन् । पूर्वी पहाडी जिल्लामा कालो सुनका नामले परिचित अलैँचीको नयाँ उत्पादन सुरु भएको र अन्तर्राष्ट्रिय बजारमा माग कम भएकाले मूल्य घटेको अलैँची व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष खड्गबहादुर मोक्तानले बताए ।
केही महिनाअघि मूल्यमा गिरावट भई प्रतिमन ३४ हजारमा कारोबार भएको अलैँची फेरि त्यही आसपासमा पुग्नलागेपछि किसान थप चिन्तित बनेका हुन् । यहाँका व्यापारी र किसानले अलैँचीको मूल्य निर्धारण गर्न नमिल्ने तथा अन्तर्राष्ट्रिय बजारकै भरमा मूल्य निर्धारण हुने भएकाले सधैँ उतार–चडाब हुने गरेको अध्यक्ष मोक्तान बताउँछन् ।
भारतमा सानो अलैँची तथा सुकुमेलको कारोबार बढी हुने भएपछि अलैँचीको मूल्यमा गिरावट आएको अलैँची व्यवसायी संघ झापाका सदस्य इन्द्र बिन्दलले बताए । गतवर्ष माघमा प्रतिमन ५९ हजारका दरले कारोबार भएको अलँैचीको मूल्य दिन प्रतिदिन ओरालो लाग्ने क्रममा छ । नेपालको सबैभन्दा बढी अलैँची उत्पादन हुने जिल्ला ताप्लेजुङ भएको र करिब चार अर्ब रुपियाँ बराबरको अलैँची उत्पादन हुनेगरेको ताप्लेजुङ उद्योग वाणिज्य संघले जनाएको छ ।

प्रतिक्रिया